+

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि, एपीएफले बंगलादेशी क्लब नसरिनसँग खेल्ने

२०८२ मंसिर  १९ गते ११:४१ २०८२ मंसिर १९ गते ११:४१
साफ महिला क्लब च्याम्पियनसिप आजदेखि, एपीएफले बंगलादेशी क्लब नसरिनसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण १९ मंसिरदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ।
  • नेपालको एपीएफ एफसीले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ भने भुटान र पाकिस्तानका टोलीले पनि खेल्नेछन्।
  • प्रतियोगिताका सबै खेल हिमालयन टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ र पाँच दक्षिण एसियाली राष्ट्रका क्लब सहभागी छन्।

१९ मंसिर, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यस प्रतियोगितामार्फत दक्षिण एसियाली फुटबलमा नयाँ अध्यायको सुरुवात हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने च्याम्पियनसिपमा आज पहिलो दिन दुई खेल हुँदैछ । पहिलो खेल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडेजि एफसी र पाकिस्तानको कराची एफसीबीच दिउँसो २ बजे सुरु हुनेछ ।

यस्तै नेपालको लिग च्याम्पियन एपीएफ एफसीले साँझ ६ बजे सुरु हुने खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ अनिता बस्नेतको कप्तानीमा खेल्दैछ भने सन्जिदा अख्तरले नसरिन एकेडेमीको कप्तानी गर्नेछिन् ।

पहिलो पटक हुन लागेको साफ महिला क्लब च्याम्पियनपमा नेपालबाट एपीएफ क्लबसहित दक्षिण एसियाका ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

माल्दिभ्स र श्रीलंका बाहेक दक्षिण एसियाका बाँकी पाँच राष्ट्रको महिला लिग च्याम्पियन क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । एपीएल नेपालको महिला लिग च्याम्पियनसिपको हैसियतामा साफ क्लब महिला च्याम्पियनसिपको लागि छनोट भएको छ ।

बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा सहभागि टोलीका कप्तान र प्रशिक्षकले च्याम्पियनसिपका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता आफ्नै घरेलु मैदानमा खेल्न पाउँदा एपीएफ क्लबका कप्तान अनिता बस्नेतले उत्साही रहेको बताएकी छिन् । उनले राम्रो प्रदर्शन गर्दै नतिजा ल्याउन प्रयास गर्ने बताइन् । ‘पहिले त हामी एकदमै धेरै एक्साइटेड छौँ । यो प्रतियोगिता पहिलो पटक भइरहेको छ र त्यो पनि घरेलु मैदानमा हुँदैछ । एपीएफ क्लबले खेल्दैछ। त्यसैले सबै टिम भोली खेल्नलाई उत्साहित छन्’ अनिताले बिहीबार बयोजित प्रि म्याच कन्फेरेन्समा भनिन् ।

यस्तै कप्तान अनिताले एपीएफले राम्रो खेलेमा उपाधि जित्ने सम्भावना रहेको बताइन् । नेपालका तीन चर्चित खेलाडी सावित्रा भण्डारी, प्रीति राई र एन्जिला तुम्बापो सुब्बा विदेशी क्लबमा खेलिरहेकोले एपीएफको टिममा छैनन।

एपीएफमा भर्खरै इन्डोनेसियामा थ्री नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलेर आएका राष्ट्रिय टिमका खेलाडीको वर्चस्व छ । एपीएफले नेपाल पुलिस क्लबकी डिफेण्डर पुजा राना र युवा फरवार्ड मिना देउबा सँगै त्रिभुवन आर्मी क्लबकी डिफेण्डर विमला विकलाई यस प्रतियोगिताको लागि भित्र्याएको छ । तीनै जना राष्ट्रिय टिमका खेलाडी हुन् ।

यस्तै गोलकिपिङमा राष्ट्रिय टिमकी अन्जना मगर छन् भने सावित्री किसन र लिला जोशी अन्य गोलकिपरमा छन् । डिफेन्समा गीता पुजा र विमला बाहेक राष्ट्रिय टिमकै हिरा कुमारी भुजेल, निशा थोकर, सजनी थोकर, मनमाया दमाई र प्रतिक्षा र चौधरी छन् ।

मिडफिल्डमा कप्तान अनिता बस्नेत सहित रेनुका नगरकोटे, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल छन् । यस बाहेक हिमा रावत र रोशनी बोहोरो क्षेत्री छन् । फरवार्डमा रश्मि कुमारी घिसिङ, मिना देउबा, अनिता केसी, कुसुम खतिवडा र शोभा कुमारी प्रधान छन् ।

नसरिन स्पोर्ट्स एकेडेमी पछिल्लो पटक भएको बंगलादेश महिला फुटबल लिगको विजेता टिम हो । च्याम्पियन टिमको हैसियतामा नसरिनले साफ क्लब महिला च्याम्पियनसिप खेल्न लागेको हो ।

यस टिममा बंगलादेशको राष्ट्रिय टिमबाट खेलिसकेका सन्जिला अख्तरको कप्तानीमा खेल्दैछ । यो टिममा राष्ट्रिय टिमबाट खेलिसकेका यू-२० टिमका खेलाडीहरु धेरै छन् ।

च्याम्पियनसिपको समुपूर्ण खेलहरु हिमालयन टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ ।

साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय