+
+
Shares

जसले गर्दैछन् ४६२ किलोमिटर साइकल यात्रा गरी क्यान्सर रोगी बालबालिकालाई सहयोग

सापेक्ष सापेक्ष
२०८२ कात्तिक १० गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनका समिरले ११ कात्तिकदेखि मुस्ताङको लोमान्थाङसम्म ४६२ किलोमिटर साइकल यात्रा गर्दै क्यान्सर पीडित बालबालिकाको लागि एक हजार डलर संकलन गर्ने योजना बनाएका छन्।
  • समिरले २०६२/६३ सालमा ‘दीर्घजीवी भोलेन्टियर ग्रुप’ नामक संस्था स्थापना गरी बालकल्याणमा काम गरिरहेका छन्।
  • यात्रामा ‘भिगन हाउस’ का कल्याण सिलुवालले फुड र लजिस्टिक सहयोग गर्नेछन् भने काठमाडौं बाइक स्टेसनले प्राविधिक सहयोग गर्नेछ।

घटना दु:खदायी छ । तर त्यसपछि उनले बाइकको सट्टा साइकल रोजे । आज त्यही साइकलले उनलाई नाम दिएको छ । केही हदसम्म दाम दिएको छ । त्योभन्दा बढी उनले समाज सेवा गर्न पाएका छन् । जुन उनको मनको काम हो ।

घर चितवन । तर, लामोसमयदेखि काठमाडौंमै बसाइ । रहर साइकल चलाउने । अनि त्यही साइकल चढेरै उनी भारत, बंगलादेश पुगे । नेपालको इलाम, रारा, पोखरा, पाल्पा, बुटवल, चितवन, कर्णालीको चिसापानी लगायत धेरै ठाउँ पुगे ।

यसपटक फेरि मुस्ताङको लोमान्थाङसम्म एकल साइकल यात्रा गर्दैछन् । ११ कात्तिकबाट सुरु हुने यो यात्राबाट उनले क्यान्सर बिरामी बालबालिकाको सहयोगका लागि एक हजार डलर (करिब एक लाख ४० हजार रुपैयाँ) संकलन गर्ने उद्देश्य राखेका छन् ।

‘पेडलिङ फर कज’ नारा दिएर उनी यात्रासँगै सामाजिक परिवर्तन र बाल कल्याण गर्न लागेका हुन् ।

000

चितवन हुँदैको कुरो हो । उनी त्यसबेला जम्मा ९ वर्षका थिए । उनले आफूभन्दा ठूलो साइकल चलाउन खोजे । अघिल्लो चक्का र सिटको बीचमा डन्डी भएको साइकल उनले एकै दिनमा चलाउन सके । त्यो दिन रमाइलोमै बित्यो ।

दोस्रो दिन साइकल सिक्दा उनी एउटा कारमा ठोक्किन पुगे । ठूलो चोट लागेन । यसरी नै सिक्दै, लड्दै उनी साइकल चलाउन पारङ्गत भए । बाइक पनि सिके । तर उनलाई मोटर जडित बाइकमा प्रेम बसेन ।

उनको बुबाका मृत्यु मोटरसाइकल दुर्घटनाबाटै भएको थियो । त्यसयता अत्यावश्यक समयमा बाहेक उनी साइकल नै चढ्छन् । कुदाउँछन् । मोटरसाइकल चलाउँदा एक प्रकारको भय सधैं उनमा आइरहन्छ ।

जे होस्, उनी किशोरवयमा नै चितवनबाट काठमाडौं आए । आफन्तकोमा बस्न थाले । गुजारा चलाउन मार्केटिङ र डेलिभरीको काम गर्न थाले । त्यही काम गर्दै जाँदा उनी सडकमा निरीह अवस्थामा रहेका बालबालिका देख्थे । उनलाई ननिको लाग्थ्यो । अनि आफूले सक्दो सहयोग गर्थे ।

कालान्तरमा उनले आफ्नो साइकल चलाउने सीपमार्फत बालकल्याण गर्ने निधो गर्ने । त्यसपछि वि.सं.२०६० तिर उनले भारतमा पहिलो साइकल यात्रा गरे । त्यसपछि बंगलादेश गए । एक त देशको परिस्थिति ठिक थिएन । माओवादी सशस्त्र द्वन्द्वले देशलाई गाँजेको थियो । तर पनि उनी घरबाहिर निस्किए ।

 

त्यही सेरोफेरोमा उनको यात्राबारे राम्रो समाचार कभरेज मिल्यो । त्यसपछि स्वयंसेवाका लागि कान्तिबाल अस्पतालमा प्रत्येक शनिबार आउन एक जना डाक्टरले उनलाई निम्ता दिए । तर काम नभएका र खाली भएकाले समिर प्रत्येक दिनजसो अस्पताल जान थाले । त्यसरी नियमित जाँदै गर्दा बालबालिकाहरूसँग उनको भावनात्मक लगाब बढ्यो ।

त्यससमय अन्य केही व्यक्तिहरू समेत अस्पतालमा स्वयंसेवकका रूपमा आउँथे । त्यस्तरी आउनेहरूलाई राखेर उनले छलफल । जुन छलफलले बालबालिकामाथि काम गर्न एउटा संस्था जन्माउने खाका कोर्‍यो । र, १२ जना मिलेर २०६२/६३ सालमा ‘दीर्घजीवी भोलेन्टियर ग्रुप’ नामक संस्था दर्ता गराए । अहिले त्यस संस्थामा ७ जना सक्रिय छन् ।

000

समिरका अनुसार सडक बालबालिकाका लागि धेरै संस्थाहरूले सहयोग गरिरहेको भए पनि क्यान्सर रोग लागेका बालबालिकाका लागि सहयोग गर्ने नगन्य छन् ।

त्यसपछि उनले क्यान्सर पीडित बालबालिकाहरूलाई अस्पतालको शय्या छेवैमा बसेर ‘प्यालिएटिभ केयर’ दिन थाले । यो भनेको एक प्रकारको जीवनको गुणस्तर सुधार्ने विशेष हेरचाह हो । त्यसअन्तर्गत उनले कथाहरू सुनाउने, रङ भर्न लगाउने, खेलहरू खेलाउने, अभिभावकका कुरा सुन्ने र आफ्ना कुराहरू सुनाउने गर्थे ।

त्यस्तो अन्तर्क्रियात्मक गतिविधि हुँदा अस्पतालको वातावरण घरजस्तै बन्न पुग्यो । अनि अद्‍भूत अनुभव पाएका कतिपय बच्चाहरू डिस्चार्ज भएर समेत जान नमानेको समिरले सुनाए ।

आजकल त्यसरी अस्पतालको शय्या नजिकै नबसे पनि उनीहरू बारम्बार अस्पताल गइरहन्छन् । मुख्यत: उनीहरूले इमाडोलस्थित ‘होलिस्टिक वेलनेस हब’ मा चलाइरहेका छन् ।

उक्त हबमा अस्पतालबाट डिस्चार्ज भएका बालबालिकाहरूले आफ्नो समय बिताउन, किताबहरू पढ्न र मनोरञ्जन गर्न सक्छन् । त्यहाँ डान्स थेरापी, म्युजिक थेरापी र आर्ट थेरापीजस्ता कार्यक्रमहरू सञ्चालन हुन्छन् ।

000

अब उनै समिरले बाल कल्याणका लागि ४६२ किलोमिटर दूरीको साइकल यात्रा गर्दैछन् ।

अहिलेसम्म उनले गरेका राइडहरूमध्ये यो सबैभन्दा कम दूरी हो । तर, पहाडी भूगोल र मौसमका कारण १० दिनभन्दा बढी लाग्ने उनले बताए । त्यसमा दैनिक ७०-८० किलोमिटरसम्म यात्रा गर्ने उनको योजना छ ।

यस यात्रामा ‘भिगन हाउस’ का सञ्चालक कल्याण सिलुवाल (३८) ले साथ दिएका छन् । फुड एण्ड लजिस्टिकमा उनको सहयोग हुनेछ । उनीहरू दुवै भिगन हुन् । तर भिगनले लामो कठिन यात्रा गर्न नसक्ने भाष्य समाजमा छ । त्यसैलाई चिरेर एउटा उदाहरण दिन पनि यो यात्रामा आफूले सहयोग गरेको कल्याणले बताए । त्यसबाहेक काठमाडौं बाइक स्टेसन, पानीपोखरीले प्राविधिक पाटोमा सहयोग गरेका छन् ।

मुलत: यस यात्रामा प्रतिमाइल प्रायोजन गरेर सहयोग गर्न सकिने समिरले बताए । अर्थात् यति यात्रा गरेबापत म यति सहयोग गर्छु । यसो गर्दा धेरै जनाले सहयोग गर्न सक्ने समिरले सुनाए ।

त्यस्तै आफ्नो यात्राबारेको जानकारी इन्स्टाग्राम, फेसबुक पेजमार्फत निरन्तर दिने उनको भनाइ छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?