१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन् ।
विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श गरिरहँदा शनिबार महामन्त्रीद्वय थापा र शर्मासँग प्रधानमन्त्री कार्कीले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
उनीहरूबीच दिउँसो ४ बजेदेखि करिब एक घण्टा छलफल चलेको थियो ।
छलफलका क्रममा निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । महामन्त्रीद्वयले आफ्नो पार्टी निर्वाचनमा जान प्रतिबद्ध रहेको बताएका थिए ।
‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ । अब चाँडै निर्णय पनि गर्छौं,’ गगन–विश्वले भनेको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ । एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस् । हामी पनि प्रयास गर्छौं ।’
उनीहरूले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरूसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए ।
जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूले राखेको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी थिइन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् ।
प्रतिक्रिया 4