+

नेपाली मूलका आरव भण्डारी अस्ट्रेलियाको मेलबर्न भिक्ट्री एकेडेमीमा अनुबन्ध

२०८३ कात्तिक  ६ गते २०:२८ २०८३ कात्तिक ६ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानबेराका १२ वर्षीय आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्।
  • भण्डारी यस वर्ष पढाइ पूरा गरेपछि परिवारसँग भिक्टोरिया सरेर मेलबर्न भिक्ट्रीको यू–१३ टोली र नेसनल प्रिमियर लिगमा खेल्नेछन्।
  • आरव लुस्टिका फुटबल एकेडेमीबाट ए–लिग क्लबमा अनुबन्ध हुने पहिलो क्यानबेराका खेलाडी बनेका छन्।

६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो।

अनलाइनखबरसँगको कुराकानीमा आरभका बुवा सन्तोष भण्डारीले फुटबलमा देखाएको प्रतिभाका कारण आरभलाई क्लबले छनोट गरेको बताउँछन्। सन्तोषका अनुसार उनी लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीमा रहेर अभ्यास गर्दै आएका थिए। त्यही क्रममा मेलबर्न भिक्टोरीका प्रतिनिधिको नजर उनीमाथि परेको थियो।

यस छनोटसँगै आरभ अब फुटबलमा थप अवसर र उच्चस्तरीय प्रशिक्षणका लागि भिक्टोरिया राज्य जाने तयारीमा रहेको उनका बुवाले बताएका छन्। १२ वर्षकै उमेरमा देशकै प्रतिष्ठित फुटबल क्लबको एकेडेमीमा स्थान पाउनु उनका लागि ठूलो उपलब्धि हो।

आरभ चार बर्षको उमेरमा बाबु आमासँग अस्ट्रेलिया आएका हुन् । विशेषगरी अस्ट्रेलियामा हुर्किरहेका नेपाली मूलका बालबालिका तथा युवाका लागि उनको उपलब्धि प्रेरणादायी बन्न सक्छ।

अस्ट्रेलियाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका टम रोगिचजस्तै भविष्यमा आरभले पनि ठूलो सफलता हासिल गर्न सक्लान् त? अहिले नै त्यस्तो अनुमान गर्नु हतार हुनेछ। तर, सानै उमेरमा प्राप्त यो अवसरले उनको फुटबल यात्रामा नयाँ ढोका खोलेको छ।

आरभको यो सफलताले क्यानबेरामा फुटबल खेलिरहेका युवा खेलाडीहरूलाई पनि हौसला दिने अपेक्षा गरिएको छ।

क्यालवेल हाईस्कुलमा अध्ययनरत भण्डारी चार वर्षको उमेरदेखि फुटबल खेल्दै आएका छन्। यस वर्ष पढाइ पूरा गरेपछि उनी परिवारसहित भिक्टोरिया सर्ने र मेलबर्न भिक्ट्रीको यू–१३ टोलीमा आबद्ध हुनेछन्। उनले भिक्टोरियाको प्रतिस्पर्धात्मक नेसनल प्रिमियर लिगमा पनि खेल्नेछन्।

‘म निकै उत्साहित छु। मेरो परिवार पनि मसँगै सर्ने भएकामा आभारी छु,’ भण्डारीले द क्यान्बेरा टाइम्ससँग भनेका छन्, ‘पहिला ए–लिगमा पुग्ने र त्यसपछि अझ माथि जाने, युरोपमा खेल्ने र एक दिन अस्ट्रेलियाको राष्ट्रिय टोली सोकरुजबाट खेल्ने लक्ष्य छ।’

भण्डारीको अनुबन्धले उनलाई अस्ट्रेलियाका ठूला क्लबमध्ये एकको प्रशिक्षक तथा विकास प्रणालीसँग जोड्नेछ। क्यानबेरामा हाल पुरुष ए–लिग टोली नभएकाले त्यहाँका युवा खेलाडीलाई घरेलु शीर्ष लिगसम्म पुग्ने बाटो सीमित छ।

लुस्टिका फुटबल एकेडेमीका प्रशिक्षक स्टिभन लुस्टिकाका अनुसार भण्डारी दोस्रो वर्षदेखि उनको प्रशिक्षणमा छन्। उनी क्यानबेरा क्रोएसियाबाट पनि खेल्दै आएका छन् र अस्ट्रेलियाका विभिन्न प्रतियोगितामा सहभागी भएका छन्।

‘उनी निकै प्रतिभाशाली खेलाडी हुन् र उनमा धेरै सम्भावना छ। मेलबर्न भिक्ट्रीमा उनको प्रगति हेर्न हामी उत्साहित छौँ,’ लुस्टिकाले भने।

भण्डारी लुस्टिका एकेडेमीबाट ए–लिग क्लबमा अनुबन्ध हुने पहिलो क्यानबेराका खेलाडी हुन्। लुस्टिकाको एकेडेमी मेलबर्न र क्यानबेरा दुवैमा सञ्चालन हुँदै आएको छ।

आरव भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
प्रदीप तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय