Comments Add Comment

विपक्षीसँग वाता नगर्ने ओलीको प्रस्ताव देउवा र नेपालले मानेनन्

Kp-oli,-madhav-and-dauba

११ माघ, काठमाडौं । एमाओवादीसहितको विपक्षी मोर्चासँगको वार्तालाई लिएर सत्तारुढ दलका नेताहरुको मत बाझिएको छ ।

संविधानसभाबाट प्रश्नावली समिति बनापछि कांग्रेस, एमाले, राप्रपासहितका दलका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा विपक्षीसँग वार्ता गर्ने नगर्नेबारे नेताहरुले फरक फरक धारणा राखेका छन् ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले यसलाई हार जितका रुपमा लिन नहुने धारणा राखे । तर, एमाले अध्यक्ष ओलीले प्रश्नावली समिति गठनसँगै विपक्षी मोर्चा हारेको टिप्पणी गरेका छन् ।

एक नेताका अनुसार उनले तत्काल विपक्षीसँग वार्ता गर्न आवश्यक नभएको बताए । सभाध्यक्षले वार्ताका लागि भनेर दिएको पाँच दिनको समयमा सत्ता पक्षले विवादित विषयमा साझा मस्यौदा बनाउनुपर्ने भन्दै ओलीले भने-‘यो समयको भरपूर सदुपयोग गरेर हामीले आफ्नो काम सबैसक्नुपर्छ ।’

विपक्षीले एउटा हातमा हरियो घाँस र अर्कोमा लठ्ठी लिएको भन्दै उनले वार्तामा नअल्मली अघि बढ्नु पर्ने बताएका छन् । ‘यीनीहरुलाई विश्वास गर्नु हुँदैन । अहिले वार्ताको के आवश्यकता छ र ?’ ओनलीले भने-‘हामी अघि बढ्नुपर्छ ।’

विपक्षीले आफूहरुको बारेमा गलत प्रचार गरेको भन्दै काठमाडौंसहितका मुख्य शहरहरुमा जनसभा गर्नु पर्ने उनको प्रस्ताव थियो । साथै अन्तराष्ट्रिय समुदायमा समेत केही भ्रम रहेको भन्दै उनले त्यसलाई प्रष्ट पार्नु पर्नेमा जोड दिएका छन् ।

स्रोतका अनुसार बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका केही नेताले वार्ता नगर्ने ओली अडानलाई समर्थन गरे ।

देउवा र नेपाल सम्वादको पक्षमा

बैठकमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपालले भने उत्तेजित नहुन नेताहरुलाई आग्रह गरेका छन् । प्रश्नावली समिति नबन्दासम्म मात्र वार्ता नगर्ने निर्णय भएको भन्दै उनीहरुले अब सम्वाद थाल्नु पर्ने बताए ।

बैठकमा देउवाले प्रश्नावली समिति गठनमा विपक्षीले सहयोग गरेको बताए । ‘उनीहरु उग्र होलान भन्ने लागेको थियो तर, नारामात्र लगाए र ठाउँ राखेका छन’ बैठकमा देउवाले भने ।

सत्ता पक्ष उत्तेजित हुने र आमसभा गर्दै हिड्ने समय नभएको भन्दै देउवाले जनसभा गर्ने ओलीको प्रस्तावको विरोध गरेका छन् ।

बैठकमा साना दलका नेताहरुले भने कांग्रेस, एमालेले बनाएको नौंबुँदेमा आफूहरुको असहमति रहेको भन्दै कसरी सम्बोधन गर्ने प्रष्ट पार्न माग गरेका छन् । ‘हामीले प्रक्रियामा जान मात्र सहयोग गरेका हौं । केही विषयमा विमति छ, यसलाई कसरी संशोधन गर्ने प्रष्ट पार्न आग्रह गरेका छौं’ साना दलका एक नेताले भने ।

सत्तारुढ दलहरुको बैठक सोमबार फेरि बस्नेछ । बैठकमा साझा वक्तव्य जारी गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment