Comments Add Comment

भुटानबाट नसिकेको शिक्षा : कोरोना संक्रमण भेटिएपछि के-के गर्नुपर्थ्यो ?

१० चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण भएको घोषणा गर्‍यो । यो खबर धेरैका लागि ‘सरप्राइज’ थियो ।

तर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अधिकारीलाई भने उनी संक्रमित हुन सक्ने पूर्वअनुमान थियो । चैत ४ गते नेपाल आइपुगेकी उनले गत बिहीबार नै आफूलाई कोरोना संक्रमणको आशंका गर्दै केन्द्रका निर्देशक सागरराज भण्डारीलाई फोन गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘म र एक भियतनामी साथी प्लेनमा सँगै फ्रान्सदेखि कतारसम्म आएका थियौं । भियतनाम गएर जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएछ ।’

युवतीको कुरा सुनेपछि भण्डारीले तत्काल अस्पताल आएर आइसोलेसनमा बस्न र (थुक) स्वाबको नमुना संकलन गरेर ल्याबमा पठाउन सुझाए ।

युवती भोलिपल्ट मात्र अस्पताल पुगिन् । स्वाबको नमुना दिएर पनि आइसोलेसनमा बसिनन्, पुनः घर फर्किन् । उनलाई संक्रमण हुनसक्ने सम्भावना भए पनि न त अस्पतालले उनलाई रोक्न सक्यो न कसैले ‘ट्राभल हिस्ट्री’ खोज्यो ।

आइतबारसम्म सबै ढुक्कले बसे ।

आइतबार राति साढे १० बजेतिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनलाई कोरोना संक्रमण भएको रिपोर्ट दियो । युवतीलाई अस्पताल ल्याएर आइसोलेसन वार्डमा भर्ना गरियो ।

भोलिपल्ट सोमबार दिउँसो १२ बजेतिर स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्ति भेटिएको बतायो ।

त्यस बेलासम्म संक्रमण पुष्टि भएको करिव १४ घण्टा कटिसकेको थियो तर मन्त्री  र अरु अधिकारीले संक्रमित भएका व्यक्तिले नेपाल आएपछि ‘फ्रन्ट फेस’मा ककसलाई भेटे, उनीहरु कहाँ छन् भन्ने कुनै जानकारी दिन सकेनन् ।

कतिसम्म भने संक्रमितको परिवारका कति सदस्यलाई आइसोलेसनमा राखिएको छसमेत भनिएको छैन । यसबारे सोध्दा स्वास्थ्यमन्त्री ढकालले प्रष्ट जवाफ दिएनन् ।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘उहाँहरुको परिवार र होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम हिजोबाटै अगाडि बढाएका छौं । साथै उहाँसँगै आएका र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुको बारेमा पनि खोजी गरेर हामी त्यही दायराभित्र ल्याउनेखालको व्यहोरा पनि म सूचित गर्न चाहन्छु ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार साँझै फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबर मन्त्रालयलाई दिइएको थियो ।

यदि सरकारले तदारुकता देखाएको भए यो अवधिमा परिवारका सदस्यलाई आइसोलेसनमा राखिसक्नुपर्ने हो । युवती चढेको फ्लाइटमा रहेका सबै व्यक्ति, उनको विमानस्थलमा स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीको समेत पहिचान गर्नुपर्ने हो । संक्रमित युवती विमानस्थलबाट घरसम्म कसरी पुगिन्, त्यसक्रममा को कोसँग ‘फ्रन्ट लाइन’मा भेट भयो, उनीहरुको पनि खोजी गर्नुपर्ने हो ।

तर अहिलेसम्म संक्रमित युवतीको परिवारका सदस्यहरू न त आइसोलेटेड गरिएका छन्, न नमुना परीक्षण नै ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘उहाँहरुलाई होम क्वारेन्टाइन बस्न भनेका छौं । उहाँहरुले आफैं नियमित ज्वरो जाँच्नु हुन्छ र केही समस्या भए अस्पताल आउनुस् भनेका छौं ।’

कोरोनाको लक्षण देखियो भने मात्र परिवारका सदस्यको नमुना परीक्षण गर्ने उनले बताए ।

यस्तै युवतीले यात्रा गरेको विमानमा को को थिए भन्ने जानकारीसमेत नमागिएको अध्यागमन विभाग स्रोत बताउँछ ।

यसबारे प्रश्न गर्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा भन्छन्, ‘हामी खोजी गरिरहेका छौं ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस संक्रमण भएको व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबै जना संक्रमणको उच्च जोखिममा पर्छन् । संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा २ देखि १४ दिनभित्रमा संक्रमण देखिनसक्छ र, लक्षण नदेखिएकामा पनि कोरोना संक्रमण देखिनसक्छ ।

यो पनि पढ्नुहोस नेपालको कोरोना पुष्टिमा भियतनाम कनेक्सन

के गर्न सकिन्थ्यो ?

जनस्वास्थ्यका विज्ञहरुका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा राख्नुपर्छ । यो केसमा त संक्रमित युवती स्वयंले विमानमा सँगै आएका भियतनामका साथीलाई कोरोना संक्रमण भएको पुष्टि भएको बताएकाले उनलाई तत्काल आइसोलसनमा राख्नुबाहेक अर्को उपाय थिएन ।

साथै नेपाल आएर उनले कोकोसँग भेट गरिन्, उनी सवार फ्लाइटमा को को थिए, उनीहरु सबैको खोजी गरेर क्वारेन्टाइन वा आइसोलेसनमा राख्न रिपोर्ट गर्नु जरुरी थियो ।

एक जनस्वास्थ्य विज्ञकाअनुसार स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि भएकी युवती आएको फ्लाइट नम्बर सार्वजानिक गरेर त्यसमा सवार सबै यात्रुलाई तत्काल होम क्वारेन्टाइनमा बस्न निर्देशन वा तत्काल अस्पताल आउन भन्न सक्थ्यो । यसले यदि अरुमा कोरोना संक्रमण भएको रहेछ भने समुदायमा फैलिनबाट जोगाउँथ्यो । तर त्यसो गरिएन ।

जनस्वास्थ्य विज्ञहरु भन्छन् ‘सरकारले संक्रमित युवतीको प्रत्यक्ष सम्पर्कमा कोको थिए, उनीहरुको तत्काल पहिचान गर्न सकिएन भने अवस्था भयानक हुन पनि सक्छ ।’

भुटानबाट नसिकेको शिक्षा

डिसेम्बरको अन्त्यमा चीनको वुहावबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । धेरै देशहरुले पूर्वतयारीको समय नपाउँदा भयावह अवस्थाको सामना गर्नु परेको छ ।

देखिएको एउटा संक्रमण नियन्त्रणमा आउनु र त्यसपछि अर्को नदेखिनुलाई यो महामारी रोकथामका लागि नेपालले पूर्व तयारी गर्न पाएको अवसर मानिएको थियो ।

सरकारले उच्चस्तरीय संयन्त्र बनाएर सीमा नाका बन्दसम्मको निर्णय पनि गरेको छ ।

तर संक्रमण देखियो भने के गर्ने भन्ने हकमा तयारी नभएको यो घटनाबाट प्रष्ट भएको छ । संक्रमण देखिएको एक दिनभरमा समेत उसको ट्राभल हिस्ट्री लिएर जोखिममा रहेका मानिसहरुलाई आइसोलेसनमा राख्न सकिएको छैन ।

दक्षिण एसियाली देश भुटानले एउटा उदाहरण नै बनाएको छ, त्यसबाट पनि शिक्षा लिएको देखिएन ।

भुटानमा ६ मार्चमा एक अमेरिकी नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको ७/८ घन्टामा भुटानले संक्रमित व्यक्ति कहाँ कहाँ पुगे, क कसलाई भेटे, सबैको ट्रेसिङ गरेर क्वारेन्टाइनमा राख्न सफल भएको थियो । सरकारी अधिकारीहरुले गरेको यो सबै कामको अनुगमन राजा आफैंले गरेका थिए, प्रधानमन्त्री डा. लोटे छिरिङ आफैं रातभर खटेर काम गरेका थिए ।

त्यसको परिणाम छोटो समयमा संक्रमित व्यक्तिको सबै ट्राभल हिस्ट्रीमात्र पत्ता लागेन, सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा राख्न सफल भएको थियो । र, प्रधानमन्त्री आफैं सरकारी रेडियोमा पुगेर त्यसको बेलिविस्तार लगाउन सफल भए ।

तर नेपालमा कोरोना संक्रमण भएको पुष्टि भएको १४ घन्टापछि पत्रकार सम्मेलन गरेका स्वास्थ्यमन्त्री र मन्त्रालयले न संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री दिन सके, न अहिलेसम्म कति जनाको पहिचान गरियो भनेर संख्या नै भन्न सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment