Comments Add Comment

स्वाइन फ्लुको जोखिम उच्च, सतर्कता फितलो

८ फागुन, काठमाडौं । सीमा जोडिएको छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको महामारी फैलिँदै गए पनि नेपालमा सुरक्षा सतर्कता फितलो छ । सीमा नाकाबाट नेपाली र भारतीय नागरिकको आवत जावत भैराख्ने हुँदा कुनै पनि बेला स्वाइनफ्लुको महामारी नेपालमा फैलिन सक्ने सरोकारवाला बताउँछन् ।

symptoms of Swinflue

अन्तराष्ट्रिय कानुन बाधक

स्वाइनफ्ले एच वान एन वान नामको भाइरसबाट एकअर्कामा सर्छ । छिमेकी देश भारतमा यो भाइरसको संक्रमणबाट झण्डै ६ सय जनाको मृत्यु भैसकेको छ । अन्य १० हजार भन्दा धेरै जना संक्रमित भएको अनुमान छ ।

भारतमा संक्रमणको दर बढ्दै गएकोले नेपालमा पनि त्यसको महामारी नआउला भन्न सकिन्छ । तर, सीमा नाकामा संक्रमितको स्वास्थ्य जाँचको व्यवस्था छैन । ‘सीमा नाकामा एच वान एन वान भाइरस चेकजाँचको अन्तराष्ट्रिय नियम छैन, त्यसैले सिमा क्षेत्रमा जाँच गरिएको छैन,’ ईपीडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बाबुराम मरासीनीले अनलाइनखबरसँग भने ।

समन्वय पनि छैन

सरकारकै सरोकारवाला निकायबीच पनि सुरक्षाको उपाय अपनाउनेबारे समन्वय छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्द तयारीको उपायबारे आफूलाई केही थाहा नभएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘के के तयारी भैराछ भन्ने मलाई थाहा छैन, ईपिडिमियोलोजीले यो सब हेर्दछ, बाबुराम जीले जानकारी गराउनु भएको छैन ।’

मरासिनीका अनुसार काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा स्वाइनफ्लु संक्रमितको उपचारको व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीलाई उपचारको तालिम पनि दिइएको छ । तर, हालको तयारी पर्याप्त भने छैन । अहिले फाट्ट फुट्ट देखा परे पनि महामारीको अवस्था भने छैन । महामारीको रुपमा भित्रिए ठूलो समस्या पर्न सक्ने उनले बताए । उनले भने, ‘महामारी फैलियो भने समस्या पर्न सक्छ, किनकी हामीसँग औषधी उपचारको पर्याप्त व्यवस्था छैन ।’

स्वाइनफ्लु लागेको कसरी थाहा पाउने ?

स्वाइनफ्लु लागेमा रुघाजस्तै लक्षण देखिन्छ । नाक बन्द हुने, पातलो सिगान बगिरहने, हाच्छ्यू आउने, खोकी लाग्ने, थकाई महसुस हुने, खान मन नलाग्ने यसका प्रारम्भिक लक्षण हुन् । यसका साथै कडा ज्वरो आउने, झाडा पखाला लाग्ने पनि हुन्छ । त्यसैले रुघा खोकी वा यस्तै कुनै लक्षण देखिए सामान्यरुपमा लिनु हुँदैन । रुखाखोकी लागेमा नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराइहाल्न चिकित्सकहरुको सुझाव छ ।

safe way for Swinflue

कसरी बँच्ने ?

स्वाइनफ्लु हावा वा संक्रमित बस्तुको माध्यमबाट एक अर्कामा सर्दछ । त्यसैले भिडभाडमा नजान, बाहिर निस्किँदा राम्रोसँग नाकमुख छोपिने गरी मास्क प्रयोग गर्न र कसैसँग भेट हुँदा सकेसम्म हात नमिलाउन चिकित्सकहरुले सुझाव दिएका छन् । विशेषगरी हाच्छ्यूँ गरेपछि हातमुख बेलाबेला धोइरहनु पर्ने उनीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment