+
+
Shares
कास्की-२ को उपनिर्वाचन :

रजनीसँग रवीन्द्रको घरदैलो : पोखरेलीले सोच्ने बेला आएन र ?

दुःख गरेर पठाएका नेताले के गरे हेर्नुस् : रवीन्द्र मिश्र

अमृत सुवेदी अमृत सुवेदी
२०७६ मंसिर ४ गते १८:३४

४ मंसिर, पोखरा । छोरेपाटन हुँदै कृस्ती नाच्नेचौरको डाँडामा पुगेर सिंगो पोखरा नियालेपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भने, ‘हेर्दाहेर्दै सुन्दर शहर कुरुप हुँदै गयो । लाग्छ पोखरा पनि कुनै दुर्घटनाको पर्खाइमा छ । जोगाउनतिर पोखरेलीले सोच्नै बेला आएन र ?’

कास्की २ मा हुने उपचुनावका लागि पोखरामा खटिएका उनी केही आशावादी पनि देखिए, ‘पोखरेली शिक्षित छन् । यसपाली व्यवस्थित पोखराको आवाज उठाउने जिम्मेवारी हामीलाई दिनेछन् ।’

दोपहरे चोकबाट दक्षिण, पश्चिम हुँदै मिश्र ओरालो लागे । पोखरा-२१ मा भविष्य निर्माण मावि छ । त्यसकै माथिपट्टि छ, नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालय । कांग्रेसको झण्डा फरफराइरहेको कार्यालय अघिल्तिर रोकिए मिश्र । कांग्रेसकै झण्डा फहराइरहेको घरमा सानो होटल पनि छ । मिश्र लगायत साझा पार्टीको घरदैलो टोलीलाई खाना खाने प्रवन्ध त्यहीँ मिलाइएको छ ।

त्यहीँ मिश्रले देश र जनताको भविष्य निर्माणको कुरा गरे । ‘यो देशको भविष्य निर्माण गर्ने हामीले नै हो । वर्षौंसम्म यही ठाउँबाट जितेर गएका पुराना पार्टीले देश बदलेनन्, आफ्नो आर्थिक हैसियतमात्रै बदले,’ चोकमा उभिएर मिश्रले बोले, ‘अब यो देश बदल्न शिक्षित नेपालीले मन र मत बदल्नुपर्छ ।’

पोखरा क्षेत्रनम्बर २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । रजनीलाई भोट माग्न पुगेका युवाको समूह चोकको सरसफाइ गर्दै थियो । ‘हामी सभ्य र सुसंस्कृत राजनीतिको पक्षमा छौं,’ रजनीको प्रचारमा घरदैलो गर्न पुगेका तिलक राजले भने, ‘सभ्य हुने सुरुआत आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ चोक सरसफाइ गर्‍यौं । हामी चाहन्छौं, फोहोरी राजनीति सफा होस् ।’

मिश्र भने चोकबाट आउजाउ गर्ने गाउँलेसँग गफगाफ गरिरहे । एक जना वृद्ध आइपुगे । मिश्रले कुराकानी थाले, ‘बुवा नमस्कार । हामी त तराजुलाई भोट हाल्नुस् भन्नलाई आएका ।’ उनी रहेछन् लालबहादुर शाही । उनले भने, ‘विरामी छु । औषधि खाने पैसासमेत नभएर गाह्रो छ । वृद्धा भत्ता पाउन अझै उमेर पुगेको छैन । जसले भत्ता दिलाइदिन्छ, म त उसैलाई भोट हाल्ने हो ।’

मिश्रले उमेर सोधे । लालबहादुरले खल्तीबाट नागरिकता झिकेर देखाए । उनी ६५ वर्षका भएछन् । ‘नागरिकता परिवर्तन गर्न मिल्दैन बुवा । अरु कसैले भत्ता दिलाइदिन्छु भने पनि नपत्याउनु होला, झुक्याउन सक्छन्,’ साझा पार्टीका संयोजक मिश्रले भने, ‘बरु मलाई आशिर्वाद दिनुस् । भ्रष्टाचार गर्ने, समाजलाई पाप गर्ने बुद्धि कहिल्यै नआओस् भनेर आशिष माग्ने गरेको छु ।’

लालबहादुरले आशिर्वाद दिए र राष्ट्रिय मुद्दा उठाए । ‘आज कालापानी मिचियो भन्छन् । कहिले बुझ्छन्, देशका पार्टीले ?’ लालबहादुरले मिश्रलाई भने, ‘हाम्रो पुर्खाले कति दुःख गरेर बचाएका थिए ।’

आफ्नो पार्टीले त्यसको आवाज उठाउने बताउँदै मिश्र बिदा भए ।

एकैछिनमा नमस्कार गर्दै आइपुगिन्, साझाकी उम्मेदवार रजनी । उनको अनुहारमा बिछट्टै चमक छ । हिँडाइमा रफ्तार । थाइ कट कपाल र कुर्ता सजिएकी रजनीको हातमा चुनावी पर्चा छ । मिश्रनेर आइपुगेर रजनीले भनिन्, ‘म यताको गाउँ पसेर आइपुगें । मतदाताले उत्साही पो बनाइरहेका छन् ।’ रवीन्द्रको मुहार उज्यालियो । रजनीसँग हात मिलाउँदै भने, ‘जित्नुपर्छ ।’

****

भविष्य निर्माण माविनेरको चोकबाट देश निर्माणको उदघोष गर्दै घरदैलोमा फेरि निस्कनै लाग्दा माइकिङ गर्दै आएको एउटा जीप उनीहरु नजिकै रोकियो । जीपबाट कोट, पाइन्ट र ढाका टोपी लगाएका एक जना युवा निस्किए । उनी थिए, कास्की क्षेत्र नम्बर २ कै स्वतन्त्र उम्मेदवार कमलजंग कुँवर । मिश्र नमस्कार गर्दै कमलजंगतिरै सोझिए । अनि सुरु भयो, दुई जनाको संवाद ।

मिश्रः कमलजी नमस्कार, कता हजुर पनि घरदैलोमा ?

कमलः नमस्कार हजुर । आज म पनि यो क्षेत्रमा घरदैलोमा आइपुगेको ।

मिश्रः ए ल शुभकामना । तर, यो देशमा एक्लै हिँड्न धेरै गाह्रो पो छ त कमलजी । एक्लै देश बदल्न कहाँ सकिएला । पहिले पनि तपाईंसँग कुरा भएकै हो । तपाईंले पनि पुरानो पार्टी छाडिहाल्नु भयो । मिलेर जाऔं ।

कमलः म पनि एउटा समूह बनाउँदैछु । आफ्ना विचार राखेर प्रचार सामाग्रीसहित जनतासामु जाँदैछु । धेरै मतदाता दलहरुमा आवद्ध भइसकेपछि बन्धनजस्तो बन्दोरहेछ । भोट परिवर्तन गर्न गाह्रो मान्दा रहेछन् ।

मिश्रः तपाईंमा यो उत्साह हुनु ठूलो कुरा हो । तपाईंले जुन लक्ष्यसहित जागिर छाड्नुभयो, त्यो लक्ष्य पूरा गर्न अरु पार्टीमा तपाईं जान सक्नुहुन्न । हामीसँगै आवद्ध हुने हो । यसलाई गम्भीरता पूर्वक सोचिदिनुपर्‍यो ।

कमलः अब एउटै उद्देश्य छ भने फरकफरक बाटो जानु पर्ने त केही छैन । तर, हतारमा हामी मिल्यौं भने पनि गाह्रै होला । म पनि संस्थागत गर्ने र नीतिका आधारमा एउटा आकार ग्रहण गरिसकेपछि कति नजिक हुन्छौं, त्यसपछि विचार गरौंला । पहिले म मेरो विचार जनतासामु पुर्‍याउँछु ।  एउटा टिम पनि बन्छ । त्यसपछि विचार गरौंला ।

मिश्रः हस्, कमलजी शुभकामना । फेरि मिल्नुपर्छ ।

साझाकी उम्मेदवार रजनीले पनि हात मिलाउँछिन् । दुवैले शुभकामना साटासाट गर्छन् र बाटो लाग्छन् ।

****

घाँस दाउरा बोकेर आइरहेका केही गाउँले लस्करै भेटिए । उनीहरु गाउँ उक्लँदै गर्दा रजनीको चुनावी प्रचार समूह कुराकानी गर्दै अगाडि बढ्छ । रजनीले सबैको हात-हातमा पर्चा बाँड्दै जनताको सुख दुःखमा सँगै हुने बताइन् । मिश्रले घाँस, दाउरा गरेर जीवन बिताइरहेका गाउँलेका घरसम्म सरकार आउन नसकेको बताउँछन् । घाँस, दाउरा बोकिरहेकाहरुको साझा आवाज आउँछ, ‘हामीलाई केको सरकार । जुन सरकार आए पनि हाम्रा दुःख हामीसँगै हुने हुन् ।’

सधैं एउटै पार्टी र दललाई भोट हालेर पठाएका सांसदले जनताका विषयमा नसोच्दा दुःख जहाँको त्यहीँ रहेको बताउँछन् । ‘तपाईंहरुले सुन्दर हिमाल गर्दै घाँस, दाउरा, किसानी गरेर पठाएका नेताले केके गरे हेर्नुहोस् त ? उनीहरुको अवस्था बदलियो, जनता उस्तै छन्,’ उकालोमा पाइला बढाउँदै पूर्वपत्रकार समेत रहेका मिश्रले भने, ‘अब तपाईंले हामीलाई भोट हाल्नुस् । हामीले आफूलाई होइन, जनतालाई हेर्छौं । हामी भ्रष्टाचार गर्दैनौं, कुनै नराम्रो काम गर्दैनौं ।’

नेताले ५ पुस्ताका लागि पैसा जम्मा गरिसकेको, तर जनताको पक्षमा आवाज नउठाएको रजनीले बताइन् । उनीहरुको कुरा सुनेपछि दाउराको भारीसँगै दुई हातले नाम्लो समाउँदै एकजनाले मिश्रतिर हेरे । मुसुक्क मुस्कुराउँदै उनले भने, ‘हो, यसअघि त अर्कै पार्टीलाई हालेको हो । म त भर्खर विदेशबाट आएको । एउटा पार्टी त समाउनै पर्ला । मलाई तपाईंहरुको कुरा पनि मन पर्‍यो ।’

उनी रहेछन्, कृष्ण सुनार । रवीन्द्र र रजनीले उनलाई अझ हौसाउँदै यो देशको राजनीति शिक्षित युवाले बदल्नुपर्ने बताए । घर पुगेपछि कृष्णले दाउराको भारी फाले । उनले श्रीमतीलाई चिनाए र तराजुमा भोट हाल्न आग्रह गरे । अनि कृष्ण आफैंले केही घरमा भोट माग्न सँगै डुले । घरघर मान्छे चिनाउँदै तराजुमा भोट हाल्न गर्दै कृष्णले त्यहाँबाट बिदाइ गर्दै रजनीको चुनावी प्रचार टोलीलाई भने, ‘ल नबिर्सनुहोला । एउटा पार्टी समाउनै पर्छ । म तपाईंहरुकै भएँ ।’

अर्को गाउँ लाग्दै गर्दा युवाहरु साझाको पक्षमा आइरहेको रजनीले बताइन् । ‘म पनि त हिँजो अर्कै पार्टीमा थिएँ । यो पार्टी मेरो लागि होइन रहेछ भनेपछि साझा रोजेर राजनीतिमा होमिएकी हुँ,’ अर्को गाउँ छिर्दै गर्दा रजनीले भनिन्, ‘वर्षौंदेखि शासन गरिरहेको पार्टीको विकल्प जनताले खोजिरहेका छन् ।’

कृस्ति क्षेत्र तत्कालीन एमालेको वर्चश्व भएको क्षेत्र हो । अर्को गाउँ पुग्दा अधिकांशले यसअघि सूर्यमा नै भोट हालेको प्रतिक्रिया दिए । रजनी भन्थिन्, ‘हिँजो तपाईंहरुले जिताएर एउटा नेतालाई पठाउनु भयो । अहिले भ्रष्टाचार नगर्ने, सुसंस्कृत राजनीति गर्छु भनेर होमिएकी एक छोरीका नाममा भोट हाल्नुस् । म तपाईंहरुको भोटमाथि कहिल्यै अन्याय हुन दिन्नँ ।’

रजनीको प्रचारमा पुगेको टोलीले संविधान, विभिन्न तन्त्र भन्दाभन्दै लामो समय गुज्रिएको बताउँदै अब विकासका निम्ति राजनीतिक संस्कार परिवर्तन हुनुपर्ने घरदैलो गरिरहेका छन् । चुनावी अभियानको नेतृत्व गरिरहेका प्रदेश संयोजक महेश भण्डारी र जिल्ला संयोजक अर्जुन खनाल यो निर्वाचनले ठूला भनिएका दललाई पाठ सिकाउने बताउँछन् । एक सिटले अहिलेको सरकार र कांग्रेसलाई पनि केही फरक नपर्ने भएकाले आफ्नो पार्टीलाई भोट दिएर सन्देश दिन आग्रह गरिरहेका छन् ।

लामो समय कांग्रेसको राजनीति गरेर साझा प्रवेश गरेकी रजनी जनताको मन बदलिनेमा विश्वस्त देखिन्छिन् । नेपाल विद्यार्थी संघ, प्रजातान्त्रिक कर्मचारी युनियन र नेपाली कांग्रेसको राजनीति गरेकी रजनीले पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट अवकास लिएर साझाको उम्मेदवार बनेकी हुन् । उनकै प्रचारमा साझा संयोजक मिश्र लगायतका नेताले पोखरामा अड्डा जमाएका छन् । अलोकप्रिय सरकार र कमजोर प्रतिपक्षको वितृष्णाले मतदाताले साझालाई रोज्ने उनीहरुको दाबी छ ।

तर, कास्की क्षेत्र नम्बर २ बढी नेकपा र कांग्रेसकै प्रभाव क्षेत्र हो । नेकपाले दिवंगत मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई र कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

कतिपयले साझा र विवेकशीललाई एकअर्काको प्रतिस्पर्धीका रुपमा पनि हेरेका छन् । यसअघिको साझा विवेकशील अहिले टुक्रिएर बेग्लाबेग्लै उम्मेदवारका साथ चुनावी मैदानमा छन् । विवेकशील समर्थित जमुना पौडेल चुनावी मैदानमा छिन् ।

गएको निर्वाचनमा साझा विवेकशीलका उम्मेदवारले यो क्षेत्रबाट ८ सय ४३ मत ल्याउँदै तेस्रो भएको थियो । अहिले यो मत पनि दुई पार्टीमा बाँडिनेछ । कांग्रेसको राजनीति गरिरहेकी रजनीलाई भित्राएर उम्मेदवार बनाएपछि साझाले चुनाव जित्ने हुँकार गरिरहेको छ ।

दुवै पार्टीलाई मत आर्जनको वातावरण सिर्जना गरेर जित हाँसिल गर्नु चुनौतीको पहाड हो । तर, पनि साझा पार्टीका संयोजक भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा विवेकशीलसँग त हुँदै होइन, नेकपा र कांग्रेसँग पनि होइन । हामी पहिलो हुन्छौं, दोस्रो, तेस्रो को हुन्छ भन्न सकिन्न ।’

तस्वीरः सचिन मल्ल/जक्सन

 

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?