+
एनपीएल २०२६ :

सन्तुलित चितवन राइनोजको नजर उपाधिमा

२०८३ कात्तिक  ५ गते २०:३० २०८३ कात्तिक ५ गते २०:३०

पहिलो संस्करणमा अप्रत्याशित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोज दोस्रो संस्करणमा लिग चरणबाट नै बाहिरिएको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले एनपीएल तेस्रो संस्करणमा उपाधि लक्ष्यसहित तयारी गरेको र विदेशीसहित सन्तुलित टोली बनाएको अध्यक्ष आयुष न्यौपानेले बताए ।
  • राइनोजले पाकिस्तानी बलर सोहेल तनवीरलाई कोच नियुक्त गरेको छ भने टिमको कप्तानी युवा अलराउण्डर कुशल मल्लले गर्नेछन् ।
  • चितवन राइनोजले कार्तिक १० गते विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ र चितवनबाट कीर्तिपुरसम्म निःशुल्क बस सेवा पनि दिनेछ ।

५ कात्तिक, चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) मा हरेक प्रदेशमा एक-एक वटा मात्रै फ्रेन्चाइज क्लबहरू छन् । तर, बागमती प्रदेशमा भने चितवन राइनोज र काठमान्डु गोर्खाज गरेर दुईवटा क्लब छन् ।

चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा छ । चितवनमा पाइने दुर्लभ एक सिङे गैंडालाई आफ्नो मुख्य थिम राखेर गैंडाको प्रचारप्रसार र प्रवर्द्धनमा समेत टेवा दिँदै आएको चितवन राइनोजले एनपीएलका यसअघिका दुई संस्करणमा औसत प्रर्दशन गरेको थियो ।

तर, यसपटक भने उपाधिमाथि नै नजर लगाएको र सोही अनुसारको तयारी अगाडि बढेको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने बताउँछन् ।

न्यौपानेले भनेजस्तै, यसअघिका दुई संस्करणमा अक्सनबाट खेलाडी छनोटमा भन्दा यसपटक राइनोजले मन फुकाएर खर्च गरेको देखिन्छ । सकभर चर्चित खेलाडीहरूलाई टिममा समेटेर सन्तुलन, व्यवस्थापनमा राइनोजले ध्यान दिएको अध्यक्ष न्यौपानेको दाबी छ ।

पहिलो संस्करणमा अप्रत्याशित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोज दोस्रो संस्करणमा लिग चरणबाट नै बाहिरिएको थियो । तर, त्यो तीतो विगतलाई बिर्सिएर नयाँ इतिहास कायम गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने चितवन राइनोजका अध्यक्ष न्यौपानको भनाइ छ ।

विदेशी खेलाडीबाहेक सबैजसो नेपाली खेलाडीले हेटौंडाको गौरीटारमा विगत १ महिनादेखि क्लोज क्याम्पमा बसेर तालिम लिएका छन् । ‘अघिल्लो पटकको भन्दा यसपटक धेरै मेहनत गरेका छौं, त्यसैले पनि उपाधि जित्ने लक्ष्य हो’ न्यौपानेले भने, ‘अघिल्ला बर्षको भन्दा बढी चुनौती पनि छन्, अन्य टिमले पनि आफूलाई बलियो बनाउँदै लगेका छन् ।’

राइनोजले मैदानमा अप्रत्याशित नतिजा निकालेर सबैलाई चकित पार्ने दाबी उनले गरे ।

उनले अन्य टिमका खेलाडी तथा टिमका कमजोर पक्षहरूको विश्लेषण गर्ने र आफ्ना गल्ती कमजोरीलाई दोहोरिन नदिने गरी मैदानमा उत्रिने बताए । चितवन राइनोजका खेलाडीहरूको पनि कमजोर र बलियो पक्षहरूका बारेमा पहिचान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

 

यसपटक पनि चितवन राइनोजको कप्तानी युवा अलराउण्डर कुशल मल्लले गरेका छन् । राइनोजले नेपाली युवा खेलाडीहरू देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, विवेक यादव, अर्जुन साउद लगायतलाई टिममा समेटेको छ ।

नेपाली अण्डर–१९ राष्ट्रिय टिमका कप्तानसमेत भैसकेका देव खनालले आईसीसी लिग–२ को गत आइतबार भएको अन्तिम खेलमा ओमान विरुद्ध पाएको मौकाको सदुपयोग गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी फर्ममा भएको देखिनु चितवन राइनोजका लागि सुखद पक्ष हो ।

विकेटकिपर ब्याटर अर्जुन साउदलाई दोस्रो संस्करणमा अक्सनबाट अनुबन्ध गरेको चितवन राइनोजले देव र अर्जुनलाई ओपनिङ जोडीका रूपमा खेलाउन सक्ने देखिन्छ । त्यसो त जिम्वाबेका कप्तान सिकन्दर राजा पनि ओपनिङमा आउन सक्ने सम्भावना पनि छ । नेपाली युवा खेलाडी विवेक यादवलाई यसपटक राइनोजले अक्सनबाट टिममा भित्र्याएको छ ।

राइनोजका लागि कप्तान कुशल मल्लको फर्म कस्तो रहला भन्ने सबैभन्दा ठूलो चासोको विषय बनेको छ । उनी लामो समयदेखि लयमा नदेखिएका कारण राष्ट्रिय टोलीमा समेटिएका छैनन् ।

राइनोजले यसपटक टिमका मार्की तथा कप्तान कुशल मल्ल, देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरासहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।

राइनोजले तेस्रो सिजनका लागि बिपिन आचार्य, सौगात ढकाल, गौतम केसी, अमरसिंह रौतेला, बिपिन रावललाई भने रिलिज गरेको थियो । अक्सनबाट विवेककुमार यादव,मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलाहुदिन खानलाई अक्सनबाट टिममा समेटेको थियो ।

गौतम केसी र विपिन रावल चितवन राइनोजबाट रिलिज भए पनि फेरी अक्सनबाट टिममा समेटिएका हुन भने बाँकी नयाँ हुन् ।

ब्याटिङ्गको मियो बोपरा, थप २ विदेशी खेलाडी ल्याउने

पहिलो र दोस्रो सिजनमा चितवन राइनोजको मध्यक्रम ब्याटिङ लाइनअप इंग्ल्यान्डका रवि बोपाराले धानेका थिए । उनलाई यसपटक पनि राइनोजले निरन्तरता दिएको छ । पहिलो संस्करणमा बोपाराले २८६ रन बनाएर लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको दोस्रो नम्बरमा थिए भने दोस्रो संस्करणमा २३७ रन बनाएका थिए ।

सेमिफाइनल र फाइनल खेल्ने मौका राइनोजले पाएको भए सायद बोपरा सबैभन्दा बढी रन बनाउने खेलाडी बन्न सक्ने थिए । तेस्रो संस्करणमा पनि राइनोजले निरन्तरता दिएका बोपरालाई ब्याटिङको ‘मियो’ मानिएको छ । उनलाई जिम्बाबेका कप्तानसमेत रहेका सिकन्दर राजाले साथ दिनेछन् ।

राजासँग विश्वका चर्चित लिगहरू इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव छ । नेपाली खेलाडीहरू कप्तान कुशल मल्ल, विवेक यादव र देव खनालबाट पनि चितवन राइनोजले ठूलो आशा राखेको छ ।

देव खनाल र अर्जुन साउद नेपाली क्रिकेटका सम्भावनाशील युवा खेलाडीका रूपमा स्थापित भइरहेका छन् भने कमल सिंह ऐरीको अलराउण्ड क्षमता टोलीका लागि महत्वपूर्ण रहनेछ । त्यसैगरी रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोराले आफ्नो निरन्तर प्रदर्शन, मेहनत र समर्पणमार्फत टोली व्यवस्थापनको विश्वास जितेको राइनोजले जनाएको छ ।

नेपाली अण्डर–१९ टोलीका कप्तान अशोक धामीसँग पनि राइनोजले राम्रो प्रर्दशनको अपेक्षा गरेको छ । ट्यालेन्ट हन्टबाट छानिएका ५ जना मध्ये १ जना खेलाडीले यसपटक टिममा मौका पाउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

रविलाई साथ दिन चितवन राइनोजले थप दुई विदेशी खेलाडीलाई टिममा समेट्ने प्रयास जारी राखेको छ । ४२ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडीआई र ३८ टी२० आई खेल खेलेका छन् ।

दायाँ हातले ब्याटिङ गर्ने बोपाराले ४९४ टी २० खेलमा ९ हजार ९४८ रन बनाएका छन् भने २९२ विकेट पनि लिएका छन् ।

रवि बोपरा, सिकन्दर रजा, कुशल मल्ल, देव खनाल र थप दुई विदेशी खेलाडी राइनोजको भरपर्दो ब्याटिङ लाइन अप हो । यसपटकमा ६ जना विदेशी खेलाडीलाई टिममा अनुवन्धन गर्ने तयारीमा रहेको राइनोजले ४ खेलाडीलाई टिममा समेटिसकेको छ भने बाँकी २ खेलाडीलाई टिममा जोड्न बाँकी छ ।

यसपटक बलिङ र ब्याटिङ दुबैलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने तयारीमा राइनोज रहेको क्लवका कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

कोचको जिम्मेवारी तनवीरलाई

पाकिस्तानी बलर सोहेल तनवीरलाई चितवन राइनोजले तेस्रो संस्करणका लागि कोचमा नियुक्त गरेको छ । नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो संस्करणमा चितवन राइनोजको बलिङ कमाण्ड समातेका तनवीरले यसपटक भने राइनोजको कोचको भूमिका निर्वाह गर्नेछन् ।

पहिलो संस्करणदेखि नै राइनोजमा निरन्तर खेल्दै आएका तनवीरले कुन खेलाडीलाई कहाँ खेलाउने र खेलाडीका सबल र कमजोर पक्षबारे नजिकबाट बुझेको हुँदा सोही अनुसार रणनीति बन्ने राइनोजका अध्यक्ष न्यौपानेले बताए ।

एनपीएलको पहिलो संस्करणमा १४ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो र दोस्रो संस्करणमा ८ विकेट लिएका तनवीरसँग चितवन राइनोज ढुक्क देखिन्छ । विदेशी खेलाडीको छनौट, टिमको अभ्यास जस्ता विषयमा पनि पाकिस्तान नै बसेर तनवीरले नजिकबाट चासो दिँदै आएका छन् ।

‘तनवीरलाई हामीले यसपटक कोचको भूमिका निर्वाह गर्न भन्यौं, उहाँले सहर्ष स्वीकार गर्नुभयो, कुनै समस्या भएन’ राइनोजका प्रमुख कार्यकारी अधिकृत देवकोटाले भने, ‘हाम्रो टिमका सवल, कमजोर र विपक्षीका सवल एवम् कमजोर सबै कुरा थाहा भएका कारण तनवीरलाई कोच बनाउने निष्कर्षमा पुग्यौं, उहाँले बनाउने योजनामा यसपटक राइनोज हिड्नेछ, त्यसमा कप्तान र अन्य खेलाडीहरूको पनि साथ रहनेछ ।’

विशेषगरी टिमको बलिङ आक्रमण र क्षेत्ररक्षणलाई बलियो बनाउन तनवीरले विषेश योजना बनाउने छन् । रिजन ढकाल, कमलसिंह ऐरी, गौतम केसी जस्ता नेपाली खेलाडी र पाकिस्तानी उसामा मिर र क्यानडाका कलिम सना बलिङमा हुनेछन् ।

सना बायाँहाते तीव्र गतिका बलर हुन्। क्रिकेटमा बायाँहाते बलरको गति र स्विङलाई निकै घातक मानिन्छ । सनाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल विरुद्धको अन्तिम खेलमा आसिफ शेख र शतक नजिक पुगेका अर्जुन कुमाललाई आउट गरेरका थिए । सो खेल नेपालले २४ रनले गुमाएको थियो ।

यस्तै, पाकिस्तानका ३० वर्षीय उसामा मिर दायाँहाते लेग–स्पिन बलर हुन् । उनले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवै विधामा प्रतिनिधित्व गरिसकेका छन् । उनले पाकिस्तान सुपर लिग सन् २०२४ को सिजनमा मात्र १२ खेलमा २४ विकेट लिएका थिए ।

पहिलो र दोस्रो संस्करणमा राइनोज

चितवन राइनोजले अघिल्लो संस्करणमा ७ खेल खेलेर ८ अंक बनाएको थियो । कर्णाली याक्स र काठमान्डु गुर्खाजले पनि समान ८ अंक जोड्दा नेट रन रेटमा चितवन अगाडि थियो । तर पहिलो इलिमिनेटरमै कर्णाली याक्ससँग पराजित हुँदा चितवनको यात्रा अघि बढ्न सकेन ।

लिगमा अपराजित रहँदै आएको र पछि उपाधि जितेको जनकपुर बोल्ट्सलाई हराउने टिम थियो, चितवन राइनोज । पहिलो संस्करणमा लिगको उपाधि दाबेदार सुदूरपश्चिमलाई समेत चितवन राइनोजले पराजित गरेको थियो ।

पहिलो संस्करण भन्दा दोस्रो संस्करणमा चितवन राइनोजको प्रस्तुति केही फितलो बन्न पुग्यो । खेलेका ७ मध्ये २ खेलमा जित र बाँकी ५ खेलमा हार भोगेर जम्मा ४ अंक पाएको राइनोज लिग चरणबाट बाहिरिएको थियो ।

सुरुवाती खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर सुखद सुरुवात गरेको राइनोजले दोस्रो खेलमा उपाधि विजेता लुम्विनी लायन्ससँग हार बेहोर्‍यो । विराटनगर किङ्सलाई ४८ रनले हराएको राइनोजले बाँकी सबै खेलमा पराजय भोग्यो । काठमाण्डौं, जनकपुर, सुदुरपश्चिम, पोखराले राइनोजलाई हराए ।

राइनोजको खेल तालिका

चितवन राइनोजले लिग चरणमा ७ खेल खेल्ने छ । जस अन्तर्गत पहिलो खेल आगामी कार्तिक १० गते मंगलबार दिउँसो १२.३० बजे बिराटनगर किङ्ससँग खेलेर एनपिएल तेस्रो संस्करणको सुरुवात गर्ने राइनोजले लुम्विनी लायन्ससँग कार्तिक १४ गते शनिबार दिउँसो १२.३० बजे दोस्रो खेल खेल्ने छ ।

तेस्रो खेल सुदुरपश्चिम रोयल्ससँग कार्तिक १६ गते सोमबार साँझ ५ बजे खेल्दा, चौथो खेलमा राइनोज पोखरा एडभेन्चरसँग कार्तिक २० गते शुक्रबार ५ बजे भिड्ने छ ।

पाँचौं खेल काठमान्डु गोर्खाजसँग कार्तिक २३ गते सोमबार साँझ ५ बजे खेल्ने छ । छैटौं खेल कार्तिक २७ गते शुक्रबार साँझ ५ बजे जनकपुर बोल्ट्ससँग खेल्ने छ ।

लिगको अन्तिम खेल कर्णालीसँग कार्तिक २९ गते आइतबार दिउँसो १२.३० बजे खेल्ने चितवन राइनोजको अगाडिको यात्रा भने अंक तालिकाको आधारमा हुनेछ ।

प्लेअफमा इलिमिनेटर नखेली सिधै फाइनलमा पुग्ने लक्ष्य राखिएको राइनोजका प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिए ।

समर्थकलाई निःशुल्क बस सेवाको निरन्तरता

चितवन राइनोजले कीर्तिपुरमा हुने टिमको खेल हेर्नका लागि चितवनबाट निःशुल्क सेवासमेत उपलब्ध गराउने भएको छ । खेल भएको दिन चितवन मेडिकल कलेजबाट दर्शकको संख्याका आधारमा बस लैजाने तयारी राइनोजको छ ।

खेल हेर्न जाने दर्शकसँग टिकट र जर्सी लगाएको भने हुनुपर्ने चितवन राइनोजले जनाएको छ । खेलपछि फर्कने व्यवस्था पनि गरिएको छ ।

राइनोजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार चितवन राइनोजको खेल हुने दिन पाँचवटा बसको व्यवस्था मिलाइने छ ।

***

रिटेन गरिएका खेलाडीः कुशल मल्ल, देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरा
अक्सनबाट छानिएका खेलाडीः विवेककुमार यादव, मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलाहुदिन खान ।
विदेशी खेलाडीः रवि बोपरा (इंग्ल्यान्ड), सिकन्दर राजा (जिम्बाबे), उसामा मिर (पाकिस्तान), कलिम सना (क्यानडा)

एनपीएल २०२६ चितवन राइनोज

धेरै कमेन्ट गरिएका

लेखक
सुवास पण्डित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय