Comments Add Comment

रन्जन विष्ट भन्छन् – खेलाडीहरु नाइट क्लब जानु गलत, तर भाइ रक्सी खाँदैन

अन्जन विस्ट

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ४ प्रमुख खेलाडीहरुले एन्फाको प्रतिबन्धमा परेर कुवेतविरुद्धको म्याच गुमाए । उनीहरुमाथि थप छानबिन र कारवाहीको मुडमा एन्फा छ ।

स्ट्राइकर बिमल घर्तिमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा मिडफिल्डर दिनेश राजवंशी भुटान जाने अघिल्लो रातमा नाइट क्लब गएर रक्सी खाएको भन्दै एन्फाले टिमबाट निकालेको थियो । कारबाहीमा परेका चारैजना मिडियाको पहुँचबाट टाढा बसेका छन् । एन्फाले भने उनीहरुले आफ्नो गल्ति स्वीकारेको बताएको छ ।

कारबाहीमा परेकामध्ये एक अन्जन विष्टका दाजु रञ्जन विष्ट, जो स्वम् पूर्व राष्ट्रिय फुटबलर हुन्, उनले यस प्रकरणमा अनलाइनखबरसँग केही कुरा सेयर गरेका छन् । अप्रत्याशित कारबाहीबाट भाइ अत्यन्त तनावमा रहेको उनले बताए ।

रञ्जनको भनाइ अनुसार चार जना खेलाडीहरु एक साथीको जन्मदिन मनाउन नाइट क्लव पुगेका थिए । साथै उनले आफ्नो भाइ अन्जनले कहिल्यै ड्रिंक्स नगर्ने भन्दै उनीहरुले रक्सी खाए-नखाएको प्राविधिक परीक्षण नगरिएकोमा गुनासो गरेका छन् ।

रञ्जनका अनुसार शुक्रबार बेलुकी ४ बजेतिर अञ्जन क्लोज क्याम्पबाट लगेज मिलाउन भनेर घर आएका थिए । राति १० बजेतिर साथीहरुको फोन आएपछि उनी क्लब गएका हुन् ।

यो पनि पढ्नुहोस किन नाइट क्लब जानु हुन्न खेलाडी ?

‘राति साथीहरुले फोन गरेर बोलाएपछि मैले नजा भनेको थिएँ । किन कि भोलिपल्टै भुटान जानुपर्ने भएकाले राति आराम गर्नु आवश्यक थियो । तर, बिमल (घर्तिमगर)ले मलाई नै फोन गर्‍यो । जन्मदिन पार्टी एटेन्ड गरेर एकै छिनमा फर्किने भनेर कर गरेपछि जान दिएको हुँ । फेरि मेरो भाइले कहिले ड्रिङ्स नगर्ने भएकाले पनि खास चिन्ता थएन,’ रञ्जनले भने ।

भाइ राति कतिबेला घर आएर सुत्यो भन्ने आफूले थाहा नपाएको उनले बताए ।

‘बिहान उठ्दा उ घरमै थियो । म उसलाई कुवेतविरुद्ध म्याचको लागि विस गर्दै शुभकामना दिएर म निस्किएँ । कारबाहीको कुरा पछि मात्रै थाहा भयो,’ रञ्जनले भने ।

नाइटक्लवमा अञ्जनले रक्सी नपिएको उनको दावी छ ।

उनी भन्छन्, ‘अरु साथीहरुले के गरे हामीलाई थाहा भएन । तर, अञ्जनले रक्सी पिएको थिएन । त्यो म भन्न सक्छु । समाचारमा उनीहरुको मुखमा रक्सी गन्हाएको भनेर प्रशिक्षकले भनेको कुरा आएको छ । तर त्यस्तो सिरियस कुरामा किन प्राविधिक जाँच गरिएन त ? रगत परीक्षण गरेको भए कसले खाएको कसले नखाएको थाहा भइहाल्थ्यो ।’

रञ्जनका अनुसार भुटान जाने अघिल्लो दिन नाइट क्लव जानु गल्ति भएको अञ्जनले महसुस गरेका छन् । तर, भर्खरको युवा भएकाले सच्चिने मौका दिनुपर्ने उनको भनाइ छ ।

रञ्जन भन्छन्, ‘मैले धेरै संघर्ष गरेर फुटबल खेलेको हुँ । मैले पहिल्यै बाटो बनाइदिएको हुनाले उसले त्यस्तो दुःख गर्नु परेन । सानै उमेरमा नाम र पैसा कमायो । तर अल्लारे बुद्धि गएको छैन । यो उमेरका खेलाडीलाई कठोर कारबाहीले भन्दा पनि राम्रो काउन्सीलिङ गरेर गलत बाटोमा हिँड्नबाट रोक्न सकिन्छ जस्तो लाग्छ ।’

कारबाहीपछि अञ्जनले राम्ररी खान र सुत्न पनि नसकेको रञ्जनले बताए ।

‘टिमबाट हटाइएपछि घर आएर धेरै रोयो । त्यसपछि हामीले हेटौंडामा लग्यौं । तर राति निदाउन नसकेर राति १२ बजे चप्पल लगाएर बाइकमा काठमाडौं आएछ । भोलिपल्ट मात्रै थाहा भयो,’ रञ्जनले सुनाए ।

गल्ति स्वीकार गरिसकेका चार खेलाडीहरुमाथि एन्फा थप कठोर नहुने अपेक्षा रञ्जनको छ ।

‘गल्ति त गरेका नै हुन्, तर सुध्रिने मौका दिनुपर्छ जस्तो लाग्छ । थप कारबाही भयो भने उनीहरुको करिअर बर्बाद हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment