Comments Add Comment

बिस्तारै काम गर्ने मलाई सुविधा छैन

KP oliकेपी ओली

नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । सर्वप्रथम, महाधिवेशनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरूप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछु । पदाधिकारी, केन्द्रीय कमिटी सदस्य एवम् विभिन्न आयोगमा निर्वाचित हुनुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।

नवौं राष्ट्रिय महाधिवेशनलाई कुशलतापूर्वक सञ्चालन गर्नुहुने अध्यक्ष मण्डल र निर्वाचनको जटिल एवम् कष्टसाध्य प्रक्रियालाई सफलतापूर्वक एवम् विश्वसनीय र निष्पक्षढङ्गले सम्पन्न गर्नुहुने निर्वाचन आयोग तथा त्यसमा सहयोग पुर्‍याउने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दछु ।

महाधिवेशनलाई व्यवस्थितढङ्गले सम्पन्न गर्न सहयोग पुर्‍याउने स्वयम्सेवक साथीहरू, सुरक्षाकर्मी मित्रहरू तथा महाधिवेशनका गतिविधिलाई व्यापक कभरेज गरेर जनतालाई सुसूचित गर्नुहुने सञ्चारकर्मी साथीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।

यस अवसरमा म पार्टीका आदरणीय संस्थापक महासचिव कमरेड पुष्पलाल, जबजका प्रणेता जननेता मदन भण्डारी तथा श्रद्धेय अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु । हामीले राष्ट्रिय राजनीतिमा हावी निरङ्कुश राजतन्त्र तथा कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद, बिखण्डन तथा विभाजनमाथि हस्तक्षेप गर्न झापा विद्रोह सङ्गठित गरेका थियौं, जसको जगमाथि आधारित भएर पुनःगठित हुँदै आजको नेकपा -एमाले) बनेको छ । यतिबेला म कमरेड रामनाथ दाहाललगायत ती श्रद्धेय सहिदहरूलाई सम्भिmइरहेको छु, जसलाई तत्कालीन शासकहरूले हाम्रैबीचबाट खोसेर सुखानीमा लगी कायरतापूर्ण हत्या गरेका थिए । नेपाल राष्ट्रको निर्माण तथा रक्षाको सङ्घर्ष, सामाजिक मुक्ति र लोकतन्त्र प्राप्तीको आन्दोलन तथा जनवाद र समाजवाद स्थापनाको सुन्दर लक्षका खातिर जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।

मुलुकले अनावश्यक रूपमा बेहोर्नु परेको एक दशक लामो हिंसात्मक द्वन्द्व र त्यसक्रममा मारिएका निर्दोष नागरिकहरू एवम् द्वन्द्वपीडितहरूप्रति पनि म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको एउटा जीवन-अङ्ग हो । सकभर सहमति गर्ने, त्यसो हुन नसके जनता या जनताका प्रतिनिधिहरूको अभिमतबाट नीति र नेतृत्व चयन गर्ने लोकतन्त्रको मर्म नेकपा -एमाले)को सैद्धान्तिक मान्यताको अभिन्न अङ्ग बनेको छ । यही मान्यताभित्र रहेर नवौं महाधिवेशनमा हामीले नेतृत्व चयनका लागि प्रतिस्पर्धाको लोकतान्त्रिक विधि अवलम्बन गर्‍यौं । म यस प्रतिस्पर्धामा सहभागी कमरेड माधवकुमार नेपाल तथा अन्य कमरेडहरूप्रति हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु । यो पार्टीभित्रको, कमरेड-कमरेडहरूबीचको प्रतिस्पर्धा हो र यसले एकता-पहलकदमी-प्रतिस्पर्धा र अझ उन्नतस्तरको एकताको मान्यता अबलम्बन गरेको छ भन्ने विश्वास म यहाँ व्यक्त गर्न चाहन्छु ।

थुप्रै कमरेडहरूले नवौं राष्ट्रिय महाधिवेशनको क्रममा भएका विभिन्न गतिविधि र प्रतिस्पर्धालाई लिएर चिन्ता र चासो प्रकट गर्नुभएको छ । पार्टीको एकता, अग्रगति र भविष्यलाई लिएर प्रकट भएका यी चासोप्रति म निकै गम्भीर र संवेदनशील छु । नेकपा -एमाले)को काँधमा यतिबेला के कस्ता ऐतिहासिक अभिभाराहरू छन् र राष्ट्र तथा जनताले हामीबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराप्रति हामीहरू एकदमै सजग छौं ।

शान्तिपूर्ण जनक्रान्तिका उपलब्धि संस्थागत गर्ने महाधिवेशनको प्राथमिक कार्यसूची र जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प एकताबद्ध, सुदृढ र गतिशील नेकपा -एमाले)बाट मात्रै पूरा गर्न सकिन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । त्यसैले म सिङ्गो पार्टीको तर्फबाट उद्घोष गर्न चाहन्छु- आजैका मितिदेखि पार्टीभित्र देखापरेका सबै विचार समूह, धु्रवीकरण र प्रतिस्पर्धाको चरण समाप्त भएको छ र पार्टी अझ उन्नतस्तरबाट एकताबद्ध भएको छ ।

लोकतन्त्र अभ्यास गर्दै र सिक्दै जाने -लर्निङ बाई डुइङ) प्रक्रिया हो । नवौं महाधिवेशनले हामीलाई पार्टी जीवनको लोकतान्त्रिकरणलाई अझ उन्नत बनाउन थुपै्रै सकारात्मक/नकारात्मक पाठ सिकाएको छ । प्रतिस्पर्धाको क्रममा प्रकट भएका सबै कमीकमजोरीको हामीले गम्भीर आत्मसमीक्षा गर्नेछौं र आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन ठोस व्यवस्था गर्नेछौं ।

स्वाभाविकै रूपमा, सहमतिका आधारमा नेतृत्व चयन हुनसकेको भए धेरै राम्रो हुन्थ्यो । त्यसका लागि प्रयत्नहरू पनि भए । तर विभिन्न कारणवश त्यसो हुन नसकेपछि हामीले प्रतिस्पर्धाका आधारमा नेतृत्व चयनको विकल्प चयन गर्‍यौं । हामी आफैले रोजेको यो विकल्पलाई नकारात्मकढङ्गले हेर्ने होइन, आत्मसमीक्षाका साथ अझ उन्नत बनाउने प्रयास हुने विश्वास म दिलाउन चाहन्छु ।

यो पार्टी हाम्रा अनगिन्ती सहिदहरूको बलिदान, हजारौं योद्धाहरूको सौर्य र लाखौंलाख जनताको माया र विश्वासको समष्टिबाट निर्माण भएको हो । यसको अग्रगतिका लागि पार्टीका सबै कमरेडहरूको भावनात्मक एकता, सहयोग र सक्रियता अपरिहार्य छ । म निवर्तमान अध्यक्ष कमरेड झलनाथ खनालले विगत पाँच बर्षसम्म गर्नुभएको पार्टीको सफल नेतृत्वका लागि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा उहाँको निरन्तर अभिभावकीय भूमिकाको अपेक्षा गरेको छु ।

पार्टीमा लामो समयसम्म सक्रिय नेतृत्व गर्नुहुने कमरेड माधवकुमार नेपालको अनुभव र क्रियाशीलता पार्टीलाई अगाडि बढाउन अत्यन्त महत्वपूर्ण हुने विश्वासकासाथ निरन्तर सहयोगका लागि अनुरोध गर्दछु । हिजोसम्मको प्रतिस्पर्धाको अवस्थालाई बिर्सेर म सबै कमरेडहरूलाई उचित जिम्मेवारी दिन, टिम स्पि्ररिटका साथ पार्टी सञ्चालन गर्न र साँचो अर्थमा पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु । कमरेडहरूबाट पनि मैले यस्तै रचनात्मक भूमिकाको अपेक्षा गरेको छु । प्रतिस्पर्धाका क्रममा कतिपय महत्वपूर्ण कमरेडहरू नेतृत्वमा समेटिनबाट छुट्नुभएको छ । नेतृत्वमा उहाँहरूको अभाव निकै खटि्कनेछ । पार्टी कामका नयाँ क्षेत्रहरूमा कमरेडहरूलाई समेट्ने प्रतिबद्धता कमरेडहरूसमक्ष व्यक्त गर्न चाहन्छु ।

नवनिर्वाचित पार्टी नेतृत्वसामु सङ्क्रमणकालीन नेपाली राजनीतिलाई नयाँ संविधानमार्फत् निकास दिनैपर्ने राष्ट्रिय अभिभारा छ । राष्ट्रिय राजनीतिमा सहमति र सहकार्यलाई निरन्तरता दिंदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा रहेको छ ।

बुर्जुवा राजनीतिक शक्तिसँगको प्रतिस्पर्धामा नेकपा -एमाले) को श्रेष्ठता स्थापित गर्ने र आगामी निर्वाचनसम्म नेकपा -एमाले)लाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दायित्व छ । सर्वाेपरी रूपमा, राजनीतिक क्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै सामाजिक-आर्थिक रूपान्तरण र समृद्ध नेपालको निर्माण गर्ने युगीन दायित्व छ ।

केन्द्रीय कमिटीको तर्फबाट म सङ्कल्प गर्दछु- हामी माक्र्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा -एमाले) बाट राष्ट्र, जनता, लाखौं पार्टी समर्थक-शुभचिन्तकहरू र युगले गरेको अपेक्षा पूरा गर्न आˆनो सम्पूर्ण सामथ्र्य लगाउनेछौं ।

यस महाधिवेशनमा हामीले नेतृत्व हस्तान्तरणको प्रश्नलाई विशेष जोड दिएका छौं । कम्युनिष्ट आन्दोलनमा हावी हुँदै आएको अलोकतान्त्रिक परम्परा अर्थात् एकचोटि क्रान्ति गरेपछि कम्युुनिष्ट पार्टी सधैभरि सत्तामा रहिरहने र एकचोटी सर्वोच्च पदमा पुगेपछि नेताले कहिल्यै नेतृत्व हस्तान्तरण गर्न तयार नहुने परम्पराको पृष्ठभूमिमा जबजले कम्युनिष्ट पार्टीले आवधिक निर्वाचनमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्रै सत्ता सञ्चालन गर्ने र पार्टी नेताहरूले पनि कार्यकर्ताहरूको विश्वास जित्नैपर्ने लोकतान्त्रिकरणको मान्यता विकास गरेको छ ।

नेतृत्व हस्तान्तरण जबजको यही मान्यताको एउटा अभिन्न अङ्ग हो । हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं- नेतृत्व हस्तान्तरणको यो बिषयलाई हामी पद्धतिका रूपमा स्थापित गर्नेछौं । नेतृत्वको योजनाबद्ध विकास गर्दै छिटोछिटो युवापुस्तामा नेेतृत्व हस्तान्तरण गर्दै लगिनेछ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद तथा उग्रवामपन्थी भड्कावका पीडा र तिनले पुर्‍याएको क्षतिलाई हामीले बिर्सेका छैनौं । दश र बीसको दशकमा उत्पन्न दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई निरङ्कुश राजतन्त्रबिरुद्ध सशक्त प्रतिवाद गर्न नसक्ने गरी कमजोर, दिशाबिहीन र विभाजित बनायो भने ५० को दशकमा उत्पन्न उग्रवामपन्थी अराजकतावादले १७ हजार नेपालीको ज्यान लिंदै नेपालको लोकतन्त्र, शान्ति, विकास र स्थायित्वमा ठूलो आघात पुर्‍यायो । हामीले दुबैखाले अवसरवादविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छौं । यस क्रममा नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन भएको छ र वितेका बीस बर्षका राजनीतिक घटनाक्रमलाई यसले मार्गदर्शन गरिरहेको छ । आगामी दिनमा पार्टीलाई यही वैचारिक कार्यदिशाका आधारमा अझ धारिलो र गतिशील बनाउँदै लगिनेछ ।

विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ, विधिमा दुरुस्त, नेतृत्वमा सशक्त र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकासहितको नेकपा -एमाले) हाम्रो परिकल्पना हो । आगामी दिनमा पार्टीलाई यही दिशामा अगाडि बढाउन हामीले सम्पूर्ण शक्ति लगाउनेछौं । आगामी माघभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने, सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताको पहिचान, आत्मसम्मान, समृद्धि र एकतालाई सुनिश्चित गर्ने गरी राज्यको पुनःसंरचना गर्ने, द्वन्द्वका घाउ मेटाएर समाजमा एकता, मेलमिलाप र सहकार्यको रक्तसञ्चार गर्ने तथा आर्थिक शोषण, सामाजिक उत्पीडन, सांस्कृतिक विभेद तथा कमजोर बन्दै गएको राष्ट्रियताको समस्या समाधान गर्दै छोटो समयभित्र मुुलुकलाई समृद्ध र समुन्नत बनाउने अभिभारा हाम्रो काँधमा छ ।

हामी संयुक्त सरकारमा छौं र यो समयको आवश्यकता र बाध्यता दुबै हो । संयुक्त सरकारलाई अझ प्रभावकारी, गतिशील र परिवर्तनको संयन्त्रको रूपमा विकास गर्न पार्टीले आगामी दिनमा थप सक्रिय भूमिका खेल्नेछ ।

यसबीच, मेरो स्वास्थ्यलाई लिएर अनेकौं टिकाटिप्पणी भएको मैले सुनेको छु । मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गर्ने, स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा सहयोग गर्ने सबैप्रति म कृतज्ञ छु । स्वास्थ्यमा केही समस्याहरू छन् भन्ने कुराप्रति म सजग छु र यसप्रति यहाँहरूको चासोप्रति म संवेदनशील छु । पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन । यो एउटा टिम स्पि्ररिट हो र पार्टी नेताले मूलतः वैचारिक, साङ्गठनिक र शैलीगत अगुवाई गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो । केन्द्रीय कमिटीको यो सक्षम टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्यवान् छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

संभवतः कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु । त्यसैले, म आˆनो सम्पूर्ण सामथ्र्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्‍याउन चाहन्छु ।

अन्त्यमा पुनः एकपल्ट नवौं राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक र ऐतिहासिक महत्वका साथ सम्पन्न गर्न सघाउनुहुने सबैप्रति धन्यवाद र हामीलाई नेतृत्वमा चयन गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद !

-एमाले अध्यक्ष ओलीका तर्फबाट विहीबार महाधिवशेनको समापन कार्यक्रममा बल्खुमा वितरीत लिखित मन्तव्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment