+
+

महतो निवासमा मधेसी नेतावीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २८ गते १९:०६

Mahanta-upendra-rajendra

२८ पुस, काठमाडौं । संविधानसभामा राप्रपा नेपाललाई पछि पार्दै चौथो शक्ति बन्ने दाउमा रहेका तीन मधेसवादी दलवीच पार्टी एकीकरणको प्रयासले तीव्रता पाएको छ । आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच एकीकरणका लागि थप वार्ता भएको छ ।

वार्तामा तीनै दलका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको समेत सहभागिता थियो । सद्भावना अध्यक्ष महतोको निवासमा भएको छलफल पार्टी एकीकरणको सैद्धान्तिक सहमतिलाई सांगठनिक रुपमा मूर्त रुप दिनेमा केन्द्रीत रहेको थियो ।

यसकारण सुरु भयो एकता प्रयास

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ अनपेक्षित हार व्यहोरेपछि मधेसवादी दलका नेताहरुले पार्टी एकता जनताले दिएको म्याण्डेट भएको बताउन थालेका छन् । ‘जनताले मिलेर आए भोट दिन्छु भनेर प्रष्ट भने’ सद्भावनाका महामन्त्री मनिष सुमनले अनलाइखबरसँग भने ।

पार्टीभित्र र बाहिर नेताहरुको विश्वसनीयतामाथि उठेको प्रश्न र मधेसमा विश्वास गुम्नु एकीकरणको अर्को कारण मानिएको छ । ‘अहिले नेताहरुले थालेको पार्टी एकताको प्रयास मधेसमा गुमेको विश्वासलाई पुनः फर्काउने प्रयासका रुपमा समेत हेर्नुपर्छ’ विश्लेषक दिपेन्द्र झाले भने ।

अर्को कारण भनेको मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सिट भएको स्रोतहरुको दाबी छ । प्रत्यक्ष चुनाव हारेको महन्थ ठाकुर र राजेन्द्र महतो संविधानसभामा जाने बाटोको खोजीमा छन् । संविधानसभाको चौथो शक्ति बन्ने गरी पार्टी एकीकरण गर्ने हो भने मन्त्रिपरिषद्बाट हुने मनोनितमा पार्ने शक्ति केन्द्रहरुको आश्वासनले तीन पार्टीबीच एकताका लागि दबाव दिएको हुनसक्ने स्रोतको दाबी छ ।

‘मैले पनि त्यस्तै सुनेको छ’ नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने-‘हाम्रा नेताहरुको विगतलाई हेर्न हो भने त्यसो होइन पनि भन्न सकिन्न ।’ अघिल्लो संविधानसभामा पराजित ठाकुर पछि मन्त्रिपरिषद्बाट मनोनितको कोटामा संविधानसभामा गएका थिए ।

सजिलो छैन एकता

नेताहरुका अनुसार पार्टी एकीकरणका लागि जति सजिलो सैद्धान्तिक सहमति भएको छ, सांगठिनक रुपमा मिलाउन त्यति नै गाह्रो छ । शीर्ष नेताहरुबीच सहमति भएपछि तीनै पार्टीका दोस्रो तहका नेताहरुले आफू सुरक्षित भएको महसुस नगरेसम्म सहजै स्वीकार गर्ने अवस्था छैन ।

तमलोपाका हृदयेश त्रिपाठी, फोरम नेपालका भरत विमल यादव, रामसहाय यादव, सद्भावनाका बद्री मण्डललगायतको नाम लिँदै एक नेताले भने-दोस्रो तहका नेताहरुले आफू सुरक्षित देखेनन् भने पार्टी एकीकरण हुन गाह्रो छ, भइहालेपछि एकतासँगै फुटको खतरा छ ।’

राजनीतिक विश्लेषण एवं अधिवक्ता दिपेन्द्र झा पनि नेताहरुको जिम्मेवारी मिलाउन सहज नभएको बताउँछन् । ‘२२ वर्षदेखि सद्भावनाको महामन्त्री, सचिव जस्ता पदमा बसेका नेताहरु केन्द्रीय सदस्य बन भन्दा सजिलै मान्छन् । यसले पार्टी एकतासँगै अर्को कित्ता निस्कने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?