+
+

वीरगञ्जमा विद्यार्थीलाई निःशुल्क प्राथमिक उपचार तालिम

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १७:००

२२ पुस, वीरगञ्ज । निःशुल्क प्राथमिक उपचार तालिम अभियान अन्तर्गत वीरगञ्जमा मंगलबार तालिम सञ्चालन गरिएको छ ।

वीरगञ्ज पानीट्याङ्कीस्थित वीरगञ्ज पब्लिक कलेजमा तालिमको आयोजना गरिएको संयोजनकर्ता शिवनाथ यादवले जानकारी दिए ।

‘मानव जीवनमा विभिन्न दुर्घटना, विपत्ति र रोगहरु आइलाग्छ, त्यसबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु पर्ने हुन सक्छ । त्यस्तो अवस्थामा बिरामीको अकालमै मृत्यु हुन पनि सक्छ,’ यादवले भने, ‘ तालिममा त्यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भनेर सिकाइएको छ ।’

तालिममा वीरगञ्जका विभिन्न कलेज, स्कुलमा अध्ययनरत १ सय जना भन्दा बढी युवा विद्यार्थी सहभागी भएका थिए ।

उनीहरुलाई बेहोस हुँदा, छारे रोग लाग्दा, अंगभंग भएमा, घाँटीमा केही अड्केमा, करेन्ट लाग्दा, सर्पले टोक्दा, रक्तश्राव हुँदा, आगोले पोल्दा, विष सेवन गरेको अवस्थामा, हृदयघात, किराको टोकाइ, दम, लु गर्मी लागेकामा, आघात, नाकबाट रगत बग्दा के कस्ता प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा सिकाइएको आयोजकले जनाएको छ ।

‘योगदान देश र जनताका लागि’ भन्ने नारा दिएर चितवन खैरनीका ओम उप्रेतीले यो अभियान सञ्चालन गरेका छन् । युएईमा डिस्कभरी रोयल स्पोर्टस एलएलसी कम्पनीका प्रवन्ध निर्देशक उप्रेती नै तालिमको मुख्य प्रशिक्षक हुन् ।

आफूले प्राथमिक उपचार तालिम सम्बन्धी अन्र्तराष्ट्रिय मान्यताप्राप्त लण्डन मुख्यालयमा रहेको हाईफिलबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको तालिम लिएको उप्रेती बताउँछन् ।

विदेशमा सिकेको सिप र ज्ञानलाई नेपाल र नेपालीमा निःशुल्क समर्पित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उप्रेतीको भनाइ छ । ‘हामीकहाँ प्राथमिक उपचारको अभावमा समेत मानिसको ज्यान जाने गरेको छ, त्यसबाट जोगाउन तालिम प्राप्त स्वयम् सेवक प्रशस्त हुनुपर्छ,’ उनले भने, ‘परदेशबाट पैसा मात्रै होईन, हामीले नयाँ सिप र प्रविधि भित्र्याउनुपर्छ भन्ने सोच मेरो हो ।’

०७४ चैत २ बाट सुुरु गरेको अभियान मार्फत देशभरी नै तालिम सञ्चालन गर्ने लक्ष्य उनले लिएका छन् । चार चरणमा ३८ वटा जिल्लामा तालिम सञ्चालन भइसकेको छ ।

पाँचौ चरणको अभियान पुस १६ गते प्रदेश नं २ को सप्तरीबाट सुरु गरिएको अभियान पुस २४ गते प्रदेश नं ३ को चितवनमा गएर सम्पन्न हुने डिस्कोभरी रोयल स्पोर्टस प्रालीले जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा दीपक शाक्यले आकस्मिक घटना दुर्घटना हुँदा प्राथमिक उपचार जानेको मान्छेले अकालमा मान्छे मर्नबाट जोगाउन सक्ने बताए ।

‘मानिस बिरामी हुन्छ तर बाँच्न आश राखेको हुन्छ । समयमा उपचार नपाउँदा मान्छेको ज्यान जान सक्छ,’ उनले भने, ‘घटना दुर्घटनाको समयमा स्वास्थ्य संस्थासम्म पुर्‍याउनुअघि प्राथमिक उपचार गरेर जोगाउन सकियो भन्ने मान्छे बाँच्ने सम्भावना बलियो हुन्छ । यस्ता तालिम लाभदायक छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?