+
+
Shares

हार्डवेयरमा प्रवेश गर्दै च्याट जिपिटी निर्माता, स्मार्ट चस्मा बनाउँदै

ओपन एआईको व्यापक तयारी र अनुभवी नेतृत्वका बाबजुद स्मार्ट हार्डवेयर विकास गर्ने कम्पनीको परियोजनाको बाटो सजिलो भने छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपन एआईले स्मार्ट चस्मा, स्मार्ट स्पिकर र स्मार्ट बत्ती जस्ता एआई-पावर्ड स्मार्ट हार्डवेयर विकास गरिरहेको छ।

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई अब केवल सफ्टवेयरमा मात्रै सीमित रहन चाहँदैन । स्मार्ट हार्डवेयरको क्षेत्रमा समेत प्रवेश गर्ने तयारी ओपन एआईले गरिरहेको छ।

हालै सार्वजनिक भएका रिपोर्टहरूका अनुसार ओपन एआईले एआई-पावर्ड स्मार्ट डिभाइसहरूको निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ । यस अन्तर्गत कम्पनीले स्मार्ट चस्मा र स्मार्ट स्पिकरदेखि स्मार्ट बत्तीसम्म तयार पारिरहेको बताइएको छ । यस्ता स्मार्ट हार्डवेयर निर्माणको उक्त महत्वाकांक्षी परियोजनाका लागि ओपन एआईमा करिब २०० भन्दा बढी कर्मचारीहरूको टोली खटिएको छ।

समाचार अनुसार ओपन एआईले बजारमा लन्च गर्ने सबैभन्दा पहिलो हार्डवेयर डिभाइस चाहिँ क्यामेरासहितको एडभान्स स्मार्ट स्पिकर हुने अपेक्षा गरिएको छ । उक्त स्पिकरमा इन-बिल्ट क्यामेरा रहनेछ । यसले प्रयोगकर्ता मात्र होइन, वरपरको वातावरणलाई पनि पहिचान गर्नसक्ने क्षमता राख्नेछ ।

ओपन एआईको उक्त प्रोजेक्ट निकट स्रोतहरूका अनुसार, यसमा वस्तु पहिचान गर्ने प्रविधि अर्थात् अव्जेक्ट रिकग्निसन टेक्नोलोजी प्रयोग गरिनेछ । यसमार्फत स्मार्ट स्पिकरले नजिकै टेबलमा राखिएका वस्तुहरू पहिचान गर्न र वरपर भइरहेको संवादको सन्दर्भ बुझ्न सक्नेछ ।

यसका साथै, क्यामेरामा एप्पलको ‘फेस आइडी’ जस्तै फेशियल रिकग्निसन सुविधा पनि हुनेछ । यसले प्रयोगकर्तालाई अनुहार देखाएरै किनमेल वा भुक्तानी प्रमाणीकरण गर्ने सुविधा दिनेछ ।

ओपन एआईले सन् २०२७ को सुरुवाततिर स्मार्ट स्पिकर बजारमा ल्याउन सक्ने बताइएको छ।

त्यस्तै सन् २०२८ सम्ममा कम्पनीले स्मार्ट चश्मा पनि बजारमा ल्याउने गरी काम गरिरहेको छ। स्मार्ट चश्माको क्षेत्रमा हाल मेटाको दबदबा रहेको अवस्थामा ओपन एआईको प्रवेशपछि प्रतिस्पर्धाको वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।

त्यस्तै ओपन एआईले स्मार्ट ल्याम्पको प्रोटोटाइप तयार गरिसकेको भए पनि, उपभोक्ता बजारमा यसलाई कहिले औपचारिक रूपमा ल्याइने भन्ने विषय अझै खुल्न सकेको छैन।

एप्पलका पूर्व दिग्गज डिजाइनरको नेतृत्व

हार्डवेयर क्षेत्रमा आफ्नो प्रभाव जमाउने लक्ष्यसहित ओपन एआई कम्पनीले गत वर्ष दिग्गज कम्पनी एप्पलका चर्चित डिजाइनर जोनी इभको स्टार्टअप आइओ प्रडक्टसलाई साढे ६ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो।

सन् १९९० को दशकदेखि सन् २०१९ सम्म एप्पलका प्रायः सबै प्रमुख डिभाइसहरूको डिजाइनमा मुख्य भूमिका खेलेका जोनी इभले अहिले ओपन एआईका नयाँ हार्डवेयर प्रोडक्टहरूको विकासको नेतृत्व गरिरहेका छन् ।

चुनौती र गोपनीयताको प्रश्न

हुनत ओपन एआईको व्यापक तयारी र अनुभवी नेतृत्वका बाबजुद स्मार्ट हार्डवेयर विकास गर्ने कम्पनीको परियोजनाको बाटो सजिलो भने छैन । ठूलो स्तरमा एआई डिभाइस सञ्चालन गर्न अत्यधिक कम्प्युटिङ पावर आवश्यक पर्ने भएकाले प्राविधिक र लजिस्टिक चुनौतीहरू देखिएका छन् । जसका कारण परियोजनामा ढिलाइसमेत भइसकेको छ।

साथै गोपनीयताको विषय सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । सधैंभरि प्रयोगकर्तालाई ‘सुन्ने’ र ‘देख्ने’ क्षमता भएका स्मार्ट डिभाइसप्रति उपभोक्ताहरू स्वाभाविक रूपमा सशंकित हुन सक्छन् । त्यसैले, प्रविधिसँगै विश्वास जित्नु पनि ‌ओपन एआईका लागि सबैभन्दा महत्वपूर्ण चुनौति हुने देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?