२९ पुस, काठमाडौं । २९ पुस, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुवीच सहमति हुन नसकेको व्यहोरासहितको प्रतिवेदन संविधानसभा अध्यक्षलाई बुझाएका छन् ।
आफ्नै पार्टीले आयोजना गरेको उपत्यका बन्दलाई छिचोल्दै सिंहदरबार पुगेका सभापति डा. भट्टराईले सभाध्यक्ष नेम्वाङको च्याम्बरमा पुगेर प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदन बुझ्ने क्रममा सभाध्यक्ष नेम्वाङले माघ ८ मा संविधान जारी गर्ने कार्य अप्ठ्यारो भएको बताए । आफूले दलहरुलाई सहमतिका लागि दिएको चार दिन समयमा पनि सहमति नभएको नेम्वाङले गुनासो गरे ।
नेम्वाङले भने-‘समयमै प्रतिवेदन बुझाएकोमा धन्यवाद तर जे जिम्मेवारी दिएर निर्देशन दिइएको थियो, त्यो पूरा हुन सकेन, यो दुःखद हो ।’
अब अन्तरवस्तुमा नभए पनि दलहरुवीच प्रक्रियामा सहमति हुनुपर्ने नेम्वाङले बताए । उनले अब संविधान, नियम, कानून र स्थापित मान्यता अनुसार अघि बढ्ने जानकारी दिए ।
प्रतिवेदन बुझाउँदै सम्वाद समितिका सभापति डा. भट्टराईले धेरै विषयमा दलहरु सहमतिको नजिक पुगे पनि एकमुष्ट विषयमा सहमति खोजिएको बताए ।
उनले भने-‘निर्वाचन प्रणालीमा सैद्धान्तिक सहमति भैसकेको छ, न्यायप्रणालीमा लगभग सहमति छ, शासकीय स्वरुपमा पनि दलहरु लचिलो छन् ।’
आंशिक रुपमा भएको सहमति पारित नगर्ने सहमतिको कारण अनुमोदन हुन नसकेको उनले बताए ।
प्रतिक्रिया 4