News Summary
Generated by OK AI. Editorially reviewed.- श्रवण मुकारुङले आफ्नो पहिलो आख्यान उपन्यास 'सलह' शनिबार नेपालयको आरशालामा लोकार्पण गर्नुभएको थियो।
- मुकारुङले आफ्नो चार दशक लामो साहित्य यात्रामा निबन्ध, नाटक, कविता, गीत, कथा र चलचित्रमा काम गरेको उल्लेख गर्नुभयो।
- 'सलह' उपन्यास ४३६ पृष्ठको छ र यसको मूल्य ९९५ रुपैयाँ रहेको छ, जुन देशका प्रमुख पुस्तक पसल र अनलाइनबाट किन्न सकिन्छ।
काठमाडौं । शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए ।
पहिलो आख्यानका रुपमा ‘सलह’ ल्याएका मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे । उनले भने, ‘म बाहिर पारिएकाको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’
लोकार्पणमा अग्रिम नाम दर्ता गरेर आउने पाठक र आरशालामै आएर नाम दर्ता गर्ने पाठक धेरै भएपछि आयोजकले पहिलोपटक कफी शपतिरको ढोका खोल्नुपरेको थियो । ‘सलह’ लोकार्पण कार्यक्रममा मुकारुङ आफ्ना बाबा सम्झेर भावुक भएका थिए । उनले आफ्नो चार दशक लामो साहित्य यात्रा पनि स्मरण गरे ।
‘हुन त कवि-गीतकारभन्दा पहिला म निबन्धकार र नाटककार भएको थिएँ । कक्षा ७ मा पढ्दा ’हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा ’अस्तित्व’ नाटक लेखेको थिएँ । काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलो चोटि मैले ’आजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएको थिएँ ।’
आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ’सलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास ‘सलह’ लेखायो ।’

मकारुङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । ‘स्मृतिमा जान खोज्दा पाँच वर्षको उमेरदेखि सम्झिन्छु । हाम्रो परिवार उदयपुरको झोडामा पुगेको थियो । झोडाभित्र हाम्रो झुपडी थियो । टुकीको सानो उज्यालो थियो । ठूलो उज्यालो खोज्ने हुँदा मैले झुपडी नै जलाएको थिएँ । अझ उज्यालो खोज्ने हुँदा अँध्यारो पारेछु ।’
जनआन्दोलन २०६२/०६३ ताका ‘बिसे नगर्चीको बयान’ लेखेर माहौल तताएका साहित्यकार मुकारुङले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै निकटको आन्दोलनतिर पनि संकेत गरे ।
आफ्ना साथीहरुले तिम्रो कवितामै आख्यान, सिनेमा, नाटक छ भनिदिएको हुनाले आफूले धेरै ढिलो गरी आख्यान लेखेको भन्दै रमाइलो पनि गरे ।
‘श्रवण मुकारुङ पलेँटी र ई-कवितामार्फत पनि नेपालयसँग जोडिनुभएको छ,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘अब उहाँ लेखकका रुपमा पनि हामीसँग जोडिनुभएको छ । साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको ‘सलह’ले उहाँलाई आख्यानकारका रूपमा पनि स्थापित गर्नेछ ।’
चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह लगायत प्रकाशित छन् । मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ई-कविता पनि संयोजन गरिरहेका छन् ।
उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । ‘सलह’ देशका प्रमुख पुस्तक पसलहरूका साथै ‘थुप्रै डट कम’ वा अमेजनमार्फत पनि किन्न सकिनेछ । ४३६ पृष्ठको ‘सलह’को मूल्य ९९५ रुपैयाँ छ ।
प्रतिक्रिया 4