Comments Add Comment

कारोनाबाट बच्न यस्तो छ सुदूरपश्चिममा तयारी

११ चैत्र, डोटी । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वनै त्रसित भएका बेला सुदूरपश्चिम प्रदेशमा यसको संक्रमण हुन नदिन तयारी व्यापक बनाएको छ ।

प्रदेशका नौ वटै जिल्लाले आ-आफ्नो तयारी गरेको जिल्ला प्रशासन कार्यालयहरुले जानकारी दिएका छन् । बाजुराका पाँच स्थानमा हेल्थडेस्क स्थापना भएका छन् । सबै स्थानीय तहहरुले हेल्थ डेस्क राख्दै छन् ।

जिल्ला अस्पताल बाजुरामा तीन वटा आइसोलेसन बेड तयार गरिएका छन्, २० वटा थप्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो ११ बजेदेखि ३ बजेसम्म चार घण्टा जिल्ला भरी बन्द गर्ने निर्णय गरेको छ ।

बझाङ्गको स्याडी, जिल्ला अस्पताल, धुली र सदरमुकाममा रहेको बसपार्कलगायतका स्थानहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

मंलगबारदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ६ आइसोलेसन बेड तयार भएका छन भने १९ बेड फेरि तयार हुँदैछन् । बझाङ्गले पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको छ ।

दार्चुला जिल्लाले भारतसँग जोडिएका सबै सीमा नाकाहरु बन्द गरेको छ । सोमबार पाँच बजेदेखि जिल्लामा लकडाउन गरिएको छ । औषधि, तरकारी, खाद्यान्न जस्ता दैनिक उपभोग्य बस्तुहरुको ढुवानी गर्ने साधनहरु खुल्ला गरिएको छ ।

मालबहाक गाडी जिल्ला भित्रिएपछि चालक र सहचालकको अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएको छ । जिल्लाले अत्यावश्यकीय उपभोग्य बस्तुहरुको खरिद गर्न बिहान ७ बजेदेखि १० बजेसम्म बजार खोल्ने निर्णय गरेको छ । जिल्लाका १५ स्थानमा हेल्थडेस्क स्थाना भएका छन् ।

बैतडीमा पनि मंगलबार बिहानदेखि लकडाउन गरिएको छ । भारतीय सीमा नाकाहरु बन्द गरिएका छन् ।

जिल्ला सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिकाले तीन सय पाँच वेडको क्वारेन्टाइन स्थापना गर्ने काम अगाडि बढाएको छ । जिल्लामा १२ आइसोलेसन वेडहरु तयार गरिएका छन् । ११ स्थानमा हेल्थडेस्कहरु छन् ।

अछाममा पनि मंगलबारदेखि लकडाउन गरिएको छ । जिल्लामा चार स्थानमा हेल्थ डेस्कहरु रहेका छन् भने १० वटै स्थानीय तहहरुले पनि हेल्थ डेस्क राख्ने तयारी गरेका छन् ।

जिल्लाभित्रको सार्वजनिक यातायत पूरै बन्द छ । जिल्लामा १४ वटा आइसोलेसन बेड राखिएको छन् । सेल्फ क्वारेन्टाइनका लागि सबैसँग जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । अछामका विभिन्न स्थानमा हुने चैते दशैं कार्यक्रमहरु स्थगन गर्ने निर्णय भएको छ । चैते अष्ठमीमा पशु बलि हुने छैन ।

डडेल्धुरामा चैत्र २ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १८ बुँदे स्वास्थ्य कार्ययोजना तयार गरी सबै स्थानीय तहलाई सो अनुसार तयारी गर्न पत्राचार गरेको छ ।

डडेल्धुरा अस्पतालमा ११ वटा आइसोलेसन बेड तयार गरिएका छन् । आवश्यक परे थप्न सकिने गरी पूर्वतयारी गरिएको छ ।
साविकको अपि अस्पतालको खाली भवनलाई क्वारेण्टाईनका लागि सरसफाइ गरेर राखिएको छ । मंगलबारदेखि डडेल्धुरामा लकडाउन छ । मुख्य मुख्य स्थानहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

कैलालीबाट हालसम्म संकास्पद १० जनाको स्वाब परीक्षणका लागि टेकु पठाएइको छ । हालसम्म पठाइएका १० जनामै संक्रमण देखिएको छैन ।

बसपार्क, अत्तरीया, एयरपोर्ट, सिमा नाका, सेती प्रादेशिक अस्पताल र स्थानीय तहहरुले हेल्थ डेस्क राखेका छन् । हालसम्म सातवटा आइसोलेसन बेड तयार गरिएका छन्, थप आइसोलेसन बेड तयार गरिँदैछ ।

प्रदेश सरकारले क्वारेन्टाइन स्थापना गरेको छ । भन्सारमा तीन बेडको क्वारेन्टाइन तयार गरिएको छ भने एक एम्बुलेन्स २४सै घण्टा तयारी अवस्थामा छ । जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो दुई बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

कञ्चनपुर जिल्लाले महाकाली अस्पतालमा आइसोलेसन बेड तयार गरिएको छ । जिल्लाले एक सय बेडको क्वारेन्टाइनको तयारी गरेको छ ।

नेपाली सेनाले क्वारेन्टाइन तयार गर्दैछ । जिल्लाले एम्बुलेन्सहरु तयारी अवस्थामा राखेको छ । आइतबार रातिदेखि जिल्लामा लकडाउन गरिएको छ । सीमा नाकाहरु सवै वन्द गरिएका छन् ।

जिल्लामा स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र थर्मल गनको अभाव रहेको छ । मुख्य/मुख्य स्थानहरुमा र स्थानीय तहहरुमा हेल्थडेस्क स्थापना गरिएको छ ।

डोटीमा मंगलबार १० बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हालसम्म ११ वटा आइसोलेसन बेड तयार गरिएको छ ।
क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाले पहल गर्दै छन् । जिल्लाका १० स्थानहरुमा हेल्थडेस्क स्थापना गरिएको छ ।

सायल, बोगटान फुड्सिल, पूर्वीचौकी, आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाले आपतकालीन कोषको व्यवस्था गरेका छन् ।

बजारमा मास्कको अभाव देखिएपछि दिपायल सिलगढी नगरपालिकाले ५० हजार मास्क तयार गरी नगरवासीलाई निःशुल्क वितरण गर्ने तयारी गरेको छ ।

जिल्लामा रहेका सवै एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । स्थानीय तहहरुले क्वारेन्टाइनको तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment