+

टी-२०आईमा दुईपटक ३०० रन कटाउने नेपाल पहिलो टिम

२०८३ जेठ  १७ गते १५:१५ २०८३ जेठ १७ गते १५:१५
टी-२०आईमा दुईपटक ३०० रन कटाउने नेपाल पहिलो टिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले चीनविरुद्धको खेलमा २० ओभरमा ३१३ रन बनाउँदै विशाल योगफल खडा गरेको छ ।
  • नेपालले चीनविरुद्धको खेलमा एकै इनिङमा कुल २९ छक्का प्रहार गर्दै सर्वाधिक छक्काको विश्व कीर्तिमान बराबर गरेको छ ।
  • नेपाली ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै बाउन्ड्रीबाट सर्वाधिक ११६ रनको नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

१७ जेठ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आइतबार विहान एसियन गेम्स छनोटअन्तर्गत चीनसँगको खेलमा आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३१३ रनको विशाल योगफल खडा गर्‍यो ।

उक्त योगफल बनाउने क्रममा केही कीर्तिमानहरू पनि बनेका छन् । नेपाल टी-२०आई क्रिकेटमा दुईपटक ३०० रन पूरा गर्ने पहिलो टिम बन्यो । यसअघि नेपालले सन् २०२३ मा एसियन गेम्सअन्तर्गतकै खेलमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

टी-२०आईमा पहिलोपटक ३०० रन कटाउने टिम पनि नेपाल नै थियो । त्यसपछि जिम्बाबेले गाम्बियाविरुद्ध सन् २०२४ मा ३४४ रन बनाएर नेपालको कीर्तिमान तोडेको थियो ।

यस्तै आइतबार नेपालले चीनविरुद्ध कुल २९ छक्का प्रहार गर्‍यो । यो पनि एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान (संयुक्त रूपमा) हो । स्पेनले पनि सन् २०२५ मा क्रोएसिया विरुद्ध २९ छक्का प्रहार गरेको थियो ।

त्यसैगरी, कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेर दुर्लभ रेकर्ड बनाउन सफल भए । यो रेकर्ड बनाउने उनी नेपालका लागि दोस्रो खेलाडी हुन् भने समग्रमा छैटौं खेलाडी हुन् ।

यस्तै कुशल भुर्तेलले प्रहार गरेको १६ छक्का कुनैपनि नेपाली ब्याटरले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि कुशल मल्लले मंगोलियाविरुद्ध १२ छक्का प्रहार गरेका थिए ।

सर्वाधिक छक्काको विश्व कीर्तिमान भने इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले साइप्रसविरुद्ध सन् २०२४ मा १८ छक्का प्रहार गरेका थिए ।

यस्तै कुशल भुर्तेलले बाउन्ड्रीबाट सबैभन्दा धेरै रन जोड्ने नेपाली खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनले चीनविरुद्ध बाउन्ड्रीबाट मात्र ११६ रन जोडेका थिए, यसअघि कुशल मल्लको १०४ रनको रेकर्ड थियो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय