+
+
Shares

सम्बन्धको आयु

सम्बन्धको घाउ सर्वाधिक दुख्ने घाउ हो। यसकै डाहले यो एकबारको जीवनप्रतिको मोह त्याग्ने अवस्थामा पुग्नु पक्कै राम्रो होइन। सम्बन्ध र जीवन अलग हुन् भन्न हामी ढिलो गरिरहेका त छैनौँ ?

सविता विमली सविता विमली
२०८३ जेठ १७ गते ९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्बन्धमा आउने उतारचढाव र यसको मानसिक तनावका कारण कतिपय मानिस आत्महत्याको निर्णयसम्म पुग्ने गरेका छन्।
  • पीडाको कुनै लिङ्ग नहुने हुँदा सम्बन्धविच्छेद र पारिवारिक कलहबाट महिलाका साथै पुरुष पनि उत्तिकै पीडित हुने गरेका छन्।
  • पुरुषले मागेको सम्बन्धविच्छेदमा अदालतले सहजै फैसला नगर्दा र हतारमा मुद्दा टुङ्ग्याउँदा न्याय सम्पादनमा गम्भीर असर पुगेको देखिन्छ।

के तपाईंले हुरुक्कै भएर माया गरेको मानिसप्रतिको माया आजको मितिसम्म उस्तै छ ?

कुनै समय तपाईंले अतिशय घृणा गरेको मानिसप्रतिको घृणाको रूप आजसम्म उस्तै छ त ?

छैन।

यी दुवै प्रश्नको उत्तर यही हो।

न प्रेम, न घृणा, केहीको पनि आयु लामो हुन्न। नहुने रहेछ।

पूर्वप्रेमिकालाई वर्षौंपछि भेटेपछि उसलाई लाग्छ- नभेटेकै भए हुने रहेछ; अनन्त तृष्णाजस्तो भएर बसेको कलिलो हृदयको प्रेमको स्वरूप खलबलिने त थिएन। उसले बिहे गरी। दुई छोराछोरीकी आमा बनी। उसले कहिल्यै घृणा गरेन। एक किसिमले अविचलित माया अनि प्रतीक्षा गरिरह्यो।

अचानक उसले श्रीमान् गुमाएको खबर ऊसम्म आइपुग्यो। यसबीचमा निकै समय बितिसकेको थियो। यस बेलासम्म ऊ अरू कसैसँग प्रतिबद्ध भइसकेको थियो। यदि यस्तो हुँदैनथ्यो भने ऊ सन्तानसहितकी प्रेमिकासँग सँगै हुने सम्भावना सुनाउँछ। स्कुले फ्रक लगाएर हिँडिरहेकी ऊ सधैँ उसको सपनामा आउँथी। उसलाई भेट्न ऊ मरिहत्ते गर्थ्यो; ऊ नजिकै पर्दैनथी।

ऊ यस्ता सपना बारम्बार देखिरहन्थ्यो। उसलाई त्यही ‘नोस्टाल्जिया’ अतिशय प्यारो रहेछ भन्ने कुरा उसले पुरानो प्रेमिकालाई भेटेपछि मात्र थाहा पायो। भेटेपछि त्यो पुरानो अनुहार नै हराएको उसको गुनासो म चुपचाप सुनिरहेकी छु।

विवाह गरेको श्रीमान् समलिङ्गी रहेको थाहा पाउन उसलाई निकै समय लाग्यो। विवाहभन्दा अगाडि हुरुक्क भएर माया देखाउने मान्छे विवाहपछि किन तर्किन्छ ? किन झर्किन्छ ? सहबासमा किन उसको आकर्षण छैन ? बल्लतल्ल गर्भवती भएकी उसलाई किन गर्भपतन गराउन दबाब दिइरहेको छ ? यी प्रश्नका उत्तर थाहा पाएपछि पनि उसलाई यिनको सहज समाधान के हुन सक्छ थाहा थिएन।

वर्षौंपछि निस्किएको समाधान सम्बन्धविच्छेद थियो। उसले छोरीका लागि बाबुको अंश दाबी गरेर मुद्दा लडी र हारी। आफ्नै वकिल पनि मुद्दामा सहयोगी नभएको सुनाउँछे। एक्लै छोरीको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेकी छे। उसले छोरीलाई बाबुसँगको सम्पर्क र सम्बन्धमा कुनै बाधा गरेकी छैन।

आफ्नै पौरखमा छोरी हुर्काइरहेकी उसलाई सुनेपछि यस्तै पात्रको प्रेममा परेर विवाह गरेकी ऊ आँखामा आउँछे। उसको लोग्नेले आफ्नो साथीसँग सम्बन्ध राखेर बच्चा जन्माउन दबाब दिएपछि उसले भागेर आफूलाई जोगाएकी थिई।

‘मर्न भनेर खोलामा जाँदा किनारमा बयली खेलिरहेका सेताम्य काँस देखेर मलाई जीवनको माया लाग्यो। काठमाडौँ जिल्ला अदालतको पुरानो भवनबाट सम्बन्धविच्छेद गरेर निस्कँदा मलाई माइतीघर निस्कने बाटोसमेत थाहा थिएन। लोग्नेले गराउन खोजेको बलात्कारबाट जोगिएकी म कुमारी नै विवाहबाट निस्किएँ र अहिले यहाँसम्म आइपुगेकी छु र खुसी छु। उसको पनि राम्रो होस् भन्ने नै कामना गर्छु। समाजले उसको यौनिक पहिचानलाई सहज रूपमा लिइदिएको भए उसले ‘आफू पुरुष हुँ’ भन्न विवाह गर्नुपर्ने थिएन। र, त्यो विवाहका कारण ममाथि हिंसा हुने थिएन।’

ऊ सुनाउँछे।

यात्रामा छु। ‘म के गरूँ ? मलाई सम्झा न साथी !’ फोनमा ऊ डाँको छोड्छे।

भोलिपल्ट घरमै आउँछे। ‘मेरो अपमान भो। म कसरी सहनु ?’ बालकैमा आमा गुमाएकी ऊ ‘मलाई पनि लैजाऊ न आमा’ भन्दै छाती पिट्छे। फेरि ‘बच्चा सानै छन्, मर्न पनि सक्दिनँ’ भन्छे। ऊ कुनै संस्थाकी प्रमुख हो। ऊसँगको हरेक संवादपिच्छे म दुखिरहेकी छु। ‘मेरो अपमान भो’ भन्ने उसको शब्दले मलाई भित्रैदेखि हल्लाएको छ।

‘तिमी एउटा बच्चा राख, म एउटा राख्छु। दुई–चार वर्षपछि हामी फेरि मिल्नुपर्छ। पछि यी छोराछोरीले नै मिलाइहाल्छन् नि,’ भनेर श्रीमतीलाई सम्बन्धविच्छेद गर्न मनाएको श्रीमान्‌ले केही महिनापछि नै श्रीमतीसँग भएको बच्चा लिएर गयो। केही वर्षपछि विवाह गर्‍यो। आमासँग वर्षौंसम्म भेट गर्न बन्देज गर्‍यो; गरिरहेको छ। ‘मसँग भएको माया मैले कसलाई पोखूँ ?’ सन्तानलाई वात्सल्य पोख्न नपाएकी ऊ मलाई प्रश्न गर्छे। म निरुत्तर उभिन्छु।

‘बच्चाहरूलाई खुवाउने पानी किन्न नसक्दा नजिकैको बैङ्कमा भौचर भरेजस्तो गरेर बोतलमा पानी भरेर ल्याएर खुवाएकी छु,’ बीच बाटोमा उभिएर ऊ सुनाउँछे।

‘कसरी यस्तो भयो ?’

‘उसले ‘म सबै गर्छु, तिम्रो अंश भाग म दिइहाल्छु नि ! अहिलेलाई डिभोर्स गरौँ’ भनेर फकायो। मैले पत्याएँ ।’

‘महिला न्यायाधीश कहाँ पर्दा मुद्दाको महिला पक्ष खुसी हुने र पुरुष न्यायाधीश कहाँ पर्दा पुरुष पक्षबाट न्याय हुन्छ कि’ भन्ने आशा राखिनु गलत हो। यस्तो थिति बढ्दै गयो भने हाम्रा न्यायालयहरू पनि पीडाको अर्को कारखाना हुन सक्ने सम्भावना बढ्दो छ

श्रीमान्‌को वचन मानेर सम्बन्धविच्छेद गरेकी उसले पहिले भनेअनुसारको सम्पत्ति दिन आग्रह गरी। अब उसका अघि श्रीमान्‌ले अदालतको फैसला तेर्स्यायो । सम्पत्ति नलिने र छोराहरू आमासँगै रहने भनी श्रीमतीका तर्फबाट सम्बन्धविच्छेद मागिएको थियो। श्रीमतीलाई त उसले बोलेको पूरा गरेन नै, अदालतको फैसलामा लेखेको छोराहरूको आर्थिक जिम्मेवारी लिने भनिएको कुरा पनि पूरा गरेन।

शुल्क तिर्न नसकेर विद्यालयले दिएको तनावका कारण जेठो छोरा त रातभर सुत्न सक्दैन, ऊ सुनाउँछे। किशोर उमेरका दुई छोराको सम्पूर्ण जिम्मेवारी सकिनसकी उसैले उठाउँदै आएकी छ।

‘मैले दुईपटक आत्महत्याको प्रयास गरेँ। म आधा सम्पत्ति श्रीमतीलाई दिएर बच्चाहरूको सम्पूर्ण जिम्मेवारी पनि लिन तयार छु। कानुनले सम्पत्ति सबै अंशियारहरूलाई बराबर भाग लगाउनुपर्छ भन्छ नि,’ भन्दा ऊ अगाडि थप्छ, ‘सानैमा विवाह भयो। श्रीमतीसँग जति विवाद, असमझदारी भए पनि ऊ मेरा सन्तानकी आमा हो। हामी श्रीमान्–श्रीमती नरहे पनि सन्तानका आमाबाबु सधैँ रहन्छौँ। उसलाई पनि केही गरेर बाँच्न सक्ने आधार बनाइदिनु मेरो कर्तव्य हो। म ऊसँग बस्न नसके पनि उसलाई सडकमा छोडेर खुसी हुन सक्दिनँ। म अझै काम गर्न, कमाउन सक्छु। म ‘पिसफुल एक्जिट’ चाहन्छु।’

उसको प्रस्ताव मानिएन। अंश मागेर मुद्दा हालियो। सहमतिमा ल्याउने कोसिस सफल भएन। फैसलाले अंश दियो; सम्बन्धविच्छेद दिएन।

श्रीमतीलाई अंश दिने फैसला गरिए पनि पुरुषले मागेका सम्बन्धविच्छेदमा अदालत वादी दाबी नपुग्ने फैसला गरेर तर्किन्छ। ‘अंश दिएपछि अर्को व्यवहार (पुनर्विवाह) गर्न मिलिहाल्छ नि,’ इजलासमा माननीय न्यायाधीशहरू नै भनिरहनुहुन्छ। अंशबन्डापछि पति या पत्नी जसले विवाह गरे पनि स्वतः सम्बन्धविच्छेद हुने कानुनी व्यवस्था भएकाले इजलासले पनि पुरुषहरूलाई सम्बन्धविच्छेद चाहिने भए अर्को विवाह गर भनिरहन्छ। अर्को विवाह नगरी पत्नीलाई अंश दिएर सम्बन्धविच्छेद गरी एक्लो जिन्दगी बाँच्न चाहन्छु भन्ने पुरुषहरूलाई अदालतले जानीजानी अन्याय गरिरहेको छ।

पहिलो सम्बन्धविच्छेदपछिको दोस्रो विवाह पनि सुखद भएन। उसले केही त्यस्ता दृश्य देखेको छ, जुन देख्न त के सुन्न पनि असाध्यै कठोर हुनुपर्छ। सम्बन्धमा यी सबको दर्शक हुन सजिलो पक्कै हुँदैन। यसको निकास के ? फेरि डिभोर्स ? ‘फेरि पनि सम्बन्धविच्छेद भयो भने मलाई समाजले के भन्छ ?’ भन्ने सोचेरै ऊ अवसादमा पुग्यो। अहिले बल्लतल्ल आफूलाई सम्हालेर हिँड्ने कोसिस गर्दै छ।

के पटकपटक सम्बन्धविच्छेद हुनु अपराध हो ? होइन। अब फेरि ऊ दोस्रोपटक अदालतमा सम्बन्धविच्छेदको याचनासहित उभिएको छ।

‘आफ्नो भागको सम्पत्ति कानुनबमोजिम भाग लगाएर छुट्टिन्छु’ भन्नु दोषी हुनु पक्कै होइन। जीवनभन्दा सम्बन्ध ठूलो होइन। हुँदै होइन र कहिल्यै हुनु पनि हुँदैन।

सम्बन्ध समान बन्धनको योग हो। एकबाट दुई भएपछि व्यक्तिको जीवनमा कम्तीमा केही न केही त ‘प्लस’ हुनुपर्ने हो। तर, कहिल्यै केही प्लस नहुने सम्बन्ध भनेको कहिल्यै निको नहुने घाउ नै हो। यस्तो सम्बन्धले जीवनलाई सहज, सन्तुलित, हराभरा र जीवन्त बनाउँदैन।

यी असन्तुलनलाई न्यायिक निकायले नै न्यायिक रूपमा सन्तुलित बनाउने हो। तर, हाम्रा अदालतहरूले पुरुषले मागेको सम्बन्धविच्छेदमा फैसला गरिहाल्ने आँट गरेको त्यति देखिँदैन। हुँदै नभएका भने होइनन्। उच्च या त सर्वोच्चसम्म मिसिल नउक्लिई विच्छेदसम्म पुग्न सकेको त्यति देखिएको छैन।

गत वर्ष पत्रकार उमेश श्रेष्ठले आफ्नो ब्लगमार्फत वैवाहिक जीवनमा आफूले भोगेको कहर सार्वजनिक गरे। सामाजिक सञ्जालमा सधैँ महिलाको पक्षमा बोल्ने र लेख्ने धेरै जना महिला मित्रहरूले त्यो आलेखलाई ‘पीडाको कुनै जेन्डर हुँदैन’ भन्दै सेयर गर्नुभयो। वास्तवमै पीडाको कुनै लिङ्ग हुँदैन। महिला पनि मान्छे हो र ऊबाट पनि गल्ती हुन्छ।

बल्लतल्ल सम्हालिँदै गरेको गृहस्थी बचाउन आफ्नोतर्फबाट गरेका सम्झौताका फेहरिस्त ऊ सुनाउँछ। आफूलाई कतिकति भाँचेपछि सम्बन्धमा कहाँकहाँ हाँगा पलाए भन्ने उसको कथाले भन्छ कि- सम्झौता महिलाको भागमा मात्र पर्दैन। पुरुषले पनि गर्छ।

श्रीमतीले मुद्दा हालेपछि ऊ आफूलाई सम्हाल्न सक्दैन। एक्लो घरमा झुन्डिएको उसको शव पनि गन्हाएपछि मात्र आफन्तले थाहा पाउँछन्। प्रेम असफल भएपछि एक चिकित्सकले कोसीमा जीवन विसर्जन गरेको, नेपाली सेनाका मेजरले पनि वर्षामा भेरी नदीमा आफूलाई बगाइदिएको समाचार अब पुरानो भइसक्यो।

सम्बन्ध विग्रहको कारण महिला पनि हुन सक्छ भन्ने विस्तारै देखिँदै छ। सम्बन्धको तराजुमा पुरुषको पल्लामा परिरहने धोकाधडी, हिंसा महिलाको पल्लामा पनि सर्न थालेको झैँ देखिन्छ। अब कारक पुरुष मात्र होइन, महिला पनि हुन थालेको महसुस हुन्छ।

अदालतमा पुग्ने गरेका सम्बन्धविच्छेदका मुद्दामा को बढी पीडित ? कसलाई चाहिँ साँच्चिकै न्याय चाहिएको छ ? दुई पक्षका दाबी र जिकिरका बीचमा न्याय कहाँ छ ? सत्य कहाँ उभिएको छ ? महिलाले माग्दा दिइहाल्ने र पुरुषले माग्दा शङ्का गर्ने अदालती नजर कति न्यायिक छ ? सम्बन्धविच्छेदको मुद्दा लिएर अदालतमा उभिएका कति महिला आफ्नै मर्जीले आएका हुन् ? फिराद लिएर आउँदैमा महिलाको मर्जी हुन्छ भन्ने कुरा कसरी मान्ने ? यसको छिनोफानो कसले र कसरी गर्ने ?

‘महिला न्यायाधीश कहाँ पर्दा मुद्दाको महिला पक्ष खुसी हुने र पुरुष न्यायाधीश कहाँ पर्दा पुरुष पक्षबाट न्याय हुन्छ कि’ भन्ने आशा राखिनु गलत हो। यस्तो थिति बढ्दै गयो भने हाम्रा न्यायालयहरू पनि पीडाको अर्को कारखाना हुन सक्ने सम्भावना बढ्दो छ।

आर्थिक वर्ष समाप्तिको यो समयमा हाम्रा अदालतहरूमा मुद्दा फैसलाको दर बढ्ने गर्छ। अङ्ग पुगेका, कहिले त नपुगेकै मुद्दा भए पनि माननीयहरूले फैसला गरिदिनुहुन्छ। आर्थिक वर्षको चटारो हेरेर मुद्दा छिनिनु भनेको पक्षमाथि अन्याय हो।

फैसलाको अभिलेख र आफ्नो कार्यसम्पादन देखाउनकै लागि गरिने यस्ता फैसलाले समग्र अदालतको साखमा प्रश्न उठ्न सक्छ। यसतर्फ सम्बन्धित सरोकारवालाहरूको ध्यान जान जरुरी छ।

यो ब्रह्माण्डमा सबै कुराको आयु छ। हामी मानिस स्वयम् मरणशील प्राणी हौँ। हामी पनि आ–आफ्नो निश्चित आयु लिएर जन्मिएका छौँ। जन्मँदै लिएर आएका शाश्वत सम्बन्धहरूले त कहिलेकाहीँ आफ्नो धर्म बिर्सन्छन् भने पछि जोडिने सम्बन्धहरूमा हामी अविचलित निष्ठा खोजिरहेका छौँ। सम्बन्धहरूको पनि आयु हुन्छ। र, कहिलेकाहीँ ती सम्बन्धहरू समय अगावै मृतप्रायः बनिदिन्छन्। यो पनि मानिसको जीवन–मरणजस्तै विषय हो भन्ने कुरा स्वीकार गर्न हामीले सकिरहेका नै छैनौँ।

मानिस सम्बन्धका सकस झेल्न नसक्ने हुँदै गएको छ। सम्बन्धको बोझले थिचिएको, किचिएको छ। समाचारहरूमा आएका विवरणहरूको ‘फ्याक्ट चेक’ गरेर सत्य सबैको सामु उजागर पार्दै आइरहेका पत्रकार श्रेष्ठलेसमेत आफ्नो सम्बन्धको सत्य स्वीकार गर्न नसकी आत्महत्याको सोचसम्म बनाएको कुराले के देखिन्छ भने- सम्बन्धको घाउ सर्वाधिक दुख्ने घाउ हो। यसकै डाहले यो एकबारको जीवनप्रतिको मोह त्याग्ने अवस्थामा पुग्नु पक्कै राम्रो होइन। सम्बन्ध र जीवन अलग हुन् भन्न हामी ढिलो गरिरहेका त छैनौँ ?

लेखक
सविता विमली

सविता विमली अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?