५ साउन काठमाडौ । हिमालयन बैंक लिमिटेडले ख बर्गको एस डेभलपमेन्ट बैंक गाभ्ने भएको छ । हिमालयन बैंकको केही दिनअघि बसेको सञ्चालक समितिले एसलाइ गाभ्ने निर्णय गरेको हो । एस डेभलपमेन्ट बैंकका संस्थापकहरुले मर्जपछि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व नमागेपछि यी दुई संस्थाबीच मर्जरको प्रक्रिया अघि बढेको हो ।
’एस डेपलपमेन्ट बैंकका संस्थापकहरुले सञ्चालक समितिमा प्रतिनिधित्व नमागेपछि हिमालयन बैंकको सञ्चालक समितिले एस डेभलपमेन्ट गाभ्ने निर्णय गरेको हो’ हिमालयन बैंक स्रोतले भन्यो -एक हप्ताभित्र औपचारिकरुपमा सर्वसाधारणलाई मर्जर प्रक्रियाबारे जानकारी गराउँछौं । उपचारका क्रममा विदेश गएका हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठ स्वदेश फर्केलगतै सञ्चालक समितिको बैठक बसेकेा हो ।
स्रोतका अनुसार स्वाप रेसियो हिमालयन बैंकको तुलनामा ५५ प्रतिशत रहने सहमति भएको छ । अाइतबार बजार बन्द हुँदा हिमालयन बैंकको प्रतिकित्ता सेयरमूल्य ९ सय ५० र एस डेभलपमेन्टको प्रतिकित्ता ३ सय २८ रूपैयाँ छ ।
हिमालयन बैंकले एस डेभलपमेन्ट बैंक खरिद (एक्वायर) गर्ने तयारी गरेको थियो । तर, हिमालयन बैंकले राष्ट्र बैंकसँग पुँजी वृद्दिको योजना दिएअनुसार बैंकलार्इ पुँजी वृद्दि गर्न दवाब परेपछि मर्जरमा जाने निर्णय गरेको हो । बैंकले यो अर्थिक वर्षभित्र बैंकको चुक्ता पुँजी ४ अर्ब रूपैयाँ पुर्याउने योजना गत वर्ष नै राष्ट्र बैंक समक्ष पेस गरेको थियो ।
यसअघि प्रमुख कार्यकारी अधिकृत अशोक राणा र सञ्चालकहरु सहमत भएपनि आफ्नो पक्कड गुम्ने डरले हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एससँग मर्ज गर्न आनाकानी गरिरहेका थिए । हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ तथा एस डेभलपमेन्ट बैंकका अध्यक्ष लगायत सञ्चालकहरु सेन्ट जेभियर स्कुलका समकालिन विद्यार्थी भएकोले पनि उच्चस्तरमा सहमति भएको हो’ एस बैंकको उच्च स्रोतले भन्यो – जेभेरियन भएकोले धोका नहोला भन्ने विश्वास गरिएको छ ।
हिमालयन बैंकले यसअघि गठन गरेको मर्जर कमिटीले एसलाई खरिद गर्नु उपयुक्त हुने सिफारिस गरेको छ । एससँग मर्चेन्ट बैंक पनि भएकाले हिमालयन बैंकले आँखा लगाएको हो । एसले हिमालयन बैंकसँग कुरा नमिलेमा मात्र कुमारी वा लक्ष्मी बैंकसँग कुरा गर्ने पनि स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4