+
एनपीएल २०२६ :

पहिलो सिजनजस्तै चर्चा र लयको खोजीमा कर्णाली याक्स

२०८३ कात्तिक  ६ गते १०:१० २०८३ कात्तिक ६ गते १०:१०

पहिलो सिजन शिखर धवन अनुबन्ध गरेर चर्चा बटुलेको कर्णाली प्लेअफमा पनि पुगेको थियो । दोस्रो सिजन भने लयमा नदेखिएको कर्णाली लिग चरणमा छैटौं भयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले एनपीएल तेस्रो सिजनका लागि सोमपाल कामी, गुल्सन झा, नन्दन यादवसहित कोर टिमलाई निरन्तरता दिएको छ।
  • कर्णालीले अक्सनबाट विपिन शर्मा, दीपेन्द्र रावत, शुभ कंशाकार, सूर्य तामाङ, दिवान पुन र चिरन शर्मालाई अनुबन्ध गरेको छ।
  • कर्णालीले मार्क वाट, अकबर अली, अरिफुल इस्लाम, साहिबजादा फरहान र हुसेन तलतलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको छ।

६ कात्तिक, काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो । नाम कर्णाली भएपनि यस टिम एनपीएलमा भने चर्चित टोलीमध्ये पर्छ ।

नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी खेलाडी सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले यसअघिका दुई सिजनमा औसत प्रदर्शन गरेको थियो । पहिलो सिजन लिगमा चौथो हुँदै प्लेअफ सम्म पुगेको कर्णाली दोस्रो सिजन भने छैटौं स्थानमै रह्यो र प्लेअफ पुग्न सकेन ।

पहिलो सिजन शिखर धवनलाई अनुबन्ध गर्दै कर्णाली याक्सले एनपीएलमा ठूलो चर्चा बटुलेको थियो । दोस्रो सिजन स्कटिस बलर मार्क वाटले सबैभन्दा छिटो शतक प्रहार गर्दै कर्णालीको चर्चा झन् बढाएका थिए ।

यति मात्र होइन कप्तान सोलमपाल सहित गुल्शन झा, नन्दन यादव जस्ता घरेलु क्रिकेटका चर्चित खेलाडी पनि रहेको यस टिमको मुख्य प्रशिक्षकमा लगातार दुई सिजन ज्ञानेन्द्र मल्ल थिए । यस पटक मल्ल क्रिकेट निर्देशक नै बनेका छन् र जिम्मेवारी पनि थपिएको छ ।

कर्णालीको अर्को राम्रो पक्ष भनेको यो टिमले स्थानीय प्रतिभावान् खेलाडीलाई टिममा अवसर दिँदै आएको छ । पहिलो सिजन आइकोनिक प्लेअरको रुपमा छनोट भएका विपिन शर्मा त्यसपछि स्टार बनेर उदाए । दोस्रो सिजन रिटेन नै भएका उनी तेस्रो सिजन रिलिज भएपनि अक्सन मार्फत टिममा भित्रिए ।

विपिन बाहेक युनिश विक्रम ठकुरी, दिपेन्द्र रावत, अर्जुन घर्ती जस्ता खेलाडी सुरुवाती दुई सिजन कर्णालीले खेलाएको थियो । तेस्रो सिजनअघि अर्जुन रिलिज भएका छन् भने स्थानीय दिवान पुन टिममा भित्रिएका छन् ।

कोर टिम रिटेन

कर्णालीले तेस्रो सिजनका लागि टिम बनाउँदा यसअघिका दुई सिजन खेलिसकेका खेलाडीहरुलाई निरन्तरता दिएको छ । कप्तान सोमपाल, गुल्शन, नन्दन, विपिन, दीपेन्द्र, युनिश पहिलो सिजन देखि नै कर्णाली टिममा छन् । कप्तान सोमपाल, गुल्शन र नन्दन, युनिश लगातार टिममा रिटेन भएका छन् ।

यस्तै विपिन शर्मा पहिलो सिजन ट्यालेन्ट हन्टबाट आइकोनिक प्लेअरको रुपमा कर्णालीमा अनुबन्ध भएका थिए भने दोस्रो सिजन रिटेन भएका थिए । तेस्रो सिजन भने कर्णालीले उनलाई रिलिज गरेर पुन: अक्सनमार्फत अनुबन्ध गरेको हो ।

