+
+
Shares

होस्टललाई नियमन गर्दै चितवन प्रशासन

कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरुलाई १५ दिनभित्र पूरा गर्न निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालनमा रहेका होस्टललाई व्यवस्थित र सुरक्षित बनाउन १५ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
  • प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, 'होस्टललाई केबल व्यापारिक ‘होटल’का रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ।'
  • होस्टलको मापदण्ड तथा आचारसंहिता तयार पार्न रमेश अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

१० साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ ।

कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरुलाई १५ दिनभित्र पूरा गर्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दर्ता नभएका होस्टलहरुलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन एवं संयुक्त निर्णय गरिएको बताए ।

‘होस्टललाई केबल व्यापारिक ‘होटल’का रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ’ उनले भने। उनले विद्यार्थीको सुरक्षा र अनुशासनमा होस्टल सञ्चालक पूर्ण रूपमा जवाफदेही हुनुपर्नेसमेत बताए ।

होस्टल सञ्चालनका लागि आवश्यक पूर्वाधार, पूर्वसर्त, लिन पाइने शुल्क, अनुशासन तथा व्यावसायिक नैतिकता समेटेर मापदण्ड वा आचारसंहिताको मस्यौदा तयार पार्न एक कार्यदल गठन गरिएको उनले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका सहायक निर्देशक रमेश अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा भरतपुर महानगरपालिकाका अधिकृत रवीन्द्रदेव देवकोटा र होस्टल एसोसिएसनका अध्यक्ष आरती शाह सदस्य रहेका छन् ।

कार्यटोलीलाई १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउन समय दिइएको छ ।

होस्टलमा कुनै शङ्कास्पद वा अवाञ्छित गतिविधि देखिएमा तत्काल सुधारात्मक उपाय अपनाइ नजिकैको सुरक्षा निकायमा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने निर्णय भएको छ ।

यी निर्णयसँगै चितवनमा सञ्चालित होस्टललाई कानुनी दायरामा ल्याई विद्यार्थीको सुरक्षा र गुणस्तरीय वातावरण सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

भरतपुर महानगरभित्र ६६ वटा होस्टल सञ्चालनमा छन् । बाहिरबाट अध्ययन, रोजगारीलगायत लागि भरतपुर क्षेत्रमा आएकाहरु ती होस्टलमा बसोबास गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?