Comments Add Comment

सोनिकालाई पिङ खेलाउँदै पूर्वयुवराज पारस !

पूर्वयुवराज पारसले सोनिका नामकी युवतीलाई लिंगेपिङ खेलाइरहेको भिडियो युट्युवमा आएको छ । सम्भवतः यो भिडियो तिहारका बेला पोखरामा खिचिएको हुनुपर्छ ।

सोनिका आफैंले पारससँग विभिन्न समयमा पोखरादेखि मुक्तिनाथसम्म घुमघाम गर्दै भिडियो बनाएर युट्युवमा हालेकी हुन् । भिडियोले उनीहरुबीच झांगिएको अन्तरंग मित्रताको वयान गर्छन् । यसअघि उनीहरुको निकटताबारे गसिपहरु बनिरहेका थिए । सोनिकाले आफूहरुबीच असल मित्रता मात्र भएको बताउँदै आएकी छिन् ।

उत्तेजक अन्तरवार्ताहरु लिएर ‘हाइलाइट’मा आएकी युट्युवर सोनिकासँग पूर्वयुवराज पारस शाहको मित्रता गहिरो बन्दै जाँदा यो सार्वजनिक चर्चाको विषय बन्न थालेको छ । मिडियाका लागि ‘पेज थ्री कन्टेन्ट’ बनेका छन् उनीहरु । सोनिकाले राखेको भिडियोले यूट्युवमा लाखौं भ्यूज पाएका छन् ।

कतिपयले भन्ने गर्छन, पारस युवराजबाट सर्वसाधारण भइसके । उनको निजी जीवनबारे मिडियाले किन खोतल्नुपर्‍यो ? तर, पारस सर्वसाधारण मात्र होइनन् । उनी यो देशका पूर्वयुवराजधिराज हुन् । राजतन्त्र नढलेको भए भविश्यमा राजा बन्ने थिए । पूर्वराजपरिवारका सदस्यको गतिविधिमा आम जनता (पाठक) को अहिले पनि ठूलो चासो छ । जनचासोको विषयबारे सूचना दिनु, चर्चा गर्नु मिडियाकर्म नै हो ।

यति हुँदाहुँदै पनि पारस–सोनिका मित्रता यति चर्चायोग्य नहुन सक्थ्यो, यदि पारस विवाहित पुरुष र तीन सन्तानका पिता नभएको भए ।

पारस शाह थाइल्यान्डमा बस्दा लामो समय कन्निका चाइयासर्न नामकी थाई युवतीसँग लिभिङ टुगेदरमा थिए । उनी नेपाल आएपछि सम्भवतः कन्निकासँग सम्वन्ध टुटेको छ । पारस अब त सुध्रेलान् कि भन्ने आशा थियो उनका शुभेच्छुकहरुमा ।

उनी थाइल्याण्डबाट फर्केपछि केही समय विवादबाट टाढा पनि थिए । तर, फेरि ‘गति छाड्न’ थालेका छन् । युवतीहरुसँग पारसको हिमचिम उनका शुभेच्छुक र कट्टर राजावादीहरुको पाचनप्रणालीका लागि समेत हानिकारक छ ।

जीवन आफ्नो तरिकाले बाँच्ने छुट सबैलाई हुन्छ । आम नागरिकको जीवनयापन गर्न चाहनु पारसको स्वेच्छाको कुरा हो । उनले लामो कपाल पाल्दा शरीरमा ट्याटु खोप्दा, मोटरसाइकलमा डुल्दा, केटी साथी बनाउँदा कसैले औंलो ठड्याइरहनु आवश्यक छैन ।

पारसले हालै एउटा अन्तरवार्तामा भनेका छन्, ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्न केको लाज ?’ कुरा ठीक हो । उनले आफूमा सत्ताको लालसा नरहेको भन्दै अब साधुको जस्तो जीवन बिताउने इच्छा पनि व्यक्त गरेका छन् ।

‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमा समय बिताउँछु,’ पारसले भनेका छन् । ओके छ त ! चासो त केवल उनको सांस्कृतिक स्तरमा हो ।

भलै, एक साप्ताहिक पत्रिकामा सोनिकाले पारसलाई आफ्नो ‘अभिभावक’ बताएकी छन् । सो अन्तरवार्तामा उनले डान्स वारमा आफूले अरु केटाहरुसँग उछृङ्खल पाराले नाच्दा पारसले थप्पड हानेकोसमेत बताएकी छिन् ।

ती पारस, यी पारस

पारसको छवि पहिल्यैदेखि सङ्लो होइन । राजतन्त्रकालमा उनी एक उद्दण्ड व्यक्तिका रुपमा चिनिन्थे । तर, पहिले र अहिले उनको व्यक्तित्वमा आकास–पाताल फरक छ । युवराज छँदा उनको व्यक्तित्वमा जुन ठाँट, रवाफ र आकर्षण थियो, त्यसको नामोनिशाना अहिले भेटिँदैन । उनको उद्दण्डताले अहिले पनि बेलावखत फँणा उठाउन खोज्छ, तर हुलिया यति दयनीय बनेको छ कि दुश्मनमा पनि दया पलाउँछ ।

दुब्लो काया, जिङ्ग्रीङ लामो कपालमा उनी खाँट्टी गँजडी जस्ता देखिन्छन् । बीचको घटनाक्रम थाहा नहुने हो भने यी ‘दुखी आत्मा’ तीनै रवाफिला युवराज हुन् भनेर पत्याउनै गाह्रो पर्छ । त्यतिबेला कसले कल्पना गरेको थियो, हट्टाकट्टा पारसको यो जीर्ण रुप ?

अत्यधिक लागू औषध सेवन र रोगले गर्दा हुन सक्छ, उनको हुलिया मात्र होइन, आवाज समेत बिग्रिएको छ । सोनिकाले राखेको भिडियोमा फाट्टफुट्ट पारस बोलेको सुनिन्छ । उनको स्वर राम्ररी नबुझिने थोतेजस्तो भएको सुनिन्छ ।

को हुन् सोनिका ?

बझाङको सामान्य कृषक परिवारमा जन्मेकी सोनिकाले काठमाडौंको बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा पढेकी हुन् । ‘वाउ नेपाल’ नामक यूट्युव च्यानलमा उत्तेजक पहिरनमा अन्तरवार्ता लिएर उनी हाइलाइटमा आइन् । नाम (?) कमाएपछि उनले ‘वाउ नेपाल’ छोडिन् र ‘द सोनिका सो’ नाममा आफ्नै च्यानल चलाउँदै आएकी छिन् ।

अहिले उनी लिक्विड लाउञ्ज बारकी मालिक्नी पनि बनेकी छन् । सोही बारमा उनले पारसलाई पहिलोपटक निम्त्याएकी थिइन् ।

झण्डै तीन लाख सब्सक्राइबर रहेको आफ्नै च्यानलबाट पनि उत्तेजक अन्तरवार्ता र भिडियोहरु पोस्ट गरेकी छन् सोनिकाले ।

त्यसो त उनको च्यानलमा केही राम्रा सामाग्रीहरु पनि छन् । जस्तो कि, उनले हालै भारतको मुम्बईमा पुगेर प्रख्यात भारतीय कमेडियन कपिल शर्माको अन्तरवार्ता लिइन् । तर, आफ्नो राम्रो कामलाई मिडियाले हाइलाइट नगरेको उनको गुनासो छ ।

पछिल्लो भिडियोमा चाहिँ उनले आफू व्यापक सुध्रिएको भन्दै अब छोटा लुगा नलगाउने र छाडा अन्तरवार्ताहरु नलिने बताएकी छन् ।

‘म बिग्रिएर खत्तम भएकी रहेछु, अब सतिसावित्री बन्छु, मेरो नयाँ जीवन सुरु भयो,’ शब्द फरक भए पनि यो भिडियोमा उनको भाव यस्तै छ ।

यसअघि अनलाइनखबरसँगको एक अन्तरवार्तामा सोनिकाले पूर्वयुवराज पारसले आफूलाई सुधार्ने प्रयास गरिरहेको बताएकी थिइन् ।

विगतमा सोनिका आफूलाई समलिंगीका रुपमा चिनाउँथिन् । उनले आफू एक केटीसाथीसँग सम्वन्धमा रहेको ‘खुलासा’ समेत गरेकी थिइन् । अहिलेचाहिँ उनले आफूले त्यो फन्डा मात्रै गरेको भन्न थालेकी छन् ।

पारससँगको सम्वन्धमा सोनिकाको स्वार्थ के हो त ? यतिबेला पारससँग न पैसा छ, न पावर । उनीसित नजिकिएर सोनिकाले पाउने भनेको चर्चा मात्रै हो । र, सोनिकालाई जसरी हुन्छ चर्चा चाहिएको छ । गसिपको पात्र बन्नुपरेको छ । यसका लागि पारसलाई हतियार बनाएकी छिन् । पारससित विवाह गरेर घरजम गर्ने कुरा पक्कै उनको दिमागमा नहोला ।

हिमानी र छोराछोरी ?

पारस र हिमानीको सम्वन्ध बिग्रेको लामो समय भइसक्यो । भित्री कारण अरुलाई थाहा हुने कुरा भएन, तर बाहिरबाट हेर्दा सम्वन्ध बिग्रिनुमा सतप्रतिशत पारस नै दोषी देखिन्छन् । उनको बाह्य गतिविधि र सम्वन्धहरुले नै हिमानीलाई आजित बनाएको हुनुपर्ने धेरैको आँकलन छ । यद्यपि, कतिपय दरवार निकटस्थले चाहिँ हिमानीलाई घमण्डी र रिसाहा युवतीका रुपमा पनि चित्रित गर्छन् ।

भित्री स्वाभाव जे भए पनि हिमानीको सादगीपूर्ण व्यक्तित्व, परिवारप्रतिको जिम्मेवारीवहन र सामाजिक सेवाप्रतिको लगावका कारण उनीप्रति सम्पूर्ण नेपालीको सद्भाव छ । एउटा खराब सम्वन्धको जञ्जालभित्र लपेटिएर पारिवारिक जीवन तहस–नहस हुँदा पनि हिमानीको अनुहारको आभा उही छ । सार्वजनिकरुपमा प्रस्तुत हुँदा ओठमा मुस्कान टुटाउँदिनन् । अहिलेसम्म कहिल्यै कुनै विवादमा मुछिएकी छैनन् ।

हिमानीले आफ्ना तीनसन्तानलाई पनि असल आचरण र संस्कार दिएको प्रष्ट झल्किन्छ । छोरा हृदयेन्द्र अहिले १७ वर्षका भए । यो अल्लारे उमेरमा पनि उनी निकै सरल र शालीन देखिन्छन् । उनको शीरमा कहिल्यै नेपाली टोपी छुट्दैन । ‘हुन नसकेका राजा’ को सुकोमल अनुहार देख्दा एकप्रकारको करुणा जागृत हुन्छ ।

पारस–हिमानीकी जेठी छोरी पूर्णिका ठुली भइसकिन् । उनका फेसबुक स्टाटसहरुलाई आधार मान्ने हो पूर्णिका मानसिकरुपमा पनि परिपक्व बनिसकेको प्रतीत हुन्छ । उनका लेखनीहरुमा एकखालको बौद्धिक चेतना पाइन्छ । उनमा साहित्यक क्षमता पनि देखिएको छ ।

त्यसो त पारसले आफ्ना तीन सन्तानलाई निकै माया गर्छन् भनिन्छ । छोराछोरी पनि बाबु भनेपछि हुरुक्क नै हुन्छन् । आखिर कुन छोराछोरी बाबुको छत्रछायाँ चाहँदैनन् र ?

तर, यो उमेरमा पारसको आवारापनले ती छोराछोरीलाई पक्कै पनि नकारात्मक असर परिरहेको छ ।

सच्चिउन् पारस !

पारस पटक–पटक मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएका मुटुरोगी हुन् । खराब जीवनशैली र खानपानले गर्दा तीनपटक हृदयघातको शिकार भइसकेका छन् । थाइल्याण्डमा हृदयाघात हुँदा मृत्युको हल्लासमेत चलेको थियो । तर, बाँच्न सफल भए ।

एक हिसाबले नाफाको जिन्दगी हो यो पारसको । त्यसैले उनमा काम, क्रोध, लोभ, मोह धेरै नहुनुपर्ने हो । ४७ वर्षको अधवैंशे उमेरमा हिँडिरहेका उनले अब आफ्नो जीवनशैली र सोच बदल्नैपर्छ ।
तमाम कमी कमजोरीका बाबजुद पारस एक देशभक्त नागरिक हुन् । जस्तो कि एउटा भाइरल भएको भिडियोमा उनले आफ्ना सुभेच्छुकलाई भनेका छन्, ‘केको राजावादी ? हामी सबै नेपाली हो । फलानोवादी ढिस्कानोवादी नभन्नुस ।’ यो संवादले उनको फराकिलो दृष्टिकोण झल्किन्छ ।

‘उहाँको छवि बाहिरजस्तो छ, भित्र त्यस्तो हुनुहुन्न,’ एक पारस निकटस्थ भन्छन्, ‘सरल, सहयोगी र सहृदयी हुनुहुन्छ । देशभक्तिले ओतप्रोत हुनुहुन्छ ।’

देशभक्तिको भावनालाई नै मूलमन्त्र बनाएर पारस अघि बढ्न सक्छन् । आफ्नो अघिपछि लाग्ने जमातलाई सही मार्गदर्शन गर्न सक्छन् । राजतन्त्रको एजेन्डा लिएर राजनीति नै गर्छन् भने कसैले रोक्ने छैन ।

होइन, देशको बारेमा सोचेर टाउको दुखाउन चाहँदैनन् भने पनि पारसले कम्तिमा आफ्नो परिवारको बारेमा सोचुन् । बृद्धावस्थामा पुगेका बुवाआमाको बारेमा सोचुन् । एकातिर राजपाठ खोसिएर सर्वसधारणको जीवन बाँचिरहेका ज्ञानेन्द्र दम्पत्तिमा भएको एउटा छोराले पनि यसरी गति छाड्दा छाति कति चिरिदो हो ? हिमानीको बारेमा सोचुन् । भविष्यमा रानी भनेर दरबार भित्रिएकी बुहारीले आफ्नो श्रीमानलाई आफ्नो भन्न नपाउँदा कसरी सम्हालिएकी होलिन् ? छोराछोरीको बारेमा सोचनु् ,। उनीहरुलाई न्यानो अभिभावकत्व प्रदान गरुन् ।

आफ्नै बाबुको निर्मल निवास र सरकारले उपलब्ध गराएको नागार्जुन दरबार हुँदाहुँदै पारस अहिले अपार्टमेन्टमा एक्लै (?) बसिरहेका छन् । उनी आफैंले आफ्नो जिन्दगीलाई निराशाको दलदलमा फसाएका छन् । यो दलबलबाट बाहिर निस्कन कठिन छैन, यदि उनले आफूलाई सच्याउन चाहे भने । त्यसको सुरुवात उनले निर्मल निवासमा गई आफ्ना मातापिताको खुट्टा ढोगेर गरे भने छोराछोरीप्रति कुनै पनि बाबुआमाले पूर्वाग्रह राख्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment