+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
स्वास्थ्य :

कमल गौतमको निधनले दिएको चेतावनी : आपतकालमा के गर्ने ?

मानिसका लागि हरेक सेकेन्ड महत्वपूर्ण हुन्छ। कमल गौतमको दुखद निधन नेपालका लागि चेतावनी हो। हामीलाई बिद्धालय, कार्यस्थल र समुदायमा स्वास्थ्य शिक्षा र प्राथमिक उपचार तालिम अनिवार्य गर्नुपर्छ। अर्कोपटक यस्तो घटना हुँदा, फोन गोजीमै राखेर हात बढाऔं । किनकि जीवन बचाउनु सबैको जिम्मेवारी हो।

प्रा. डा. दीपराज थापा प्रा. डा. दीपराज थापा
२०८२ मंसिर १९ गते ११:५०

भैरहवामा २०२५ अक्टोबर २७ मा  भएको एक विरोध कार्यक्रममा नेकपा एमालेसम्वद्ध ट्रेड युनियन (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतम बेहोस भएर ढले। दृश्य अत्यन्तै भयावह थियो। मानिसहरू वरिपरि जम्मा भए, तर कसैले तुरुन्तै सहयोग गर्नुभन्दा भिडियो खिच्न थाले। अन्ततः गौतमलाई गाडीमा राखेर लैजाने प्रयास भयो । तर, त्यो एम्बुलेन्स थियो वा निजी गाडी, स्पष्ट छैन। महत्वपूर्ण मिनेटहरू गुमे। हजारौं मानिसको भीडमा कसैले पनि जीवन बचाउन आवश्यक कदम चाल्न सकेन। प्रश्न उठ्छ : हामीलाई के भयो ? स्वास्थ्य शिक्षा छैन या हामी केवल हेर्ने र खिच्ने संस्कृतिमा सीमित भयौं ?

दुर्भाग्यवश, यो एकमात्र घटना होइन। सामाजिक सञ्जालमा यस्ता धेरै उदाहरण छन् । दुर्घटनामा मानिसहरू रगत बगाउँछन्, तर रोक्ने सट्टा भिडियो खिचिन्छ । बेहोस व्यक्तिलाई अस्पताल लैजान हतार हुन्छ, तर श्वास र नाडी जाँच नगरी, जसले अमूल्य समय गुमाउँछ। हामीलाई सचेतना बढाउन र तुरुन्तै कदम चाल्न आवश्यक छ।

किन बेहोस हुन्छमानिस?

धेरै कारण हुन सक्छन्, तर मुख्य कारण यस्ता छन् :

अक्सिजनको कमी : हाम्रो मुटु र मस्तिष्कलाई निरन्तर अक्सिजन चाहिन्छ। अक्सिजन आपूर्ति रोकिएपछि २–३ मिनेटमै मस्तिष्क क्षति सुरु हुन्छ र ५ मिनेटपछि जीवन जोखिममा पर्छ। यसको मुख्य कारण हार्ट अट्याक हो, जब मुटुको धमनीमा रगतको थोप्ला जमेर रक्तप्रवाह रोकिन सक्छ  ।

रक्तचाप घट्नु (Hypotension) :अचानक रक्तचाप घट्दा मस्तिष्कमा अक्सिजन पुग्दैन र बेहोस हुन सकिन्छ  ।

मस्तिष्कसम्बन्धी समस्या : स्ट्रोक तब हुन्छ, जब मस्तिष्कको धमनीमा रगतको थोप्ला जम्छ। एपिलेप्सी वा ट्युमरले पनि बेहोस गराउन सक्छ।

मेटाबोलिक समस्या : मधुमेह र इन्सुलिनका कारण रक्तप्रवाह अत्यन्तै घट्दा बेहोस हुन सकिन्छ  तर विषाक्तता पनि कारण हुन सक्छ।

संक्रमण र एलर्जी : गम्भीर संक्रमण वा एलर्जिक प्रतिक्रिया भयो भने श्वास-प्रश्वासमा समस्या ल्याएर बेहोस गराउन सक्छ।

आघात र रक्तस्राव : शारीरिक चोट, विशेषगरी टाउकोमा चोट वा अत्यधिक रक्तस्रावले अक्सिजन आपूर्ति रोकिन सक्छ र मानिस बेहोस बन्न सक्छ  ।

यस लेखमा विशेष गरी मानिसहरु बेहोस भएका बेला, श्वासप्रश्वास रोकिएका बेला र मुटु रोकिएका बेला के गर्ने भनेर चर्चा गरिने छ ।

हरेक वर्ष हजारौं नेपालीले मुटु रोग वा स्ट्रोकका कारण ज्यान गुमाउँछन्। तपाईंले यस्ता घटना सुन्नुभएको होला- कोही बेलुकी सुत्यो र बिहान उठेन। कोही अचानक ढल्यो र मृत्यु भयो। देख्दा स्वस्थ देखिने व्यक्ति अचानक बित्यो।यी धेरै घटनाको कारकत्व हार्ट अट्याक हुन सक्छ।

किन यस्तो हुन्छ ?

उच्च रक्त्त्चाप भएमा मुटु रोकिने डर धेरै हुने गर्छ तर  धेरैलाई थाहा नै हुँदैन कि उनीहरूलाई उच्च रक्तचाप वा मुटु रोग छ। हाम्रा अंगहरू— जस्तै मुटु, कलेजो, मिर्गौला— धेरै बलिया हुन्छन् र धेरै बिरामी हुँदा पनि काम गरिरहन्छन्। तर, जब यी अंगहरू असफल हुन्छन्, प्रायः अचानक भएजस्तो गरी लक्षण देखा पर्छन्  ।

यदि तपाईं नियमितरूपमा डाक्टरकहाँ जानुहुन्न भने तपाईंलाई रोग थाहा पाउँदा ढिलो भइसकेको हुन्छ— उपचार सम्भव नहुने अवस्थामा, कहिलेकाहीँ प्रत्यारोपण मात्र विकल्प हुन्छ।

जब कोही बेहोस हुन्छन्, उनीहरूको मुटुको धड्कन बन्द भएको हुन सक्छ। त्यसैले तपाईंको छिटो कदमले जीवन र मृत्युबीचको फरक पार्न सक्छ। केही नगरे व्यक्ति मर्छ। छिटो कदम चाल्नुभयो भने तपाईंले जीवन बचाउन सक्नुहुन्छ।

के गर्ने ? चरणबद्ध मार्गदर्शन

पहिलो चरण– सुरक्षाको सुनिश्चितता : सहायता गर्नुअघि स्थान तपाईंका लागि सुरक्षित छ कि छैन हेर्नुहोस्। यदि दुर्घटनास्थलमा आगो, फुटेका सिसा वा अन्य खतरा छ भने पहिले वातावरण सुरक्षित बनाउनुहोस्। तपाईंको सुरक्षा पहिलो प्राथमिकता हो।

दोस्रो चरण- प्रतिक्रिया जाँच्नुहोस्। व्यक्तिको काँध समातेर हल्का हल्लाउनुहोस् ।चिच्याउनुहोस् – हेल्लो ? सुन्नुहुन्छ ? बोल्न सक्नुहुन्छ ?जीवनका संकेतहरु खोज्नुहोस्- सास फेर्नु, शरीर हल्लिनु, पसिना आउनु आदि।यदि प्रतिक्रिया छैन भने, तुरुन्त मद्दत माग्नुहोस् । वरिपरि चिच्याउनुहोस्। अरू छन् भने नेतृत्व लिनुहोस् । एकलाई एम्बुलेन्स बोलाउन भन्नुहोस्। अरूलाई सहयोग गर्न लगाउनुहोस्।

तेस्रो चरण : सास फेर्ने बाटो खोल्नुहोस् ।बेहोस हुँदा जिब्रोलगायत मांसपेशीहरू ढिला हुन्छन् र सास फेर्ने बाटो बन्द हुन सक्छ। एउटा हात बिरामीको निधारमा राख्नुहोस् र अर्को हात चिबुकमा। निधार तल झुकाएर चिबुक माथि उठाउनुहोस्। यसरी सास फेर्ने बाटो खुल्छ। सास जाँच्नुहोस् । कान मुख नजिक राखेर सुन्नुहोस्। छाती उठेको छ कि छैन हेर्नुहोस्। गालामा हावा महसुस गर्नुहोस्। मुखमा केही अवरोध देखिए सावधानीपूर्वक निकाल्नुहोस्। भित्र धकेल्नु हुँदैन।

चौथो चरण : यदि सामान्य सास फेर्दैछ भने -व्यक्तिलाई रिकभरी पोजिसनमा राख्नुहोस् । ब्यक्तिको एउटा खुट्टा मोड्नुहोस्। व्यक्तिलाई छेउमा साइड्पट्टी पल्टाउनुहोस्। टाउको पछाडि झुकाएर सास फेर्ने बाटो खुला राख्नुहोस्। एम्बुलेन्स आउँदासम्म साथ दिनुहोस् र कुरा गर्न प्रयास गर्नुहोस्।

पाचौं चरण : यदि सास फेर्दैन भने – तुरुन्त CPR सुरु गर्नुहोस् । CPR (कार्डियो पल्मोनरी रेससिटेसन) जीवन बचाउने प्रविधि हो, जसले मस्तिष्क र अंगहरूमा रगत र अक्सिजन पुर्याइराख्छ जबसम्म एम्बुलेन्स आउँदैन।

CPR गर्ने तरिका :

हातको स्थिति : एउटा हातको तल्लो भाग छातीको बीचमा (दुवै स्तनबीच) राख्नुहोस्। अर्को हात माथि राखेर औंलाहरू जालजस्तो पार्नुहोस्। कुहिनो सीधा राख्नुहोस् र काँध हातको माथि राख्नुहोस्।

छाती थिच्ने (Compressions) :बलियो र छिटो थिच्नुहोस् । प्रतिमिनेट १०० पटकदेखि १२० पटकसम्म । (गीत Stayin’ Alive को ताल सम्झनुहोस् रलगभग १ सेकेन्डमा दुइचोटि दबाउनुस् । प्रत्येक थिचाइपछि छाती उठ्न दिनुहोस्।

सास फेर्ने/भर्ने तरिका : ३० थिचाइपछि २ सास दिनुहोस्  । टाउको पछाडि झुकाउनुहोस्, चिउँडो उठाउनुहोस् । नाक थिच्नुहोस्, मुख आफ्नो मुखले ढाक्नुहोस् । १ सेकेन्ड फुक्नुहोस् जबसम्म छाती उठ्दैन । ३० थिचाइ + २ सासको चक्र दोहोर्‍याउनुहोस् । यदि तालिम छैन वा असजिलो लाग्छ भने हातमात्र प्रयोग गरेर CPR गर्नुहोस र छाती लगातार थिच्नुहोस् । सास नदिनोस् ।

जबसम्म व्यक्तिले सास फेर्दैन, या एम्बुलेन्स आइपुग्दैन र तपाईं अत्यधिक थाक्नुहुन्न, त्यतिबेलासम्म CPR रोक्नु हुँदैन । CPR जारी राख्न आवश्यक हुन्छ।

हार्ट स्टार्टर (डिफिब्रिलेटर) : को काम र प्रयोग गर्ने तरिका

हार्ट स्टार्टर मुटु नचल्ने अवस्थामा जीवन बचाउन सक्ने सबैभन्दा महत्त्वपूर्ण उपकरण हो। यो सबैलाई उपलब्ध हुनु जरुरी छ। प्रत्येक काममा, अफिसरुममा, गाउँमा, वडामा कम्तीमा एउटा हार्ट स्टार्टर हुनुपर्छ। CPR ले केही समय जीवन बचाउन मद्दत गर्छ तर मुटु फेरि चलाउन हार्ट स्टार्टर नै मुख्य उपकरण हो।

समाजका सबैले CPR गर्न र हार्ट स्टार्टर प्रयोग गर्न जान्नुपर्छ। यो ज्ञान अत्यावश्यक हो र नेपालजस्तो देशमा यो अझै महत्त्वपूर्ण छ । किनकि, मुटु र रक्तनलीका रोगहरू बढिरहेका छन् र मृत्युको प्रमुख कारण बनेका छन्।

हार्ट स्टार्टर, जसलाई डिफिब्रिलेटर वा AED भनिन्छ । यो यस्तो मेसिन हो, जसले मुटु अचानक रोकिँदा मानिसको ज्यान बचाउन सक्छ। जब मुटु रोक्छ, यो रगत पम्प गर्न बन्द गर्छ र काम गर्न छोड्छ। CPR ले केही समय रगत चलाइराख्छ तर मुटु फेरि चलाउन सक्दैन। हार्ट स्टार्टरले मुटुलाई सानो बिजुलीको झट्का दिन्छ, जसले मुटु फेरि सामान्यरूपमा धड्कन सुरु गर्न मद्दत गर्छ।

यो किन महत्त्वपूर्ण छ ? किनकि यदि मुटु छिट्टै सुरु भएन भने मानिसको मृत्यु हुन्छ। प्रत्येक मिनेट ढिलो गर्दा बच्ने सम्भावना घट्छ। यदि हार्ट स्टार्टर पहिलो केही मिनेटमै प्रयोग गरियो भने बच्ने सम्भावना धेरै बढ्छ।

हार्ट स्टार्टर प्रयोग गर्न सजिलो छ। पहिले मेसिन अन गर्नुहोस्। मेसिनले तपाईंलाई बोल्दै निर्देशन दिन्छ। व्यक्तिको छातीबाट कपडा हटाउनुहोस् र छाती सुक्खा बनाउनुहोस्। मेसिनसँग दुईवटा स्टिकर हुन्छन् जसमा चित्र देखाइएको हुन्छ—एक स्टिकर दाहिने छातीमा राख्नुहोस् र अर्को बायाँ छातीको तल राख्नुहोस्। स्टिकर राखेपछि मेसिनले मुटु जाँच्छ। जाँच गर्दा व्यक्तिलाई नछुनुहोस्। यदि मेसिनले “शक दिनुहोस्” भने, बटन थिच्नुहोस्। त्यसपछि तुरुन्त CPR सुरु गर्नुहोस्, जबसम्म मेसिनले फेरि निर्देशन दिँदैन वा एम्बुलेन्स आउँदैन।

तर, मेसिन खोज्दा CPR सुरु गर्न ढिलाइ नगर्नुहोस् । तुरुन्त CPR सुरु गर्नुहोस् र अरूलाई मेसिन ल्याउन भन्नुहोस्। मेसिनले झट्का दिँदा व्यक्तिलाई नछुनुहोस्। धातुका वस्तु वा औषधिको स्टिकर भएको ठाउँमा स्टिकर नराख्नुहोस् । औषधिको स्टिकर हटाउनुहोस्। पानीमा मेसिन प्रयोग नगर्नुहोस् । व्यक्तिलाई सुक्खा ठाउँमा सार्नुहोस्।

हार्ट स्टार्टर सबैका लागि सुरक्षित र सजिलो बनाइएको छ। तपाईं डाक्टर, नर्स या स्वास्थ्यकर्मी  नभए पनि प्रयोग गर्न सक्नुहुन्छ। मेसिनले तपाईंलाई बोल्दै सिकाउँछ, त्यसैले शान्त रहनुहोस् र निर्देशन पालना गर्नुहोस्।

हार्ट स्टार्टर र CPR सँगै प्रयोग गर्दा बच्ने सम्भावना सबैभन्दा बढी हुन्छ। यही कारणले यो कुरा सिक्नु धेरै महत्त्वपूर्ण छ । यो ज्ञानले तपाईंलाई जीवन बचाउने व्यक्ति बनाउन सक्छ।

तपाईंको छिटो प्रतिक्रियाले जीवन बचाउन सक्छ। केही मिनेटमै कदम चाल्दा मृत्यु र जीवनबीचको फरक पार्न सकिन्छ। यी चरणहरू सम्झनुहोस् र तयार रहनुहोस्।

मानिसका लागिहरेक सेकेन्ड महत्वपूर्ण हुन्छ। कमल गौतमको दुखद निधन नेपालका लागि चेतावनी हो। हामीलाई बिद्धालय, कार्यस्थल र समुदायमा स्वास्थ्य शिक्षा र प्राथमिक उपचार तालिम अनिवार्य गर्नुपर्छ। अर्कोपटक यस्तो घटना हुँदा, फोन गोजीमै राखेर हात बढाऔं । किनकि जीवन बचाउनु सबैको जिम्मेवारी हो।

(प्रा.डा. एवं अनुसन्धानकर्ता थापा हाल स्वीडेनका विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनी नेपालस्थित अनुसन्धानात्मक संस्था निरी नेपालका बोर्ड मेम्बर र युरोपस्थित सोसाइटी अफ नेपलिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपका सह-अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?