Comments Add Comment

राजमार्गमा घाँसदाउरा, विराटनगर ‘लकडाउन’

११ चैत, विराटनगर । सरकारले एकसाताका लागि गरेको ‘लकडाउन’को प्रभाव प्रदेश १ मा पनि परेको छ । मंगलबार बिहान मोरङको पथरीदेखि विराटनगरसम्मको स्थिति अनुगमन गर्दा पूर्वपश्चिम राजमार्ग खाली देखियो । गाउँसँग जोडिएको राजमार्गमा घाँसका भारी बोक्ने किसान भेटिए ।

पूर्व-पश्चिम राजमार्गसँग जोडिएका मोरङका विराटचोक, बेलबारी, कानेपोखरी, पथरी र उर्लाबारी क्षेत्रमा लकडाउनको पूर्ण प्रभाव देखिएको छ । प्रहरीले राजमार्ग क्षेत्रका विभिन्न स्थानमा चेकजाँच गरी आवत-जावतमा कडाइ गरेको छ ।

सोमबार काठमाडौंमा एकजना १९ वर्षकी युवतीमा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगर पूरै ‘लकडाउन’

विराटनगर बजारलाई लकडाउन गरिएको छ । बजार क्षेत्रका विभिन्न चौक र गल्लीमा प्रहरी परिचालन गरिएको छ ।

विराटनगर महानगरमा बुधबार बिहानैदेखि अति आवश्यक बाहेकका सबै पसल, कल कारखाना र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बजारमा मानिसहरुको आवत-जावत न्यून छ । फाटफुट रुपमा मोटरसाइकल र गाडीहरु चलेका छन् । अति आवश्यक बस्तुहरु ढुवानी गर्ने सवारी साधान, एम्बुलेन्स र जिल्ला प्रशासनबाट अनुमति लिएका प्रेसपास भएका सवारी साधन एवं स्वास्थ्यकर्मीका सवारी साधनलाई मात्र चल्न दिइएको छ ।

मोरङ्गका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउन मात्र पाइने भएकाले अन्य गतिविधिका लागि प्रयोगमा आउने सवारी साधानलाई सञ्चालनमा पूर्ण रोक लगाइएको बताए ।

उनले यो अवधिमा मानिसहरुलाई घर बाहिर ननिस्किन सबैमा आग्रह गरे । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने भएकाले त्यसको उल्लंघन नगर्न अधिकारीले सुचित गरे ।

मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लकडाउनका बेला स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउने बताए । त्यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट हुने उनले स्पष्ट पारे ।

प्रजिअ भुजेलले पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको र सो अनुसार आवागमनमा कुनै रोक नभएको बताए ।

सरकारले लकडाउनका बेलामा अति आवश्यक बस्तु इन्धन र ग्यँासका डिल खुल्ला रहने बताए पनि मोरङ्गमा भने ग्यासका अधिकांश डिलर र पेट्रोल पम्पसमेत बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment