Comments Add Comment

स्वाइन फ्लूका बिरामी २३ पुगे, सरकार भन्छ-बजेट छैन

१५ फागुन, काठमाडौं । भारतबाट भित्रिएको स्वाइनफ्लु संक्रमितको संख्या नेपालमा २३ पुगेको छ । रोग नियन्त्रणको जिम्मेवारी पाएका अधिकारीहरुले रोग नियन्त्रणका लागि सरकारसँग बारम्बार बजेट माग्दा पनि नपाएको गुनासो गरेका छन् ।

symptoms of Swinflue

शुक्रबार काठमाडौंको थप एकजनामा एचवान एनवान भाइरसको संक्रमण पुष्टि भएसँगै स्वाइन फ्लु संक्रमितको संख्या २३ पुगेको हो ।

टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाइनफ्लु हो कि भन्दै शंका लागेर जाँच गराउन सरदर दैनिक १० जना बिरामीहरु आउने गरेको अस्पताल प्रमुख शेरबहादुर पुनले बताए ।

स्वाइनफ्लुको शंका लागेमा उनीहरुको थुक नमूना परीक्षणका लागि इपिडिमियोलोजीमा पठाउने गरिएको छ । सामान्य विरामीहरुलाई प्रशस्त पानी पीउन, झोलपदार्थ खान, घरमै आराम गर्न, मास्क प्रयोग गर्न र रुघा खोकी लागेमा अस्पतालमा गएर जचाउन उनले सुझाव दिए ।

safe way for Swinflue

सरकार भन्छ-बजेट छैन

भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु नेपालमा पनि भित्रन सक्ने भन्दै सरकारले हाल काँकरभिट्टा, वीरगन्ज, सुनौली, रुपैडिहा र गड्डाचौकीमा ‘हेल्थडेस्क’ नाम दिएर स्वास्थ्य जाँच चौकी स्थापना गरेको छ । तर, ती जाँचस्थल औषधि र उपचार उपकरण अभावमा प्रभावहीन देखिएका छन् । खर्च अभावमा ती हेल्थ डेस्क गुज्रिरहेका छन् ।

नेपाल र भारतसँग जोडिएका ८० सीमा नाकाबाट आवात-जावत हुन्छ । तर, बजेट अभावमा ती सबै नाकामा स्वास्थ्य जाँच चौकी स्थापना गर्न नसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख मरासिनीले बताए ।

जाँच चौकीमा २४ सै घण्टा स्वास्थ्यकर्मी खटाउनुपर्छ । यसरी खटाउँदा ८-८ घण्टाको दरले तीन सिफ्टमा राख्नुपर्छ । उनीहरुलाई दिने पारिश्रमिक, औषधि उपकरण लगायतको व्यवस्था गर्दा ८० नाकामा मासिक सरदर ५९ लाख खर्च हुने अधिकारीहरु बताउँछन् ।

‘सम्वन्धित निकायमा धेरैपटक कुरा राखिसकियो, तर बजेट छैन भन्ने जवाफ आउँछ,’ मरासिनीले भने ।

हेल्थ डेस्क नै ‘अवैध’

स्वाइनफ्लु नियन्त्रणका लागि भन्दै सरकारले भारतसँग जोडिएका सीमानाकामा स्थापना गरेका हेल्थडेस्क नै गैरकानुनी रहेको अधिकारीहरु बताउँछन् ।

सीमानाकामा स्वाइनफ्लुको संक्रमण जाँचको अन्तराष्ट्रिय नियम छैन । तर, सरकारले नेपाल-भारतका पाँचवटा सीमानाकामा हेल्थडेस्क स्थापना गरेको छ ।

‘भारतले अब्जेक्सन गरे तुरुन्तै हटाइहाल्नुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बाबुराम मरासिनीले अनलाइनखबरसँग भने, ‘कुनै पनि देशको सीमा क्षेत्रमा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लुको परीक्षण गर्न अनुमति दिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment