News Summary
Generated by OK AI. Editorially reviewed.- अस्पतालमा उपचाररत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् ।
- सुदूरपश्चिमको कार्यक्रमबाट फर्केपछि ज्वरो र माइल्ड निमोनिया देखिएपछि उनलाई शनिबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
- अस्वस्थताका कारण उनी १५ जेठको बजेट सार्वजनिक हुने दिन संघीय संसद बैठकमा समेत अनुपस्थित थिए ।
१७ जेठ, काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकले परिवारका सदस्य र पार्टीका नेताहरुलाई दिएको जानकारीअनुसार सुधार निरन्तर जारी रहे भोलि नै डिस्चार्ज हुने सम्भावना छ ।
प्रचण्डलाई उपचारका लागि शनिबार बिहान मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई केही दिनदेखि ज्वरो आएको थियो । स्वास्थ्य परीक्षणका क्रममा ‘माइल्ड निमोनिया’ देखिएको भन्दै चिकित्सकले भर्ना हुन सुझाव दिएका थिए ।
आज बिहान प्रचण्डलाई भेट्न अस्पताल गएका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको बताए । ‘अहिले स्वास्थ्यमा सुधार भइरहेको छ, सुधार जारी रहे भोलि नै डिस्चार्ज हुन सक्छ,’ सापकोटाले चिकित्सकको भनाइ अनलाइनखबरलाई सुनाए ।
प्रचण्ड यही जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा गएर फर्किएदेखि अस्वस्थ भएका थिए ।
‘धनगढीबाट सायद धेरै गर्मी भएर होला पसिनाले कपडा भिजेका थिए, काठमाडौं आएको भोलिपल्टदेखि नै ज्वरो आइरहेको थियो । तर उहाँ पार्टीका काममा सक्रिय नै हुनुभयो, पछि अहिल असहज भएपछि अस्पताल लगिएको थियो,’ प्रचण्डको पारिवारिक स्रोतले भन्यो, ‘जाँच गर्दा माइल्ड निमोनिया देखियो ।’
प्रचण्डलाई अस्पतालमा भेटेका युवा नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले पनि प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ । भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हुँदै हुनुहुन्छ ।’
अस्वस्थ भएको भन्दै प्रचण्ड जेठ १५ गते बजेट सार्वजनिक हुने दिन संघीय संसद बैठकमा पनि उपस्थित थिएनन् ।
प्रतिक्रिया 4