Comments Add Comment

ओलीले मधेसी मोर्चालाई भने- बिहार र यूपीलाई पनि मधेस प्रदेशमा ल्याउने ?

KP Oli and Rajendra mahato

२३ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको चर्काचर्कीपछि चार दलको बैठक भाँडिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा राज्य पुनःसंरचनामा सबैभन्दा विवादित बनेको मधेसका पाँच जिल्लाबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले माओवादी र मधेसी मोर्चासँग मंगलबार साँझ सकारात्मक छलफल भएको भन्दै अब सहमति गरेर जानु पर्ने बताए ।

त्यसलाई समर्थन गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड केहीबेरका लागि भन्दै बाहिरिए ।

मधेसी मोर्चाको तर्फबाट बैठकमा आफ्नो कुरा राख्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई मधेसमा बन्ने प्रदेशहरुमा राख्नु पर्ने बताए । मधेसी मोर्चा र ३० दलले समेत पाँच जिल्लालाई मधेसमा बन्ने मधेस र थरुहट प्रदेशमा राखेको भन्दै उनले त्यही उचित हुने तर्क गरे ।

यो पनि पढ्नुस् :  झापालाई मधेसमा गाभ्दा ओली र सिटौलालाई के घाटा ?

लगतै एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरे । उनले मधेसका जिल्लाहरुलाई मधेसमा बन्ने प्रदेशहरुमा राख्नु पर्ने मागलाई बेतुकको कुरा भने । स्रोतका अनुसार बैठकमा ओलीले समथर भूमि मधेसमै राख्ने हो भने भारतको बिहार र यूपीलाई पनि मधेस प्रदेशमा ल्याउने भन्दै प्रश्न गरेका थिए ।

एमाले अध्यक्ष ओली निकै आक्रमक ढंगबाट प्रस्तुत भएपछि बैठक भाँडियो । ‘आज सहमति गर्ने भनेर नै बसेका थियौं । तर, ओलीले असहज ढंगले प्रस्तुत भएपछि वातावरण विग्रियो’ मधेसी मोर्चाका एक नेताले भने ।

माओवादी नेताहरुले पनि ओलीका कारण बैठक भाँडिएको आरोप लगाएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड फेरि बालुवाटार पुग्दा चार दलका नेताहरु लाखापाखा लागिसकेका थिए । मधेसी मोर्चाका नेताहरु र एमाओवादी नेताहरु एक ठाउँमा थिए भने अरु अर्कोतिर भइसकेका थिए ।

स्रोतका अनुसार बैठक भाँडिएपछि प्रधानमन्त्री र प्रचण्डको पहलमा संविधानसभा अध्यक्ष सवासचन्द्र नेम्वाङले बोलाइएको बैठकमा जाने सहमति गरेर नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

कनिका बुकाएको मात्र हो : ओली

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले बैठकमा ‘पाखुरा सुर्किएर राज्य पुनःसंरचना नहुने बताए । ‘पाखुरा सुर्किएर हुने होइन । कसले कति सुर्किएर होइन’ उनले भने-‘तर्कले औचित्य पुष्टि गर्ने कि बन्द हड्तालले दबाव दिने ?

आफूले बैठकमा समथर देखिएको सबै चाहिने हो भने युपी र बिहार पनि दाबी गर्ने कि भनेको भन्दै एमाले अध्यक्ष ओलीले भने भने-‘के निहुँ पाउँ कनिका बुकाउँ भन्ने भनाइ छ । उहाँहरुले कनिका बुकाएको मात्र हो ।’

ओलीले अपमान गरे : महतो

सदभावना अध्यक्ष महतोले मोर्चाले आफ्ना कुरा राख्दा एमाले अध्यक्ष ओलीले ‘बेतुकको कुरा नगर्नुस्’ भन्दै आफूहरुको अपमान गरेको आरोप लगाए । उनले भने-‘हामीले भारतको भूभागलाई पुनःसंरचना गर्न लागेको त होइन । यस्ता आपत्तिजनक कुरा किन उठाउनु भयो ? यो हामीलाई ह्युमिलेसन गर्ने काम भयो ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीको कारण वार्ता भाँडिएको बताए । यथास्थितिमै संघियतामा जानुपर्ने एमालेको अडान गलत भएको उनले दाबी गरे ।

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका एमाओवादी अध्यक्ष प्रचण्डले बैठकमा भन्न लायक केही कुरा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment