१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।
पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका थिए । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका थिए ।
तथापि, कसरी दुवै संगठनलाई एकतावद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताए ।
छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।
नेता जनार्दन शर्माले भने एकीकृत समाजवादीसँगको एकताको प्रस्तावमा फरक मत राख्दै एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो पार्टी केन्द्रीय समितिले दुई पटक मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। विचारको बहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको यो एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास हो।’
यो गलत हुने उनको आग्रह छ । अगाडि भन्छन्, ‘माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसपर्मण गर्ने प्रवृत्तिले हाम्रो पाटीको आधारभूत चरित्रलाई पूर्णरुपमा समाप्त गर्नेछ।’
तथापि, समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता नितान्त आवश्यक रहेको उल्लेख गर्दै उनले थपेका छन्, ‘तर म लगायत अन्य सहयोद्धा कमरेडहरूले उठाएका विषयहरूलाई बेवास्ता गर्दै, एकताका नाममा गर्न खोजिएको यो आत्मसमर्पणले पार्टीलाई बलियो होइन, अझ कमजोर बनाउनेछ।’
हालैको जेनजी विद्रोहले माग गरेको सुशासन, पारदर्शिता र नेतृत्वको हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साखलाई झन् गिराउनेछ र विसर्जनको दिशामा धकेल्ने नेता शर्माको भनाइ रहेको छ ।
यही निष्कर्षका आधारमा उनले एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई तत्काल स्थगन गर्न माग गरेका छन् ।
प्रतिक्रिया 4