+
+
Shares

सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

मुख्यमन्त्री भन्छन्– जानकारी छैन, नेकपा भन्छ : अहिले यो खेलमा लाग्नु हुँदैन 

हरि अधिकारी हरि अधिकारी
२०८३ मंसिर ३ गते २२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न एमाले नेताहरूले फेरि अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुमा भेटवार्ता गरेका छन् ।
  • भेटमा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैं–तिहारपछि मार्ग प्रशस्त गर्ने सहमति भएको बताएका थिए, तर कार्कीले यसबारे अनभिज्ञता जनाएका छन् ।
  • सत्ता साझेदार नेकपाले निर्वाचनसम्म सरकार निरन्तरता दिनुपर्ने बताउँदै जबर्जस्ती फेर्न खोजे आफ्नै नेतृत्वमा सरकार बनाउने चेतावनी दिएको छ ।

३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन् ।

मंगलबार कोशी प्रदेशका केही नेताहरूले भेटवार्ता गरेसँगै सरकार फेर्ने कसरत फेरि सुरु भएको नेताहरू बताउँछन् ।

यसअघि गत साउनमा पनि मुख्यमन्त्री फेर्ने प्रयास भएको थियो । सम्भव नभएपछि एमाले नेतृत्व ब्याक भएको थियो  ।

स्रोतका अनुसार, मंगलबार गुण्डुमा अध्यक्ष ओलीसँग कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र नेता होम थापालगायतको टोलीले भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अध्यक्ष ओलीले यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग भएको समझदारीअनुसार नै उनले अब मार्गप्रशस्त गर्ने बताएका थिए । तर, गुण्डुको उक्त छलफलमा मुख्यमन्त्री कार्की स्वयं भने सहभागी थिएनन् ।

आफ्नै नेतृत्वको सरकार फेरबदल गर्ने विषयमा भइरहेको चर्चाबारे मुख्यमन्त्री कार्कीले अनभिज्ञता प्रकट गरेका छन् । ‘मलाई यस विषयमा केही थाहा छैन, मसित त्यस्तो केही कुराकानी पनि भएको छैन,’ अनलाइनखबरसँग मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्की निकट नेताहरूले भने सरकार फेर्ने चर्चा गलत भएको टिप्पणी गरेका छन् । ‘तीन–तीन महिनामा सरकार परिवर्तन हुने कुरा हुँदैन,’ कार्की निकट एक नेताले भने, ‘व्यक्तिगत स्वार्थका लागि आफ्नै पार्टीको सरकारलाई अस्थिर बनाउनु उपयुक्त होइन, निर्वाचनको मुखमा गलत म्यासेज जान्छ ।’

मुख्यमन्त्री कार्कीले विगतमा अध्यक्षसँग गरेको वाचाअनुसार नै प्रक्रिया अघि बढ्ने बैठकमा सहभागी एक नेताले बताए । ‘त्यस बेला उहाँले दशैं तिहारपछि मार्ग प्रशस्त गर्ने भन्नु भएको रहेछ, अब त्यहीँ अनुसार अगाडि बढ्छ भनेर अध्यक्षले भन्दै हुनुहुन्थ्यो,’ बैठकमा सहभागी ती नेताले भने, ‘आधिकारिक रूपमा पार्टीले निर्देशन दिएपछि सोहीअनुसार हुने हो ।’

अध्यक्ष ओलीसँगको भेटमा सहभागी नेता शेरधन राईले भने गुण्डुमा अन्य विविध राजनीतिक विषयमा छलफल भएको बताए । प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयमा छलफल भएपनि ठोस निर्णय भइनसकेको उनको भनाइ छ ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले समग्र राजनीतिक विषयमा छलफल हुँदा प्रदेश सरकारको प्रसंग पनि उठेको स्वीकार गरे । खतिवडाका अनुसार, छलफलमा अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीसँग दशैं–तिहारपछि मार्ग प्रशस्त गर्ने कुरा भएको जानकारी गराएका थिए । उनले अन्य विषय खुलाउन चाहेनन् ।

बैठकमा हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनका लागि सत्ता साझेदार नेकपासँग पनि छलफल अघि बढाउने कुरा भएको थियो ।

कोशी प्रदेशमा सरकारको नेतृत्व परिवर्तनलाई लिएर एमालेभित्र आन्तरिक मतभेद र रस्साकस्सी चल्दै आएको छ । यसअघि पनि एमालेले कोशी प्रदेश सरकार परिवर्तनका लागि आन्तरिक गृहकार्य गरेको थियो । तर, मुख्यमन्त्री कार्कीको पक्षमा प्रदेशमा बहुमत सांसद उभिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएकाले पनि तत्काल नेतृत्व फेर्न सहज नभएको निष्कर्षमा ओली पक्षका नेताहरू पुगेका थिए । त्यसपछि गत २० साउनमा मुख्यमन्त्री कार्कीलाई बोलाएर अध्यक्ष ओली ‘काम गर्दै गर्नुहोस्’ भनेका थिए । दशैं तिहार लगतै फेरि नेताहरूले सरकार फेर्ने गृहकार्य गरेका हुन् ।

