केही दिन अघि सम्म नेपाली र भारतीय मिडियामा ‘धुम ३’ ले नेपालभर आक्रामक व्यापार गरेको खबर प्रकाशित भए । नेपाली दर्शकले हिन्दी सिनेमालाई देखाएको मायाले नेपाली सिनेमाका मेकरहरु अचम्ममा परे तर केही बोल्न सकेनन् ।
तर ‘धुम ३’ ले नेपालका करिब १ सय बढि हलमा ३ हप्तासम्म सोलो प्रदर्शनको अवसर पायो । यो सिनेमा चलाउन वितरक र हलवालाहरु पनि एक ढिक्का भएर लागे ।
तर हिन्दी सिनेमाको समाचार पढेका नेपाली दर्शक, चलचित्रकर्मीले शुक्रबारबाट भने यस्तै खबर नेपाली सिनेमाको पढिरहेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका ‘बितेका पल’, ‘छ एकान छ’ र ‘पराइ’को व्यापारले यतिबेला सबै जनाको मुहारमा खुशी ल्याइदिएको छ ।
शुक्रबार देशैभरका हलमा करिब ४० प्रतिशतको व्यापारका साथ अगाडि बढेको राजेश घतानी निर्मित चलचित्र ‘बितेका पल’ले शनिबार भने आक्रामक व्यापार गरेको छ । पूर्वाञ्चल स्थित एक रेडियोमा कार्यरत पत्रकार अर्पण ढकालले शनिबार धरानको गणेश हलमा यो सिनेमाले १ लाखको ग्रस कलेक्शन गरेको बताए । यस्तै दमकमा ५० हजार माथिको व्यापार छ । शनिबार आक्रामक व्यापार गरेपछि निर्माता राजेश घतानीले आफूहरुले बनाएको चलचित्र सफल भएको प्रतिक्रिया दिएका छन् । सिनेमाको प्रस्तुती, कथावस्तु र नायिका केकी अधिकारीको अभिनयले ‘बितेका पल’ उत्कृष्ट बनेको प्रतिक्रिया मोफसलका दर्शकहरुले दिएका छन् ।
काठमाण्डौका दर्शकले पनि ‘बितेका पल’को कथावस्तु र मेकिङलाई उत्कृष्ट भनेका छन् । शुक्रबार सामान्य व्यापार गरेको ‘बितेका पल’को व्यापार शनिबार भने निक्कै माथि देखिएको हो । चलचित्रले काठमाण्डौका बीग सिनेमामा शुक्रबार खासै दर्शक पाएको थिएन । तर शनिबार एकाएक दर्शकको संख्या बढेको र माउथ पब्लिसिटी पनि राम्रो भएकाले विकेन्ड कलेक्शन गतिलो हुने आशा निर्माताको छ । चलचित्रले देशभरका करिब ३५ हल पाएको छ ।
यता नेपाली टेलिभिजनमा जमेका हाँस्य कलाकारहरुको चलचित्र ‘छ एकान छ’ को व्यापार पनि आक्रामक छ । चलचित्रले देशैभरिका हलमा आक्रामक व्यापारको क्रमलाई शनिबार पनि जारी राखेको छ । शुक्रबार र शनिबार देशैभरका हलमा ‘छ एकान छ’को चर्चा गुञ्जियो । दर्शकले यो सिनेमालाई मिश्रति प्रतिक्रिया दिएका छन् । निर्माता समेत रहेकी दीपाश्री निरौलाले ईश्वरको कृपा र दर्शकको साथले सिनेमाले राम्रो व्यापार गरेको बताइन् । चलचित्रले दुइ दिनमा करिब ५० लाख हारहारीको ग्रस कलेक्शन गरेको वुझिएको छ । यो चलचित्र देशैभरका करिब ७० वटा हलमा चलेको छ ।
शुक्रबार र शनिबार चलचित्र ‘पराइ‘को व्यापार पनि लोभलाग्दो छ । निर्माता गोविन्द शाहीले देशैभरका हलमा ‘पराइ’को व्यापारले आफू सन्तुष्ट भएको बताए । सिनेमा हेरेर दर्शक हलबाट रुदै निस्केका छन्, नेपालगञ्जबाट पत्रकार बिष्णु शाहीले अनलाइनखबरलाई बताए । ३ चलचित्रको भिडमा ‘योद्धा’ भने ओझेलमा छ । तीनै सिनेमाले गतिलो व्यापारको छनक देखाइरहदा मोफसलमा मात्र चलेको ‘योद्धा’को भने खासै चर्चा सुनिएको छैन । प्रचारप्रसारको हिसाबमा पनि यो सिनेमा कमजोर देखिएको थियो । माघ १ गते पनि सार्वजनिक बिदा भएकाले सबै सिनेमाको व्यापार बढ्ने पक्का छ । माघे संक्रान्तीमा दर्शक हलसम्म पुग्ने परम्परा भएकाले पनि निर्माताका लागि यसले अर्को सुखद समाचार दिने छ ।
आउदो शुक्रबार आशा गरिएका कुनै नयाँ नेपाली सिनेमा हलमा लाग्ने छैनन् । यसैलेपनि दोश्रो सातामा यि सबै सिनेमाले बीना अबरोध प्रदर्शनको मौका पाएका छन् । यही कारणले पनि दोश्रो साताले तीनै सिनेमाका निर्माताहरुको लगानी सुरक्षित गर्न सक्छ । माघ १० गते सलमान खानको चलचित्र ‘जय हो’ प्रदर्शनमा आउने भएकाले पनि तेश्रो हप्तामा सबै सिनेमाका हल र दर्शक घट्ने पक्का छ । तर पनि ३ सिनेमाले २ हप्तासम्म प्रदर्शनको अवसर पाउनु सुखद कुरा हो ।
नेपाली सिनेमा चल्दैन भन्नेहरुका लागि यतिबेला राम्रै जवाफ फर्किएको छ । राम्रो सिनेमा बनाएर दर्शकको नजरमा पार्न सक्ने हो भने सबै वर्ग हलसम्म पुग्छन् भन्ने पुष्टी भएको छ । तर पनि शुक्रबार र शनिबारले मात्र सिनेमा व्यापारको आँकलन गर्न गाह्रो पर्छ । आइतबारबाट सिनेमाको व्यापार दर्शकको समिक्षाको आधारमा नै भर पर्नेछ ।
प्रतिक्रिया 4