Comments Add Comment

काठमाडौंमा ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड प्रहार

Sima-Magar

१० फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा आइतबार विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेको छ ।

बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए ।

‘विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको खुल्न आएको छ’ प्रहरीले भनेको छ । पीडितहरुले बताए अनुसार मास्क लगाएर आएको ३/४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो ।

Sima-basnet
वीर अस्पतालमा उपचाररत सीमा बस्नेत

प्रहरीका अनुसार एसिड सीमाको अनुहारको केही भागमा परेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार युवाहरूको समूहले संगितालार्इ ताकेर हानेको एसिड उनलार्इ समेत परेको हो ।

सीमाले भनिन्-सर आउन ढिला भयो । उस (संगिता)लाई एकाउन्ट आउने रहेछ । म हिसाब सिक्न भनेर बसेको थिएँ । ढोका खेलेर उनलाई सीसीले हान्यो । त्यसको छिटा मलाई पनि पर्‍यो ।’

संगिताको भने अनुहारका साथै छाती र खुट्टामा एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ । एसिड अाक्रमणपछि उनी घर पुगेकी थिइन् । छोरी एसिडले बिरूप बनेर घर अाएको देखेपछि उनका बाबुले पानी खन्याएर अस्पताल ल्याएका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बदला लिन आक्रमण गरेको आशंका गरिएको छ । तर, पीडित युवतीले भने आक्रमणकारीलाई आफूले नचिन्ने बताएकाले अहिलेसम्म थप खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment