Comments Add Comment

‘बढीमा १० प्रतिशत कोरोना संक्रमितको मात्र अवस्था गम्भीर’

११ चैत, काठमाडौं । अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका करिब २०० मुलुकमा फैलिसकेको छ ।

यो भाइरसको कारण अहिलेसम्म साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १६ हजार पाँच सय भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
संक्रमित र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा संक्रमितमध्ये करिब २९ प्रतिशत मानिस निको भएर फर्किएका छन् । यो भाइरसबाट बढी प्रभावित दुई मुलुकहरु चीन र इटालीको तथ्यांक हेर्ने हो भने दुवै मुलुकमा ज्यान गुमाउनेमा धेरैजसो वृद्धवृद्धा र पहिला नै कुनै स्वास्थ्य समस्या देखिएकाहरु छन् ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटले मार्च २० मा जारी गरेको तथ्यांकअनुसार कोरोना भाइरसबाट मृत्यु भएका ३ हजार २०० मानिसमध्ये ५० वर्षभन्दा कम उमेरका केवल ३६ जना थिए । त्यहाँको स्थानीय पत्रिकामा उल्लेख गरिएअनुसार इटालीमा ज्यान गुमाउने मानिसको औसत उमेर ८१ वर्ष थियो ।

चीनमा पनि शुरुमा सार्वजनिक भएको तथ्यांकले यस्तै देखाएको थियो । चीनमा भाइरसबाट ज्यान गुमाउनेमध्ये ८६ प्रतिशत वृद्धिवृद्धा थिए । तर, अहिले इटालीमा यो भाइरसको कारण छ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

इटाली

इटालीले मार्च २० मा सार्वजनिक गरेको तथ्यांक अनुसार मृत्यु हुने ३ हजार दुई सयमध्ये दुई हजार चार सय ४३ जना ७० वर्षभन्दा बढी उमेरका थिए । मृत्यु हुनेमध्ये केवल एक दशमलव एक प्रतिशत मानिस ५० वर्षभन्दा कम उमेरका थिए ।

३० वर्षभन्दा कम उमेरका कुनै पनि मानिसको ज्यान नगएको बताइएको छ ।

चीन

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फेब्रुअरीको अन्तिममा सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसबाट प्रभावित ७२ हजार तीन सय १४ बिरामीमा बच्चा र युवाको मृत्युदर निकै कम थियो ।

तर, ८० वर्षभन्दा बढी उमेरका मानिसको मृत्युदर भने सबैभन्दा बढी १८ प्रतिशत थियो । यसको अर्थ ८० वर्षभन्दा बढी उमेरका एक सय संक्रमितमध्ये १८ जनाको ज्यान जाने सम्भावना हुन्छ । तथ्यांकअनुसार मुटुको रोगसँग लडिरहेका मानिसलाई यो भाइरसको खतरा बढी हुने गरेको छ ।

युरोप

युरोपेली संघ (ईयू) को रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यो भाइरसको सम्पर्कमा आउने ८० प्रतिशत मानिस सामान्य बिरामी पर्छन् ।

१४ प्रतिशत मानिस मात्र चिन्ताजनक अवस्थामा पुग्छन् र केवल ६ प्रतिशत मानिस मात्र गम्भीर अवस्थामा पुग्छन् । यो तथ्यांकअनुसार जो मानिस गम्भीर अवस्थामा पुगेका छन् उनीहरुमा पहिला नै कुनै न कुनै प्रकारको रोग थियो वा उनीहरुको उमेर बढी थियो ।

अमेरिका

न्यूयोर्क टाइम्सको एक तथ्यांकअनुसार ६० प्रतिशत कोरोना संक्रमित अमेरिकी नागरिक कुनै न कुनै रोगको बिरामी देखिएका छन् । ४० प्रतिशत अमेरिकीमा एकभन्दा धेरै रोग छ ।

यदि कुनै मानिसमा मुटुको रोग, क्यान्सर वा मधुमेह छ भने त्यस्ता व्यक्तिमा कोरोना भाइरसको असर स्वस्थ मानिसको तुलनामा धेरै फैलिन सक्छ ।

अन्डरबिल्ट युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ विलियम सेफनर ६० वर्षभन्दा बढी उमेर भएको र कुनै रोग शरीरमा छ भने अलि बढी सतर्क हुनुपर्ने बताउँछन् ।

भारत

भारतमा पनि पछिल्लो केही दिनयता कोरोना भाइरसका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । भारतीय चिकित्सा अध्ययन परिषद् (आईसीएमआर)का महानिर्देशक बलराम भार्गव संक्रमितमध्ये ८० प्रतिशत मानिस आफैं ठीक हुने बताउँछन् ।

उनीहरुको अवस्था पनि त्यति धेरै नराम्रो हुँदैन । १५ प्रतिशत मानिसले अलि धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ । केवल ५ प्रतिशत मानिसलाई अस्पतालमा भर्ना गर्न जरुरी हुन्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment