News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले सघाउन सक्ने बताइन् ।
- सन् २०२५ मा नेपाल आएका ११ लाख ५० हजारभन्दा बढी पर्यटकमध्ये अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार आएको तथ्याङ्क उनले प्रस्तुत गरिन् ।
- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्निमा उदासले नयाँ पर्यटन विधेयक संसद्मा दर्ता भएको जानकारी दिइन् ।
१७ जेठ, काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले आज यहाँ आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
उनले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताइन् ।
उनले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरिन् ।
उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दुवै देशबीचको सम्बन्ध पर्यटन, शिक्षा, व्यवसाय, प्रविधि र जनस्तरको आदानप्रदानमार्फत निरन्तर बलियो बन्दै गएको छ ।
उपविदेशमन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, सञ्चार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो । यस्ता प्रविधिले खोज तथा उद्धार, मौसम पूर्वतयारी, लजिस्टिक व्यवस्थापन र पर्वतारोहण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
उनले सन् २०२५ मा नेपालले ११ लाख ५० हजारभन्दा बढी अन्तरराष्ट्रिय पर्यटक भित्र्याएको र त्यसमध्ये अमेरिकाबाट मात्रै करिब एक लाख १२ हजार पर्यटक नेपाल आएको तथ्य प्रस्तुत गर्दै अमेरिकी पर्यटकहरूले नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, पदप्रदर्शक सेवा तथा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।
रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन् । उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन् ।
‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन् ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ ।’
त्यस अवसरमा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सगरमाथा नेपालको अन्तरराष्ट्रिय पहिचान, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक भएको बताइन् ।
उनले सगरमाथाले विश्वसामु नेपालको परिचय स्थापित गर्न अतुलनीय भूमिका खेलेको उल्लेख गरिन् ।
सभापति उदासले पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसले वायुसेवा कम्पनी, होटल, रेष्टुरेन्ट, ट्राभल कम्पनी, गाइड, भरिया, स्थानीय व्यवसाय तथा हिमाली समुदायहरूको जीविकोपार्जनमा ठूलो योगदान पुर्याइरहेको बताइन् । प्रत्येक वर्ष हजारौं विदेशी पर्यटक, पर्वतारोही, अनुसन्धानकर्ता, चलचित्र निर्माता तथा साहसिक यात्रुहरू हिमालको आकर्षणले नेपाल आउने गरेको उनको भनाइ थियो ।
उनले पश्चिम एसियामा देखिएको सङ्कटका कारण नेपालको समग्र पर्यटन क्षेत्रमा असर परे पनि पर्वतारोहण गतिविधि तुलनात्मक रूपमा स्थिर रहनुले नेपालको हिमाली पर्यटनप्रतिको विश्वव्यापी आकर्षण अझै बलियो रहेको प्रमाणित गरेको धारणा राखिन् ।
सभापति उदासले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा गम्भीर असर पुर्याइरहेको भन्दै हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको, पुराना आरोहण मार्गहरू परिवर्तन भइरहेको तथा वातावरणीय चुनौतीहरू बढ्दै गएको उल्लेख गरिन् । ‘हाम्रा हिमालहरूले नेपाललाई विश्वभर परिचित गराएका छन् । अब तिनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भनिन् ।
उनले फोहोर व्यवस्थापन, भीड नियन्त्रण, वातावरणीय दिगोपना तथा पर्वतीय सुरक्षाका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । जलवायु अनुसन्धान, खोज तथा उद्धार, वातावरण संरक्षण, पर्यटन मापदण्ड र पर्वतीय सुरक्षाका क्षेत्रमा सरकार, निजी क्षेत्र, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
पर्यटन क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको महत्व उल्लेख गर्दै उनले नक्कली उद्धार उडान तथा सुरक्षा मापदण्डसम्बन्धी विगतका केही घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पारेको बताए ।
यस्ता चुनौती समाधान गर्न सरकार र पर्यटन क्षेत्रका सरोकारवालाहरू मिलेर काम गरिरहेको जानकारी दिँदै उनले नेपालको प्रतिष्ठा थप सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।
सभापति उदासले हालै नयाँ पर्यटन विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उक्त विधेयक नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक अवसर भएको बताइन् । ‘हाम्रो उद्देश्य केवल पर्यटन नियमन गर्नु होइन, नेपालको पर्यटनको भविष्य निर्माण गर्नु हो,’ उनले भनिन् ।
उनले पर्यटनबाट स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था, वातावरण संरक्षणसँगै आर्थिक अवसर विस्तार तथा नेपाललाई विश्वकै अग्रणी दिगो पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने दिशामा नीति निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
उनले सगरमाथाले मानवजातिलाई साझेदारी, विश्वास र सहकार्यको महत्वपूर्ण पाठ सिकाउने उल्लेख गर्दै नेपालले भविष्यमा सगरमाथालाई केवल पर्यटन गन्तव्यका रूपमा होइन, अन्तरराष्ट्रिय मित्रता, वातावरणीय संरक्षण, आर्थिक समृद्धि तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने साझा मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइन् । रासस
प्रतिक्रिया 4