Comments Add Comment

मोदी भेट्न सोल्टी होटलमा दलका नेताको ‘लाइन’

९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं आएकै दिन नेपालका प्रमुख राजनीतिक दलहरुसँग भेटवार्ता गर्ने भएका छन् । मंगलबार नै मोदीले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने समय तय भएको छ ।

शीतलनिवास स्रोतका अनुसार मोदीले ट्रमा सेन्टर, दिल्ली-काठमाडौं बस सेवा उदघाटन लगायतका कार्यक्रम सकेपछि बेलुका ६ बजे शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरणसँग वार्ता गर्ने छन् ।

रामवरणलाई भेट्नुअघि मोदीले सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग नेपालको राजनीतिक अवस्थाबारे छलफल गर्ने कार्यक्रम तय भएको छ ।

सोल्टीमा नेपाली नेताको लाइन

शीतलनिवासबाट फर्केपछि मोदीले आफू बस्ने सोल्टी होटलमा कांगे्रस, एमाले, एमाओवादी र मधेसवादी दलका नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ताको समय मिलाएका छन् ।

मोदीले मंगलबार साँझ पौने ७ बजे कांग्रेस नेताहरुसँग छलफल गर्नेछन् । त्यस्तै ७ः १० मा एमालेसँग छलफल गर्नेछन् । ७:३५ मा एमाओवादी र त्यसपछि मधेसवादी दलहरुसँग भेट गर्ने समय मिलाइएको छ ।

मोदीले कांग्रेस, एमाले र एमाओवादी नेताहरुका लागि २५/२५ मीनेट छुट्याएका छन् । राष्ट्रपतिसँग उनले आधाघण्टा कुराकानी गर्नेछन् ।

यसैवीच मोदीले पाटनको भ्रमण गर्ने भनिएकोमा सो भ्रमण रद्द भएको स्रोतले बतायो ।

अफगानी राष्ट्रपति पनि शीतलनिवास जाँदै

मोदी शीतलनिवास जानुअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पनि राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्ने भएका छन् । घानीले साढे ३ बजे राष्ट्रपति यादवलाई भेट्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment