Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठनः ९ मन्त्री बर्खास्त, ९ जना नियुक्त (सूचीसहित)

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

यस्तै ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बिहीबार विहान सपथग्रहण हुनेछ ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो

नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

समाजवादी पार्टीबाटै स्वास्थ्य राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादवलाई भने हटाइएको छ ।

रघुवीर, गोकर्ण र लालबाबुको मन्त्री पद गयो

प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

कोको भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।

रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । भट्ट प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदमा श्रम मन्त्री र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।

राज्यमन्त्रीमा तीन जनाको इन्ट्री

यस्तै माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री बिना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment