News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय शुक्रबार दिउँसो ४ बजेसम्म बाँकी रहँदा पनि दलहरूले दाबी पेस गर्न सकेका छैनन्।
- जसपा, एमाले र नेकपाबीच सरकारको नेतृत्वबारे सहमति नहुँदा मधेश प्रदेशमा सत्ता समीकरण अन्योलमा छ।
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता महन्थ ठाकुर आज जनकपुरधाम पुगेर नेतृत्व संकट सुल्झाउने प्रयास गर्ने भएका छन्।
३ मंसिर, जनकपुरधाम । मधेश प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दिएको समयावधि सकिन अब एक दिन मात्र बाँकी रहँदा पनि दलहरूले दाबी पेस गर्न सकेका छैनन् । सत्ता समीकरण नबन्दा मधेशमा नयाँ सरकार गठनमा अन्योल कायम छ ।
विश्वासको मत पाउने अवस्था नदेखेपछि निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत कात्तिक २८ गते सदनबाटै राजीनामा घोषणा गरेका थिए । त्यस दिन साँझ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिइएको छ । तर दलहरूमा सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति भएको छैन ।
सबभन्दा ठूलो दल जसपाको नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले र नेकपा सकरात्मक छन् । एमालेले असोज ३० गते समर्थन फिर्ता लिने बेला सो दलका अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच साढे ४ घण्टा छलफल भएको थियो । त्यहाँ जसपा संसदीय दलका नेता सरोजकुमार यादव पनि उपस्थित थिए । ओलीले जसपाको नेतृत्वमा सरकार बनाउने वचन नै दिएको कुरा सार्वजनिक भएको थियो ।
गत कात्तिक २० गते पनि एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र नेकपासँग एमालेसहितको समीकरण बन्ने निष्कर्षमा पुग्न लागेको बताएका थिए । त्यस दिन नेकपाले पनि समर्थन फिर्ता लिएको थियो ।
समीकरण बनाउन मधेशमा जसपा नेपाल दलका नेता सरोजकुमार यादव पनि सकरात्मक छन् । तर केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म त्यसबारे आधिकारिकता दिन चाहेका छैनन् । किनकि, जसपाभित्र पनि सरकारको नेतृत्व गर्नेबारे हानथाप छ ।
जसका कारण सरकारको नेतृत्व गर्ने विषयमा अहिलेसम्म जसपाले संस्थागत निर्णय गर्न सकेको छैन । सरकारको नेतृत्वबारे छलफल तथा निर्णय गर्न जसपा नेपालका अध्यक्ष यादव जनकपुरधाम आउँदै छन् । वरिष्ठ नेता महन्थ ठाकुर पनि आजै दिउँसो जनकपुरधाम आइपुगेका छन् । जसपाका एक सांसदका अनुसार दुई नेताले सरकारको नेतृत्वबारेको संकट सुल्झाउने प्रयास गर्ने छन् ।
‘जसपा नेपालमा अहिलेसम्म सरकार गठनबारे कुनै औपचारिक छलफल भएको छैन । भोलि संसदीय दलको बैठक अध्यक्ष र वरिष्ठ नेताको उपस्थितिमा हुने सम्भावना छ । त्यसमै छलफल र निर्णय हुनसक्छ,’ ती सांसदले भने, ‘यदि कुनै निर्णय भएन भने दाबी पेस नहुन सक्छ ।’
तर, जसपा नेपाल ठूलो दल भएको कारण संविधानको धारा १६८ को ३ मा उसैको नेतृत्वमा सरकार गठनको सम्भावना भने रहन्छ । यसले जसपा आफ्नो नेतृत्वमै सरकार गठन हुनेमा ढुक्क छन् ।
प्रदेशसभाको अंकगणितको कारण कम्तीमा तीन वटा दल नमिलेसम्म सरकार गठन गर्न सक्ने अवस्था छैन । मधेश प्रदेशसभामा हाल कायम १०२ सदस्यीय मधेश प्रदेशसभामा सरकारको दाबीको लागि कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन् ।
एमाले र नेकपाले पनि संस्थागत रूपमा कुनै निर्णय गरेको छैन । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भेटेर सत्ता समीकरणबारे छलफल गरेपछि मात्र प्रदेशमा कुनै निर्णय गर्ने दुई दल प्रतीक्षामा छन् ।
‘माथिबाट अध्यक्षज्यूले केही कुरा फाइनल गरेर निर्देशन दिएपछि त्यसअनुसार प्रदेशमा निर्णय हुन्छ,’ नेकपाका एक सांसदले भने ।
निवर्तमान सत्ता गठबन्धनकै सरकार बने कांग्रेस त्यसमा रहन सक्ने सम्भावना छ । तर एमालेले धोका दिएको कारण उसको नेतृत्वमा सरकार गठन भए समर्थन दिने सम्भावना देखिँदैन । एमालेले पनि फेरि कांग्रेसलाई समर्थन गर्ने सम्भावना तत्काल देखिँदैन ।
उसो त, एमाले संसदीय दलका नेता सरोजकुमार यादव पनि मुख्यमन्त्री बन्न चाहन्छन् । गत वर्ष ठूलो दलको हैसियतमा धारा १६८ को ३ बमोजिम गरेको चलखेलको ट्याग उनी १६८ को २ बमोजिम पुन: मुख्यमन्त्री भएर हटाउन चाहन्छन् ।
नेकपाको नेतृत्वमा सरकार गठनको विषयमा पनि आन्तरिक गृहकार्य चलिरहेको नेताहरू बताउँछन् । यद्यपि, त्यस गृहकार्यमा कांग्रेस र एमाले दुईटै दल सहमत हुनुपर्ने हुन्छ ।
जनमत पार्टी भने अब बन्ने सरकारमा सहभागी नहुने अध्यक्ष डा. सीके राउतले घोषणा नै गरिसकेका छन् । जनमतसहितको अग्रगामी मोर्चामा जसपा पनि छ । मोर्चामा अब सरकारमा जान नहुने तर्क पनि आबद्ध दलहरूको रहेको कुरा सार्वजनिक भइरहेको छ । यसले जसपा अध्यक्ष यादव झन् दबाबमा छन् ।
शुक्रबारसम्म दाबी पेस नभए प्रदेश प्रमुखले फेरि धारा १६८ को २ बमोजिम केही समय दिएर दाबी पेस गर्न आह्वान गर्नसक्ने सम्भावना छ । त्यसमा पनि नभए धारा १६८ को ३ बमोजिम सरकार गठनमा जान सक्ने सम्भावना छ ।
प्रतिक्रिया 4