Comments Add Comment

नेपालको कोरोना पुष्टिमा भियतनाम कनेक्सन

१० चैत, काठमाडौं । फ्रान्सबाट आएकी १९ वर्षीया एक नेपाली युवती चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिइन् ।

फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आइपुगेकी उनको विमानस्थलको हेल्थ डेस्कमा ज्वरो नापियो । तर १००.४ डिग्री भन्दा माथि ज्वरो नभएपछि उनी घर पुगिन् ।

घर आएको दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो ।’

साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् ।

अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् ।

आइतबार राति रिपोर्ट आयो, पोजेटिभ ।

भियतनामको साथीलाई जस्तै उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुले स्वास्थ्य मन्त्रालय र टेकु अस्पताललाई उनी कोरोना संक्रमित भएको जानकारी गराउँदा रातको साढे १० बजेको थियो ।

लगत्तै अस्पतालले उनलाई सम्पर्क गर्‍यो, र अस्पताल भर्ना गरेर उनलाई अहिले आइसोलेसन वार्डमा राखियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागरराज भण्डारीका अनुसार उनका परिवार मेडिकल पृष्ठभूमिका भएका कारण सचेत थिए । संक्रमण फैलिएको देशबाट आएको हुनाले उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको पनि नमुना संकलन गर्ने तयारी भइरहेको छ ।

तर संक्रमित युवती नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले क-कसलाई भेटिन् भन्ने पहिचान भइसकेको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन्, ‘होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहनुभएकाहरुलाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम अगाडि बढेको छ । सँगै आएको र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुबारे पनि खोजी गरेर हामी त्यही दायराभित्र ल्याउने खालको व्यहोरा पनि म सूचित गर्न चाहन्छु ।’

यो पनि पढ्नुहोस ‘उहाँ १९ वर्षे महिला हुनुहुन्छ, सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्छौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment