Comments Add Comment

झापालाई मधेसमा गाभ्दा ओली र सिटौलालाई के घाटा ?

Nepalfederal debet-five district

राजनीतिक टिप्पणी

११ पुस, काठमाडौं । एमाओवादीले सशर्त ६ प्रदेशमा जान सकिने संकेत देखाए पनि संघीयतासम्बन्धी विवादको गाँठो तराईका पाँच जिल्लामा पुगेर अड्किएको छ । पाँच जिल्लाका सात नेताका कारण विवाद थप जटिल बनेको छ ।

पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदुरपश्चिमका कैलाली र कञ्चनपुरलाई मधेसमा राख्ने कि पहाडमै गाभ्ने भन्ने विवाद अहिलेसम्म समाधान हुन सकेको छैन ।

रोचक पक्ष के छ भने तराईका यी पाँच जिल्ला केपी ओली, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, उपेन्द्र यादव, शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टको राजनीतिक भविश्यसँग जोडिएका छन् ।

कुनै हालतमा मधेस र पहाडलाई अलग गरेर प्रदेश बनाउन नदिने झापाली नेता केपी शर्मा ओलीको अडान छ । त्यसो गरिए भोलि मुलुक टुक्रन सक्नेसम्मको तर्क उनले अघि सारेका छन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका अर्का झापाली नेता कृष्णप्रसाद सिटौलाले पनि कुनै जिल्लालाई पहाड र तराईसँग जोड्ने, कुनैलाई नजोड्ने प्रस्ताव अघि सारिरहेका छन् । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला पनि झापाकै भएकाले ओली र सिटौलाको कुरो मिलेको छ । सिटौला लगायतका कांग्रेस नेताहरु पनि ओलीकै लाइनमा छन् ।

मधेसवादी दलका नेताहरु भने मधेसमा दुई प्रदेशसम्म बनाउन सकिने तर, मधेसका जिल्लाहरुलाई पहाडमा गाभेर प्रदेश बनाउन नहुने अडान लिइरहेका छन् । झापा, मोरङ र सुनसरीलाई मधेसमा मिसाउनुपर्ने माग गर्नेहरुमा पूर्वेली नेता विजय गच्छदार र उपेन्द्र यादवको जोड छ ।

जनताको होइन, नेताको झगडा

झापा, मोरङ सुनसरीलाई यही प्रदेशमा राख्नुपर्छ भनेर अहिलेसम्म जनता सडकमा निस्किएका छैनन् । अखण्ड सुदूरपश्चिम र थरुहटको माग गर्दै आन्दोलन भयो, आन्दोलनको बिउ नेताहरुले नै रोपेका हुन् । तर, झापा, मोरङ र सुनसरीका जनता अहिलेसम्म मौन छन् ।

झापा, मोरङ र सुनसरीको लडाइँ एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री कृष्ण सिटौला तथा फोरम अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारको लडाइँ भएको कांग्रेसका एक नेता बताउँछन् । उनी भन्छन्-‘यो जिल्लाको मात्र होइन, नेताहरुको पनि लडाइँ हो ।’

कांग्रेस र एमालेसहितका दलले सम्वाद समितिमा बुझाएको प्रस्ताव
कांग्रेस र एमालेसहितका दलले सम्वाद समितिमा बुझाएको प्रस्ताव

कांग्रेस नेताले थप रहस्य खुलाउँदै भने- ‘झापालाई मधेसमा राख्ने हो भने ओली र सिटौलाजीले आफ्नो चुनावी क्षेत्र खतरा परेको देख्नुभएको छ । त्यस्तै उपेन्द्र र गच्छदारजी मोरङ, सुनसरीलाई पहाडी प्रदेशमा राख्न चाहनुहुन्न ।’

पहाड र तराईलाई अलग गर्न नहुने बताउँदै आएका केपी ओलीले कांग्रेससँग मिलेर अघि सारेको सात प्रदेशको पछिल्लो प्रस्तावमा आफ्नो गृह जिल्ला र छिमेकका दुई जिल्ला (सुनसरी-मोरङ) लाई मात्रै पहाडमा गाभिको छ । तर, तराईका सप्तरीदेखि बर्दियासम्मका अन्य जिल्ला (चितवन बाहेक) लाई भने पहाडबाट अलग्याइएको छ ।

तराईका २० जिल्लामध्ये झापा, मोरङ र सुनसरीलाई मात्रै मधेसमा गाभ्न नदिनुमा झापाली नेताद्वय ओली र सिटौलाको प्रभाव मुख्य कारक रहेको मधेसी नेताहरुको विश्लेषण छ ।

ओलीले तराई र पहाडलाई मिलाएर मात्र प्रदेश बनाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, नेताहरु भन्छन्-यो उहाँले सार्वजनिक गर्ने तर्क हो । होइन भने कांग्रेस र एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा मधेसमा प्रस्ताव गरिएको दुई प्रदेशमा किन कुनै पहाडका जिल्ला जोडिएन ?’

एमाओवादीका एक उच्च नेता पनि पाँच जिल्ला विवादमा केही नेताको स्वार्थ रहेको स्वीकार गर्छन् ।

विवादित पाँच जिल्लामध्ये झापा एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाको गृहजिल्ला हो । पछिल्लो संविधानसभा चुनावमा ओली झापा-७ र सिटौला झापा ३ बाट चुनाव जितेका छन् ।

सप्तरीमा जन्मिएका मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि सुनसरी र मोरङलाई आफ्नो चुनाव क्षेत्र बनाउँदै आएका छन् । योपटक उनी सुनसरी र मोरङबाट चुनाव लडेका थिए, जसमा मोरङबाट पराजित भएका उनी सुनसरीबाट विजयी भए ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार सुनसरीका हुन् । सुनसरी-३ बाट विजयी उनी मोरङ-७ मा भने पराजित भए ।

कैलाली कञ्चनपुरमा देउवा र रावलको चासो

कैलाली र कञ्चपुरको विवादलाई भने कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावल र मधेसी नेताहरुबीचको लडाईँ मानिएको छ ।
देउवा र रावललाई एमाओवादी नेता लेखराज भट्टले पनि साथ दिएका छन् । देउवा डडेलधुरा र कैलाली ६ बाट चुनाव जिते भने रावल अछाम-१ का सभासद हुन् । भट्ट कैलाली ५ मा पराजित भए ।

कैलाली र कञ्चनपुरलाई पहाडबाट कटाएर मधेसमा गाभियो भने पश्चिमी पहाडमा आफ्नो राजनीतिक पकड कमजोर हुने देउवा र रावल दुबैमा डर छ । यही कारणले एमाले र कांग्रेसका यी दुबै नेताहरु कैलाली- कञ्चनपुरलाई पहाडमै गाभेर प्रदेश निर्माण गर्न चाहन्छन् ।

‘हाम्रा नेताहरु आकांक्षा प्रधानमन्त्रीको राख्नुहुन्छ, तर, मेरो जिल्ला भनेर अड्काउनुहुन्छ’ एक नेताले भने-मैले कहिले काँही भन्ने गरेको छु कि अब प्रधानमन्त्री होइन, आफ्नो प्रदेशको मुख्यमन्त्री बन्छु भनेर घोषणा गर्नुस् ।’

नेताहरुका अनुसार यसमा ‘गिभ एण्ड टेक’ गरेर ‘विन-विन’ सहमतिको सम्भावना छ ।

एकथरिले पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई पहाडसँग मिसाएर समाधान खोज्न सकिने अवधारणा ल्याएका छन् ।

त्यसमा पनि सहमति नहुने हो भने पूर्व-पश्चिम राजमार्गलाई आधार बनाएर राजमार्ग उत्तरको भाग पहाडी प्रदेशमा मिसाउने र दक्षिणको भागलाई तराई मधेसमा मिसाउन सकिने मध्यमार्गी धारणा पनि आइरहेको छ ।

यो पनि पढ्नुहोस् 

संविधान नबन्नुका कारण : पाँच पद र पाँच जिल्ला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment