२१ फागुन, काठमाडौं । होली लाग्नुभन्दा हप्ता दिन पहिल्यै उपत्यकामा महिलाले हिँडडुल गर्न असुरक्षित ठान्ने गरेका थिए । तर, विहीबार होलीका दिन सडकमा हिँड्ने महिलाले लोलाको शिकार खासै हुनुपरेन ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष राजधानीमा होलीका नाममा जबरजस्ती लोला हान्ने विकृति कम भएको सबैले महसुस गरेका छन् । जवरजस्तीका घटना नहुँदा होली रोमाञ्चक बनेको छ ।
होलीको अघिल्लो दिनसम्म बाटामा कसैले लुकेर लोला हानेको दृश्य खासै देखिएनन् । विहीबार होलीमा दिनमा पनि एकाध गल्लीमा बाहेक इच्छाविपरीतका घटनामा कमी आएको देखियो ।
विभिन्न चोकमा भेला भएका युवा एवं प्रौढहरुले आपसमा चिनेजानेका वीच रंग दलेर मनोरञ्जन गरे । सवारी साधनहरु कमै भए पनि निर्वाध रुपमै चले । गाडीमा कसैले लोला फ्याँकेन ।
बसन्तपुर लगायत विभिन्न चोकमा युवाले उल्लासमय ढंगबाट होली मनाएका दृश्य रोचक र मनमोहक रहे ।
एकापसमा रंग लगाएर मित्रभाव साटासाट गर्ने होली पर्व जति संयमित र सभ्यरुपमा मनाइयो, त्यति नै रोमाञ्चक हुँदोरहेछ भन्ने यस वर्ष राजधानीको संयमित होलीले स्पष्ट पारेको छ ।