News Summary
Generated by OK AI. Editorially reviewed.- टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको सिड्यान्स २.० नामक एआई मोडलले निर्देशनअनुसार सिनेमा स्तरको भिडियो उत्पादन गर्न सक्छ।
टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडललाई लिएर अहिले हलिउड चिन्तित भएको छ । सिड्यान्स २.० नाम गरेको उक्त नयाँ एआई मोडलको कार्य क्षमतालाई लिएर हलिउड स्तब्ध बनेको हो ।
अहिले बजारमा प्रम्प्ट (निर्देशन) दिएकै आधारमा आवाज, दृश्य बनाउन सक्ने एआई मोडलहरू राम्रै संख्यामा छन् । यो मोडलले भने प्रयोगकर्ताले दिने निर्देशनहरूका आधारमा साउन्ड इफेक्ट, संवाद र दृश्यसहित सिनेमा बनाउँछ ।
सामाजिक सञ्जालमा सिड्यान्सले बनाएका स्पाइडर म्यान, डेडपुल जस्ता पात्रहरूको भिडियोहरू भाइरल छ । जसलाई लिएर यता हलिउडका ठूला स्टुडियो डिज्नी र प्यारामाउन्टले भने बाइटडान्सले प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोप लगाएका छन् ।
सिड्यान्स के हो र किन यति धेरै चर्चा ?
सिड्यान्स सन् २०२५ को जुनमा सामान्य रूपमा सार्वजनिक जेनेरेटिभ एआई मोडल हो । तर आठ महिनापछि आएको यसको दोस्रो संस्करणले भने ठूलो हलचल पैदा गरेको छ ।
धेरैले यसले दिने नतिजा सिनेमाकै स्तरको रहेको भनी प्रतिक्रिया दिइरहेका छन् । यसको नतिजा हाल अमेरिका सहितका पश्चिमा देशहरूको एआई मोडलभन्दा धेरै उत्कृष्ट भएको समेत भनिएको छ ।
यसकारण उद्योगका कतिपयले सिड्यान्सलाई भिडियो उत्पादन गर्ने प्रविधिको विकासमा एउटा नयाँ अध्याय मान्ने पनि बताएका छन् । यो टुलले विशेषज्ञता हासिल गरेको कुनै सिनेमेटोग्राफरले दृश्य खिचे जस्तै फिल्म बनाउने दावी गरिएको छ ।
यद्यपि सिड्यान्स अहिले प्रतिलिपि अधिकारका मुद्दाहरूमा फसेको छ । जुन कुनै पहिलो घटना भने होइन । विशेषत: हलिउडले प्रतिलिपि अधिकार सुरक्षित गरिएका पात्रहरूको प्रयोगलाई लिएर कानूनी प्रश्न उठाएको हो । लोकप्रिय एनिमे पात्रहरूका एआई भिडियोहरू भाइरल भएपछि जापानले समेत प्रतिलिपि अधिकार उल्लंघन भए/नभएको हेरिरहेको बताइएको छ ।
सन् २०२३ मा न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टलाई उनीहरूको एआई मोडल तालिम दिन आफ्ना लेखहरू अनुमति बिना प्रयोग गरेको भन्दै मुद्दा दायर गरेको थियो । रेडिटले पनि गत वर्ष पर्प्लेक्सिटीलाई प्रयोगकर्ताका पोस्टहरू अवैध रूपमा प्रयोग गरेको दाबी गर्दै मुद्दा हालेको थियो ।
तर कतिपय कम्पनीहरूले भने एआई कम्पनीहरूसँग सम्झौता समेत गरिरहेको छ । जस्तो, डिज्नीले ओपनएआईको सोरासँग एक अर्ब डलर बराबरको सम्झौता गरेको छ । यो सम्झौतापछि सोराले स्टार वार्स, पिक्सार र मार्भलका पात्रहरूलाई एआई तालिमका लागि प्रयोग गर्न सक्छ ।
प्रतिलिपिबाहेक हलिउडलाई अर्को डर भनेको साना फिल्ममेकरहरूलाई सहज हुने कुरो हो । सिनेमा स्तरको दृश्य बनाउन सक्ने भएपछि सबैले सजिलै छोटा फिल्म तथा माइक्रो-ड्रामा बनाउन सक्छन् । त्यस्तै एआईले कम बजेटबाटै साइ-फाई, ऐतिहासिक नाटक र एक्सन जस्ता ठूला विधाहरूमा सहयोग पुर्याउन सक्छ।
के चीन प्रविधिमा अगाडि बढ्दैछ ?
सिड्यान्सले फेरि एकपटक चिनियाँ प्रविधिलाई चर्चाको केन्द्रमा ल्याएको छ । गत वर्ष मात्रै च्याटबट डीपसीक एकाएक चर्चामा आएको थियो । यसले एप्पलको अमेरिकी स्टोरमा च्याटजीपीटीलाई पछाडि पार्दै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको थियो ।
पछिल्लो समयम बेइजिङले एआई र रोबोटिक्सलाई आफ्नो आर्थिक रणनीतिको केन्द्रमा राखेको छ । अमेरिकालाई उछिन्न चीनले कम्प्युटर चिप उत्पादन, अटोमेसन र जेनेरेटिभ एआईमा ठूलो लगानी गरिरहेको छ । यसले गर्दा छोटो समयमा नै चिनियाँ एआई टुल्सहरू चर्चामा आइरहेका हुन् ।
बीबीसीबाट
प्रतिक्रिया 4