७ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले छिटो-छिटो पाइला चाल्दा यिनी पनि छिटोछिटो हिँड्छन् । प्रचण्ड विस्तारै हिँडे भने यिनी पनि विस्तारै हिँड्छन् । र, प्रचण्ड रोकिए भने यिनी पनि रोकिन्छन् । प्रचण्ड जता जाउन्, यिनले कहिल्यै छाड्दैनन् । उनको बसाइ पनि प्रचण्ड निवासमै छ ।
तस्वीरमा प्रचण्डका पछिल्तिर देखिएका यी व्यक्ति सेना समायोजनमा कर्णेल हुने चर्चामा रहेका प्रचण्डका अंगरक्षक सन्तु दराई (परवाना) हुन् । लडाकूका पूर्वडिभिजन कमान्डरसमेत रहेका दराई पार्टीको केन्द्रीय सदस्य भए पनि शान्ति प्रक्रिया यता प्रचण्डनिवासमा आगन्तुकलाई चिया ओसार्ने सम्मको भूमिकामा देखिन्थे । हाल उनी प्रचण्डकै निगाहबाट सभासद बनेका छन् । यद्यपि सभासद भए पनि उनी प्रचण्ड जता कुद्यो त्यतै कुद्न छाडेका छैनन् भन्ने कुरोचाहिँ मंगलबार नयाँ बानेश्वरमा प्रष्टसँग देखियो ।
सभासद भैसकेपछि उनलाई प्रचण्डको अंगरक्षक भन्नु उनको अपमान गर्नु हो । तर, मंगलबार संविधानसभामा आयोजित सपथ ग्रहण कार्यक्रम प्रचण्डलाई एकैछिन नछाडेका परवाना यस्तो लाग्थे उनी ‘अंगरक्षक सभासद’ हुन् ।
भनिन्छ, ट्राफिक प्रहरीले सपनामा पनि आफूलाई सडकमै रहेको महसुस गर्छ र छेउमा सुतेकी श्रीमतीको अनुहारमा लाग्नेगरी हात हल्लाउँछ । कतै एमाओवादीका केन्द्रीय सदस्य परवाना पनि आफू सभासद भैसकेको चाल नपाएर प्रचण्डका पछिपछि दौडिएका त हैनन् ? हेरौं, आगामी दिनमा उनी प्रचण्डकै पछिपछि लुखुर-लुखुर दौडिइरहन्छन् या सभासदको भूमिकामा भेटिन्छन् ।
प्रचण्डलाई पूर्वडेपुटीकै सुरक्षा चाहिएको हो भने अब परवानाको ठाउँमा गैरसभासद अंगरक्षक पो राख्ने हो कि ?
यी समाचार पनि पढ्नोस्
थरिथरिका सभासद, थरिथरिका पोशाक ! (फोटो फिचर)
प्रतिक्रिया 4