१४ कात्तिक, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते साँझ काठमाडौंको नख्खु कारागारबाट कैदीबन्दी भागेपछि देशभरका कारागार अशान्त बने । आन्दोलनकै क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाहिर निकालियो, भने अन्य एक हजार २८० जना नख्खुबाट फरार भए ।
२८ वटा कारागार र ९ वटा बाल सुधारगृह गरी कुल ३७ वटा केन्द्रहरूबाट कैदीबन्दीहरू फरार भएका थिए । काठमाडौंको कैदीबन्दी भागेको खबर देशका अन्य जिल्लामा पनि फैलिँदै जाँदा कास्की कारागार पनि अशान्त हुन पुग्यो । कास्की कारागारबाट पनि ७५३ जना कैदीबन्दी भागे ।
गम्भीर आपराधिक गतिविधि गरेर कारागारमा कैद सजाय भागिरहेका कैदीबन्दीहरू जेनजी आन्दोलनका क्रममा भागेपछि देशभर नै ठूलो सुरक्षा चुनौति थपियो । कास्कीबाट भागेका ११ जना विदेशीसहित मध्ये ११० जना अझै फरार छन् । जसमा गम्भीर खालका अपराध गरेर कैद सजाय पाइरहेकाहरू पनि छन् ।
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरू अहिले पनि सुरक्षा चुनौती बनिरहेका छन् । उनीहरू सबै नसमातिँदा प्रहरीको टाउको दुखाइसमेत बनिरहेको छ । कारागारबाट फरार कैदीबन्दीको पक्राउ गर्नका लागि प्रहरीले सक्रियता पनि देखाइरहेको छ, तर पूरा सफल हुन सकिरहेको छैन ।
यस्तोमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामकृष्ण अधिकारीलाई एउटा सूचना आइपुग्छ– ‘बलात्कारको मुद्दामा दोषी ठहर भएका व्यक्ति उपल्लो मुस्ताङको छोसेर भन्ने ठाउँको एउटा होटलमा काम गरिरहेका छन् ।’
उनले तत्काल टोली उपल्लो मुस्ताङ खटाउँछन् । बाराबुङ मुक्तिक्षेत्र गाउँपालिका– १ को चैले भन्ने ठाउँमा ती व्यक्तिले काम गरिरहेको पत्ता लगाउँछ । त्यसपछि ४८ वर्षीय नारायण घिमिरेलाई पक्राउ गरी शुक्रबार पोखरा ल्याइएको छ ।
लमजुङमा नाबालिकामाथि बलात्कार गरेको अभियोगमा २०७९ जेठ १९ मा थुनामा परेका थिए । २०८० असार ४ गते लमजुङ जिल्ला अदालतले ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो ।
२०८२ साउनमा अविरल वर्षाका कारण लमजुङ कारागार भत्कियो । र, त्यहाँका कैदीबन्दीलाई तनहुँ र कास्कीमा स्थानान्तरण गरियो । त्यसमध्ये ७८ जनालाई पोखरा ल्याइएको थियो । तीनैमध्येका एक थिए, नारायण घिमिरे ।
जेनजी आन्दोलनका क्रममा भागेका घिमिरे प्रहरीबाट बच्नका लागि भारतदेखि उपल्लो मुस्ताङसम्म पुगेको पाइएको छ । भारतका मुम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गर्नुका साथै हिमाली जिल्ला मुस्ताङको विकट गाउँमा पुगेर लुकिसकेपछि आफू पूर्ण रूपमा सुरक्षित भएको घिमिरेले ठानेका थिए । तर, नेपाल प्रहरीको प्रदेश टोलीले १४ महिनापछि घिमिरेलाई पक्राउ गरी पुन: कास्की कारागारमा बुझाएको छ ।
प्रहरीका अनुसार उनी २०७२/७३ सालतिर लमजुङको मर्सयाङ्दी गाउँपालिका–७, मनाङचौतारामा होटेल सञ्चालन गर्थे । सोही क्रममा उनले आफ्नै होटलमा काम गर्ने १६ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अदालतमा पुष्टि गरिसकेको छ ।
भागेपछि भारतदेखि उपल्लो मुस्ताङसम्म
कारागारबाट भागिसकेपछि घिमिरेले सुरु गरेको भागमभागको शृंखला कुनै चलचित्रको पटकथाभन्दा कम थिएन । आन्दोलनको भिडभाडबीच कारागारबाट उम्किएका उनी सोही दिन पोखराको लेकसाइडस्थित एक होटलमा पुगेर लुकेर बसेका थिए ।
भदौ २५ गते एकाबिहानै होटलबाट निस्किएर उनी पृथ्वीचोक पुगे । र, त्यहाँबाट स्याङ्जाको वालिङ हुँदै रूपन्देहीको लुम्बिनी हस्पिटल चोक पुगे । त्यहाँ पुगेर अर्को गाडी फेर्दै बेलहिया नाकाको प्रयोग गरी उनी भारत छिरे । भारत पुगेपछि उनी सोझै मुम्बईको सुवासनगरस्थित ‘ग्रिन चिली रेस्टुरेन्ट’ पुगे, जहाँ उनले करिब १२–१३ वर्षअघि काम गरेका थिए ।
पुराना साहुलाई भेटेर उनले त्यहाँ २७ दिनसम्म काम गरे र काम गरेबापतको ज्याला लिएर प्रसिद्ध सोमनाथ मन्दिरको दर्शन गर्न गए । सोमनाथको दर्शनपश्चात् उनी दिल्ली पुगे र त्यहाँको ‘येलो बल रेस्टुरेन्ट’ मा पहिचान लुकाएर काम गरे ।
दिल्लीको सोही रेष्टुरेन्टमा काम गर्ने क्रममा उनको भेट स्याङ्जा घर बताउने बिमल नेपाली नामका व्यक्तिसँग भयो । बिमललाई उनका आफन्तले मुस्ताङमा काम गर्न आउन भनी फोनमा सम्पर्क गरेका थिए । तर बिमल आफैँ मुस्ताङ जान नचाहेपछि घिमिरेले त्यसैलाई आफ्नो सुरक्षित आश्रयस्थल बनाउने चलाखीपूर्ण निर्णय गरे ।
२०८२ सालको पुस महिनातिर उनी ‘नेपाल–भारत मैत्री बस’ चढेर बुटवल ओर्लिए र त्यहाँबाट स्याङ्जाको बाटो हुँदै माइक्रोमा पोखरा आए । पोखराको जिरो किलोमिटरबाट अर्को गाडी समातेर उनी सिधै मुस्ताङतर्फ लागेका थिए ।
प्रहरी र प्रशासनको नजरबाट बच्नका लागि उनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, चैलेस्थित प्रमिसा होटलमा पहिचान लुकाएर ९ महिनासम्म लगातार काम गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि २०८३ साल असोज १९ गते उक्त होटल छाडी उनी सोही स्थानमा रहेको ‘लिवन रेस्टुरेन्ट’ मा काम गर्न थालेका थिए ।
‘मुस्ताङको चिसो भूगोलमा काम गरिरहेका घिमिरेलाई नेपाल प्रहरीको प्रदेश कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले भने लगातार पछ्याइरहेको थियो । गोप्य सूचना र सूक्ष्म अनुसन्धानका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन सफल भयो,’ एसएसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘पक्राउ परेका नारायण घिमिरेलाई शनिबार आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुन: कारागार कार्यालय कास्कीमा बुझाइएको छ ।’
प्रतिक्रिया 4