यस्तै दोस्रो सिजनमा अक्सनमा लिएको पवन सर्राफ, दीपक डुम्रे र युवराज खत्रीलाई कर्णालीले तेस्रो सिजनका लागि रिटेन गरेको हो । साथै दोस्रो सिजन रिटेन भएका दीपेन्द्र रावतलाई पनि कर्णाली तेस्रो सिजनका लागि अक्सनबाट लिएको छ ।

कर्णालीले रिटेन र अक्सनबाट गरेर आफ्नो कोर टिममलाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ । यसअघि कर्णालीबाट खेलिसकेका ९ खेलाडी तेस्रो सिजनमा पनि सँगै छन् ।

यसबाहेक अक्सनबाट ब्याटर शुभ कंशाकार, स्पीनर सूर्य तामाङसँगै कर्णालीकै स्थानिय खेलाडी दिवान पुन र सचिन शर्मा टिममा थपिएका छन् । सचिन शर्मा बेलायतमा क्रिकेट सिकेर आएका खेलाडी हुन् ।

बंगलादेशी र पाकिस्तानी खेलाडीमा नजर

कर्णाली याक्सले विगतका दुई सिजनमा भारतीय स्टार शिखर धवन देखि अष्ट्रेलियाका यू-१९ टिमका पूर्व कप्तान विल बोसिस्टोसम्मलाई अनुबन्ध गर्दै चर्चा कमाएको थियो । अन्य एसोसिएट स्टार खेलाडीहरुले समेत यस टिमबाट खेलिसकेका छन् ।

तेस्रो सिजनमा भने कर्णालीले दुई बंगलादेशी र दुई पाकिस्तानी खेलाडीलाई भित्र्याएको छ । पहिलो र दोस्रो सिजन खेलेका स्कटिस मार्क वाटलाई निरन्तरता दिएको कर्णालीले अहिलेसम्म तीन विदेशी खेलाडी घोषणा गरेको छ । जसमा विकेटकिपर ब्याटर अकबर अली युवा ब्याटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको हो ।

अकबर अलीले सन् २०२२ मा बंगलादेश यू१९ टोलीको कप्तानी गर्दै आईसीसी यू१९ विश्वकपको उपाधि जिताउन योगदान गरेका थिए । अकबर र अरिफुल दुवैले उमेर समूहबाट खेल्दै बंगलादेश ए टिमबाट समेत खेलिसकेका छन् भने सिनियर टिमबाट खेलेका छैनन् ।

साहिबजादा फरहान

यस्तै पाकिस्तानका हुसेन तलत र साहिबजादा फरहान पनि टोलीमा अनुबन्ध भएका छन् । फरहान पाकिस्तानको टी-२०आई टोलीका कप्तान समेत हुन् । यसबाहेक अर्को एउटा ठूलो खेलाडी पनि कर्णालीले अनुबन्ध गर्दैछ ।

अकबरले कर्णालीको लागि ब्याटर र विकेटकिपरको भूमिका निभाउनेछन् । मार्क वाटले स्पीन डिपार्टमेन्ट सम्हाल्नेछन् । उनलाई नेपाली खेलाडी सूर्य तामाङ, विपिन शर्मा, युनिश, दिपेन्द्र देखि पवन सर्राफले सघाउनेछन् । पेस बलिङमा कप्तान सोमपाल देखि नन्दन यादव, गुल्शन झा हुनेछन् ।

कर्णालीका लागि टप अर्डर देखि मिडल अर्डरमा खेल्ने विदेशी खेलाडी अनुबन्ध भएका छन् । अक्सनबाट अनुबन्ध भएका शुभ कंशकारले मिडल अर्डरमा खेल्न सक्छन् ।

कर्णाली याक्स टिम

रिटेन खेलाडी : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, पवन सर्राफ, दिपक डुम्रे, युनिश विक्रम ठकुरी, युवराज खत्री
अक्सनमा अनुबन्ध खेलाडी : विपिन शर्मा, दीपेन्द्र रावत, शुभ कंशाकार, सूर्य तामाङ, दिवान पुन, चिरन शर्मा
विदेशी खेलाडी : मार्क वाट, अकबर अली, अरिफुल इस्लाम, साहिबजादा फरहान, हुसेन तलत
क्रिकेट निर्देशक : ज्ञानेन्द्र मल्ल
कन्सलट्यान्ट प्रशिक्षक : राजु बस्न्यात

एनपीएल २०२६ एनपीएल क्रिकेट कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय