Comments Add Comment

कोरोना संकटमा ‘कास’को आश : गाउँ–गाउँमा चिकित्सकको ‘कर्णाली मार्च’

जनशक्तिमा अब्बल, अक्सिजनको अभाव छैन

९ जेठ, सुर्खेत । कोरोना महामारीको दोस्रो लहरका कारण यतिबेला कर्णाली आक्रान्त छ । प्रदेशमा दैनिक करिब एक हजारको हाराहारीमा नयाँ संक्रमित थपिन थालेका छन् । त्यस्तै दैनिक ८/१० जना संक्रमितको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले बताउँछ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा अक्सिजनको हाहाकार छ । प्रदेशका अन्य जिल्लाहरुबाट समेत रेफर भएर आउने बिरामीको संख्या पनि ह्वातै बढेको छ । प्रदेश सरकारद्वारा सञ्चालित ‘प्रदेश कोभिड विशेष अस्पताल’ जटिल प्रकृतिका संक्रमितले भरिएको छ ।

सुर्खेत, नेपालगञ्जलगायत सहरी क्षेत्रका अस्पतालमा अक्सिजन र बेड नपाएर संक्रमितको मृत्यु भइरहँदा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) भने यतिबेला कर्णालीवासीको आश बनेको छ । प्रतिष्ठानको मजबुत पूर्वाधार र पर्याप्त स्वास्थ्य जनशक्ति नै कोरोना संकटको भरोसा बनेका छन् ।

चिनियाँ हुवान मोडेल ‘युनिट एक्सन टिम’ निर्माण गरी पहिलो लहरको कोरोना नियन्त्रण गरेको कासले यो वर्ष पनि विशेषज्ञ चिकित्सक सहितको टोली गाउँ–गाउँमा पठाएको छ । जसलाई ‘कर्णाली मार्च’ भनिएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. रमेशराज भट्टराईका अनुसार उक्त टिमले जिल्लाका स्वास्थ्यकर्मीहरु सँग समन्वय गरेर कोरोना प्रभावित क्षेत्रमा काम गर्ने छन् । ‘हाम्रा चिकित्सकहरु स्थानीय तह हुँदै दूरदराजका गाउँ–गाउँमा पुगेर त्यहाँका आइसोलेशनमा भएका बिरामीको रेखदेख र रोकथामका लागि काम गर्नुहुनेछ,’ प्रवक्ता डा.भट्टराईले अनलाइनखबरसंग भने, ‘साथै उहाँहरुलाई पब्लिक अवार्नेसको पनि जिम्मेवारी दिइएको छ, महामारी नियन्त्रणमा आएपछि मात्रै फर्किनु हुनेछ ।’

कुन जिल्लामा को डाक्टर खटिए ?

कोभिड रोकथाम तथा उपचारका लागि कर्णालीका जुम्ला, कालीकोट, हुम्ला, मुगु, डोल्पा  र रुकुम पश्चिममा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको प्रवक्ता डा. भट्टराईले जानकारी दिए । उनका अनुसार जुम्लाका सबै स्थानीय तहमा पनि उक्त टोली खटाइएको छ । जुम्लासहित कर्णालीका ६ जिल्लामा १७ जना चिकित्सक खटाएको हो ।

जसअनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिकामा डा. कमल थानी, सिंजा गाउँपालिकामा उपप्राध्यापक सुजता ओझा, तातोपानी गाउँपालिकामा डा. कमल न्यौपाने, पातारासी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, हिमा गाउँपालिकामा उपप्राध्यापक मेनिका लामा, गुठीचौर गाउँपालिकामा उपप्राध्यापक निर्मला पहाडी, चन्दननाथ नगरपालिकामा पनि अन्य स्वास्थ्यकर्मीको टोली खटाइएको प्रवक्ता भट्टराईले बताए ।

त्यस्तै, कालीकोटमा डा. रिविन खापुङ्ग र डा. सुवि बस्न्यात, हुम्लामा सहायक प्राध्यापक डा. मानिक न्यौपाने, राजबहादुर खत्री, मुगुमा सहायक प्राध्यापक डा. सिद्धार्थध्वज खाती र डा. रेखा कार्की, डोल्पामा डा. अभिषेक ठाकुर र सिनियर अहेव कमेन्द्र न्यौपाने, रुकुम पश्चिममा सहप्राध्यापक डा. अनुप मंगल समाल र उपप्राध्यापक सिला थापालाई खटाइएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा छुटै टिम

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि प्रतिष्ठानबाट चिकित्सक सहितको छुटै टोली सहयोगका लागि पठाइएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको ६ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज पठाइएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

‘आईसीयूमा चिकित्सकको अभाव भएपछि भेरी अस्पतालले सहयोग मागेकोे थियो । त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्जको नेतृत्वमा टोली पठाएका छौं,’ रजिस्ट्रार काफ्लेले भने ।

उनका अनुसार प्रमुख गिरीसहित डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जी तामाङ्ग र हेल्थ असिस्टेड नरेन्द्र शर्मालाई पठाइएको छ । उक्त टोली निश्चित समयका लागि परिचालन हुने छ ।

सुर्खेतबाट जुम्ला पुग्न थाले संक्रमित

पछिल्लो समय सुर्खेत, नेपालगन्ज लगायतका अस्पतालमा अक्सिजन र बेड नपाएपछि कोरोना संक्रमितहरु प्रतिष्ठानको शिक्षण अस्पताल जुम्ला पुग्न गालेका छन् । संक्रमित आमाको उपचारका लागि ३ दिनसम्म पनि सुर्खेतका अस्पतालहरुमा बेड र अक्सिजन पाउन नसकेपछि जुम्ला पुगेर उपचार गरेको वीरेन्द्रनगरका गोविन्द खत्रीले बताए ।

‘कोरोनाले आमाको अवस्था नाजुक बन्दै थियो, नेपालगञ्ज लैजाउँ त्यहाँ झनै बिजोग रहेछ, त्यसपछि जुम्ला लगेँ, जुम्लाबाट आमा ठीक भएर आउनुभयो,’ गत साता जुम्लाबाट आमाको उपचार गराएर आएका खत्रीले भने ।

शुक्रबार सुर्खेतबाट एक अर्का संक्रमित पनि एम्बुलेन्समा जुम्ला पुगेको बताए  । ‘सुर्खेतमा अक्सिजन, बेड पाउनै मुस्किल छ, जुम्लामा सहज छ भन्ने सुनेको, सहज नै रैछ,’ ती संक्रमितले भने ।

पछिल्लो समय जुम्लामा अन्य जिल्लाहरुबाट बिरामी जानेक्रम मात्र सुरु भएको छैन, प्रतिष्ठानले आफ्ना चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा समेत कोरोना प्रतिकार्यमा खटाउन थालेको छ ।

जनशक्तिमा अब्बल, अक्सिजनको अभाव छैन

पछिल्लो समय प्रतिष्ठानले आफूलाई मजबुत बनाउँदै गएको र कर्णालीको संकट टार्ने अवस्थामा पुगेको उपकुलपति डा. मंगल रावलको दाबी छ ।

उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा ७० जना चिकित्सकसहित करिब २५० जना स्वास्थ्यकर्मी कार्यरत छन्  । अस्पतालको पूर्ण क्षमता अनुसार बिरामी भर्ना हुँदा पनि करिब ५० जना चिकित्सक–स्वास्थ्यकर्मीलाई अन्य जिल्लामा परिचालन गर्न सकिने छ ।

‘प्रतिष्ठानको शिक्षण अस्पताल जनशक्ति र प्रविधिका हिसाबले देशकै अब्बल अस्पताल भइसकेको छ, महामारीका बेला यो अस्पताल कर्णालीवासीको आशा र भरोसा बन्ने छ,’ उपकुलपति डा. रावलले भने ।

प्रतिष्ठानका प्रवक्ता डा. रमेशराज भट्टराईका अनुसार अस्पतालमा हाल ३०० बेड छन् । तीमध्ये आईसीयू १०, एचडीयू २५ र भेन्टिलेटर १३ वटा छन् । हाल ३५ वटा बेडमा अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको छ । अन्य बेडमा पाइपलाइन जडान थालिएको छ ।

अस्पतालका नियमित बिरामीका लागि एक सय बेड छुट्याएको र कोरोना संक्रमितको लागि २०० बेडको व्यवस्थापन गर्न सकिने प्रवक्ता भट्टराई बताउँछन् । ‘हाल अक्सिजन प्लान्ट सञ्चालनमा छ , थप अक्सिजनका लागि सिलिन्डरबाट आपूर्ति गर्न सकिने भएकाले समस्या छैन, जनशक्ति पनि पर्याप्त नै छ,’ उनले भने ।

प्रतिष्ठानले हाल आफ्ना लागि आवश्यक पर्ने अक्सिजन आफैं उत्पादन गर्दै आएको छ । ‘हामीसँग २०० अक्सिजन सिलिन्डर छन्, दुईवटा बुस्टर जडान गरे प्रदेशका अन्य जिल्लाहरुमा अक्सिजन पठाउन सकिन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘तर यसका लागि करिब एक करोड बजेट आवश्यक पर्छ  ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment