
४ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहनेछन् ।
बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।
प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
उनले अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’
उनकाअनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।
सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर ओलीले सहमति जनाएका थिएनन् ।
बुधबार विहान भएको भेटमा भने सहमति जुट्यो । लगतै दुई अध्यक्ष राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेका थिए ।
त्यसपछि बसेको सचिवालय बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटबारे औपचारिक निर्णय नै गरेको छ ।
प्रतिक्रिया 4