सत्ता साझेदार नेकपा भन्छ : जबर्जस्ती गरे आफ्नै नेतृत्वमा पहल गर्छौं

कोशी सरकार परिवर्तनको चर्चालाई लिएर सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी नेकपाले भने असन्तुष्टि जनाएको छ । नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान प्रदेश सरकारलाई निर्वाचनसम्मै निरन्तरता दिनुपर्ने पक्षमा आफ्नो दल स्पष्ट रहेको बताए ।

सरकारमा सहभागी भएको तीन महिना मात्र पूरा भएको र सरकारले भर्खरै लय समात्न खोजिरहेको अवस्थामा सरकार फेर्ने कुरा गर्नु दु:खद भएको आङ्बोको टिप्पणी छ । गत भदौ १ गते नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको थियो ।

‘प्रदेश संरचनालाई मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलोका रूपमा आलोचना भइरहेका बेला पुन: सरकार परिवर्तनको खेलमा लाग्नु उचित हुँदैन,’ उनले भने, ‘यस्ता गतिविधिले राजनीतिक अस्थिरताको गलत सन्देश दिन्छ ।’

नेता आङ्बोले वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदहरूको समर्थनमा बनेको र मुख्यमन्त्रीले भर्खरै विश्वासको मतसमेत लिइसकेकाले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने दाबी गरे । संसदीय दलको बहुमत–अल्पमतका आधारमा पनि तत्काल सरकार फेरिने संवैधानिक अवस्था नरहेको उनको तर्क छ ।

मुख्यमन्त्री बदलिरहने प्रवृत्तिको पछि आफ्नो दल नलाग्ने स्पष्ट पार्दै उनले यदि कसैले जबर्जस्ती सरकार फेर्न खोजेमा बाँकी दलहरूसँगको सहकार्यमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने चेतावनीसमेत दिए । राजनीतिक अस्थिरता फैलाउने र प्रदेशलाई बदनाम बनाउने कुनै पनि गतिविधिमा आफ्नो दल सहभागी नहुने आङ्बोको भनाइ छ ।

विगतमा पनि असफल भएको थियो प्रयास कोशी प्रदेशमा सरकारको नेतृत्व परिवर्तनलाई लिएर एमालेभित्र आन्तरिक मतभेद छ । गत २१ फागुनमो प्रतिनिधिसभा निर्वाचनपछि एमाले अध्यक्ष ओलीले कोशी प्रदेशको मुख्यमन्त्री फेर्न खोजेका थिए । त्यसबेला मुख्यमन्त्री फेर्न खोज्दा तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेस तयार भएन ।

सरकार फेर्दा आफ्नो नेतृत्वमा हुनुपर्ने कांग्रेसको शर्त थियो । तर, एमाले अध्यक्ष ओली भने मुख्यमन्त्री मात्रै फेर्ने पक्षमा थिए । सोही विवादका कारण कांग्रेस एमालेको दुरी बढेपछि प्रदेशमा नेकपा एमाले नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी सरकारमा सहभागी भएको थियो ।

नेकपा सरकारमा सहभागी हुनुभन्दा अघि मुख्यमन्त्री कार्कीविरुद्ध एमालेको प्रदेश संसदीय दलमा हस्ताक्षर अभियान नै चलेको थियो । हस्ताक्षर गर्दा बहुमत सांसद विपक्षमा उभिए, दलको विधानमा  पनि संसदीय दलको नेता फेर्न दुई तिहाइ मत चाहिने प्रावधान थियो ।

सरकार गठनको अन्तिम बिकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएकाले पनि तत्काल नेतृत्व फेर्न सहज नभएको निष्कर्षमा नेताहरू पुगेका थिए । मुख्यमन्त्री आफै तयार नभएसम्म सरकार फेर्न नसकिने अवस्थामा पुगेपछि साउन २० गते मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच गुण्डुमै छलफल भएको थियो ।

छलफलपछि ओली कार्कीलाई हटाउने निर्णयबाट पछि हट्दै ‘काम गर्दै गर्नुहोस्’ भनेका थिए । तर, एमाले ओली पक्षका नेताहरू भने मुख्यमन्त्रीको फेस सेभिङका लागि दसैँ तिहारसम्म सरकारलाई निरन्तरता दिएको तर्क गरिरहेका थिए ।

तत्काल एमालेमा ओली पक्षका नेताहरूले मुख्यमन्त्री फेर्न चाहेपनि मुख्यमन्त्रीले नचाहेसम्म फेर्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् । ‘उपधारा ५ अनुसार बनेको सरकार हो, यहाँ दलको ह्वीप लाग्दैन,’ मुख्यमन्त्री निकट अर्का सांसदले भने,‘ हामी अस्थीरताको खेलमा छैनौं, चुनावसम्म यहीँ सरकारको निरन्तरताको पक्षमा छौं ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?