+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares
विचार :

संकटको बेला देशले खोजेको नेतृत्व

नेपाल आज एउटा निर्णायक मोडमा छ। पुराना वाचा, अन्त्यहीन भ्रष्टाचार र स्वार्थी नेतृत्वबाट जनता थाकिसकेका छन्। यस्ता निराशाको घडीमा एक परिपक्व नेताको आवश्यकता छ।

डा. जगन कार्की डा. जगन कार्की
२०८२ मंसिर ४ गते ८:०९
एआईबाट बनाइएको सांकेतिक फोटो

नेतृत्वको वास्तविक परीक्षा संकटका बेला हुन्छ। यस्तो समयमा नेतालाई तत्काल निर्णय लिनुपर्ने दबाबका बीचमा दीर्घकालीन सोच, सहानुभूति र जनविश्वास कायम राख्नुपर्ने चुनौती हुन्छ। सफल नेता ती हुन्, जसले ठूला भाषण होइन, स्पष्ट दृष्टिकोण र नैतिक निर्णयका साथ देशलाई अगाडि बढाउँछन्।

संघर्ष, आर्थिक अस्थिरता र महामारी जस्ता संकटको अवस्थामा निर्णयात्मक र अनुकूल नेतृत्व अनिवार्य हुन्छ। कमजोर शासन प्रणाली भएका देशहरूमा यो कार्य अझै कठिन हुन्छ। नेताहरूले तुरुन्तै परिस्थिति नियन्त्रण कायम गर्नुपर्ने हुन्छ तर त्यही समयमा पारदर्शिता र जनसहभागिता मार्फत विश्वास पनि निर्माण गर्नुपर्छ।

संकटको समयमा राष्ट्रको भाग्य नेतृत्वले निर्धारण गर्छ। नेपाल जस्ता विकासशील देशहरूका लागि— जहाँ आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र विश्वव्यापी चुनौती एकसाथ आउँछन्— नेतृत्वको योग्यता नै समाज अगाडि बढ्ने कि पछाडि फर्कने निर्धारण गर्ने कारक हो। हालै प्रकाशित अक्सफोर्ड क्यारेक्टर प्रोजेक्टको ‘क्यारेक्टर एण्ड ग्लोबल लिडरसिप सर्वे २०२३’ ले यस्ता राष्ट्रहरूका लागि अत्यन्त सान्दर्भिक सन्देश दिएको छ।

यो अध्ययनले नेतृत्वको चरित्र विकास— जस्तै इमानदारी, सहानुभूति, साहस, उद्देश्य र आशामा निकै कम लगानी भएको तर यही नैतिक गुण संकटको समयमा स्थायित्व र विश्वासको आधार बन्ने देखाएको छ।

२००८ को आर्थिक मन्दी र २०२० को कोभिड–१९ महामारीपछि ‘चरित्र–आधारित नेतृत्व’ माथिको विश्वव्यापी चासो तीव्र रूपमा बढेको पाइयो। अक्सफोर्डको अध्ययन अनुसार, नेतृत्व असफलताको मुख्य कारण व्यवस्थापनमा होइन, नैतिक निर्णय र चरित्रको अभावमा हुन्छ।

सफल नेताहरूले विभिन्न नेतृत्व शैली अपनाउने गर्छन्। विश्वभर विभिन्न नेतृत्व शैलीहरूले संकट व्यवस्थापनमा आफ्नो प्रभावकारिता देखाएका छन्। राजनीतिक अस्थिरता, प्राकृतिक विपद् र आर्थिक चुनौती बारम्बार झेलिरहेको नेपालका लागि जनविश्वास, एकता र भरोसा जगाउने नेतृत्व अत्यावश्यक छ।

नेतृत्व सम्बन्धी अध्ययन र नेतृत्वका सिद्धान्तहरू समय, काल परिस्थिति अनुरूप विविध रहेका छन्। एक परिस्थिति र भूगोलमा सफल कुनै एक नेतृत्व अर्को परिवेशमा असफल हुनसक्छ तर मिल्दाजुल्दा अवस्थाहरूमा सफल/असफल नेतृत्व शैलीलाई अध्ययन गरेर अध्ययन र प्रयोगलाई सहज बनाउन सकिने नेतृत्व सम्बन्धी अनुसन्धानरत पाठशालाहरूले बताउँछन्।

नेतृत्वको परम्परागत अध्ययनले सफल नेता जन्मिंदै नेतृत्वलाई आवश्यक गुण लिएर आएको भन्ने तर्क गर्छ भने अर्कोले पछि सिकेको व्यवहारलाई मुख्य ठानेको छ। अर्को धारले समय, परिस्थिति र वातावरणको भूमिका प्रधान हुन्छ भन्छ। परिस्थिति अनुकूल हुँदा अमूक नेतृत्व विकास भएर आउने भन्छ। आधुनिक सिद्धान्तले नेतृत्व विकास गर्न सकिने कला र विज्ञानको संयोग मानेको छ।

समयसापेक्षी सक्षम नेतृत्व विकास गर्न राजनीतिक दलहरूले पारदर्शी लोकतान्त्रिक सिद्धान्त, नीतिको अवलम्बन गर्नपर्ने हुन्छ। अहिले सफल नेतृत्वको शैलीबारे चर्चामा केन्द्रित रहौं।

नेपालको परिवेश सुहाउँदो नेतृत्वको चर्चा अघि विश्वमा प्रचलित विभिन्न नेतृत्वका शैलीमध्ये केही प्रचलित शैलीको चर्चा गरौं: 

रूपान्तरणकारी नेतृत्व

रूपान्तरणकारी नेतृत्वले नागरिकहरूलाई दृष्टि, सुधार र साझा उद्देश्य मार्फत प्रेरित गर्छन्। उनीहरूले जनतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्यतर्फ अघि बढ्न उत्प्रेरित गर्छन्। भ्रष्टाचार र राजनीतिक निराशाले ग्रस्त नेपालमा यस प्रकारको नेतृत्वले आशा र राष्ट्रिय उद्देश्य पुनर्जीवित गर्न सक्छ। तर यसका लागि उच्च नैतिकता र स्पष्ट दीर्घकालीन दृष्टिकोण आवश्यक छ। 

लोकप्रिय नेताहरूले छोटो समयमा उत्साह ल्याए पनि प्रायः वास्तविक समस्या समाधान गर्न असफल हुन्छन्, जसले दीर्घकालमा भ्रष्टाचार, विभाजन, कमजोर शासन र अधिनायकवाद जन्माएका प्रशस्त उदाहरण छन्।

जनतामुखी तथा सेवामुखी नेतृत्व

यो नेतृत्व शैलीले सेवा, सहानुभूति र नैतिकतालाई प्राथमिकता दिन्छ। सेवामुखी नेतृत्वले जनतालाई सुन्छन्, उनीहरूको हितलाई पहिलो प्राथमिकतामा राख्छन् र नैतिक उदाहरण प्रस्तुत गर्छन्। नेपालमा, जहाँ जनविश्वास कमजोर छ, सेवक नेतृत्वले विश्वास र सामाजिक समरसता पुनःस्थापित गर्न सक्छ।

यसले शक्ति होइन, जिम्मेवारीमा जोड दिने भएकाले भ्रष्टाचार घटाउन सहयोग पुर्‍याउँछ। तर तुरुन्त निर्णय आवश्यक पर्ने अवस्थामा यो शैली कहिलेकाहीं ढिलो हुन सक्छ। 

परिस्थितिजन्य नेतृत्व

परिस्थितिजन्य नेतृत्व लचकता र अनुकूलतामा आधारित हुन्छ। नेताले संकटको अवस्था अनुसार आफ्नो शैली परिवर्तन गर्छन्। प्राकृतिक विपद्, महामारी वा राजनीतिक अस्थिरता भएका नेपाल जस्ता देशमा यो दृष्टिकोण उपयोगी हुन सक्छ। प्रारम्भिक अवस्थाको आपतमा दृढ निर्णय आवश्यक पर्छ भने पुनर्निर्माणको चरणमा सहकार्यात्मक शैली प्रभावकारी हुन्छ। तर बारम्बार परिवर्तनले अस्थिरता ल्याउन सक्छ।

लचिलो नेतृत्व

लचिलो नेतृत्व पारदर्शिता, सहकार्य र नवप्रवर्तनमा केन्द्रित हुन्छ। यस्तो नेतृत्वले अस्थिरता र अनिश्चिततालाई अवसरमा रूपान्तरण गर्न सक्षम बनाउँछ। जलवायु संकट र शासन अस्थिरता भोगिरहेको नेपालका लागि यो शैली अत्यन्त सान्दर्भिक छ। यसले संस्थागत बलियोपन र जनविश्वास निर्माण गर्छ। तर यसका लागि उत्तरदायित्व र खुला संवादको संस्कार आवश्यक छ, जुन नेपालमा अझै पूर्ण रूपमा विकास भएको छैन।

प्रियतावादी नेतृत्व

हाल नेपालमा पपुलिस्ट अर्थात् प्रियतावादी नेताको प्रभाव र माग बढेको छ। लोकप्रियवादी नेता आफूलाई ‘साधारण जनताको आवाज’ भनेर शक्तिशाली वा उच्च वर्गका विरुद्ध प्रस्तुत गर्छन्। सामाजिक सञ्जालमा जनतालाई जे मन पर्छ त्यो मात्र बोल्ने, देशको आवश्यकता कतिपय मन नपर्ने पनि हुन सक्छन्। तर त्यसमा भोट र समर्थन घट्ने भएर नबोल्ने।

उनीहरूले भावनात्मक भाषण, छिटो समाधानका वाचा र अरूलाई दोष दिएर लोकप्रियता कमाउँछन्। यस्ता नेताहरूले सुरुआतमा जनतालाई आशा दिन सक्छन्, तर तिनीहरूले विज्ञ सल्लाह बेवास्ता गर्छन्, लोकतान्त्रिक संस्था कमजोर पार्छन् वा सारा शक्ति आफ्नै हातमा केन्द्रित गर्छन्, त्यतिबेला खतरा उत्पन्न हुन्छ।

लोकप्रिय नेताहरूले छोटो समयमा उत्साह ल्याए पनि प्रायः वास्तविक समस्या समाधान गर्न असफल हुन्छन्, जसले दीर्घकालमा भ्रष्टाचार, विभाजन, कमजोर शासन र अधिनायकवाद जन्माएका प्रशस्त उदाहरण छन्।

भेनेजुएलाका ह्युगो चाभेजले समाजवादको नाममा जनतालाई प्रेरित गरे पनि गलत आर्थिक नीतिले देशलाई संकटमा पुर्‍यायो। ब्राजिलका जाइर बोल्सोनारोले कोभिड महामारीमा विज्ञानलाई बेवास्ता गरे र समाजलाई विभाजित पारे। फिलिपिन्सका रोड्रिगो दुतेर्तेले डर र नियन्त्रणका माध्यमबाट शासन गरे तर संस्थागत विश्वास घटाए।

पाकिस्तानमा इमरान ख़ान रातरात उदाए र बोली र सामान्य व्यवहारमा संयमता नहुँदा अस्ताए। यी सबै उदाहरणले देखाउँछ- जनप्रियता लामो समयका लागि पर्याप्त हुँदैन। देश चलाउन दृष्टिकोण, पारदर्शिता र क्षमता अपरिहार्य हुन्छ।

नेतृत्व सम्बन्धी अध्ययनहरूले भन्छन्- संकट व्यवस्थापनमा साँचो नेतृत्वले नारा होइन, प्रणाली निर्माण गर्छ। प्रियता होइन, प्रदर्शनका माध्यमबाट विश्वास जित्छ। यस्तो नेतृत्वले जनतालाई द्वन्द्व होइन, साझा उद्देश्यतर्फ एकीकृत गर्छ।

नेपाल र नेपालीहरूले पनि यही कुरा बुझ्नुपर्छ। हाम्रो देशलाई आज सही दृष्टिकोण, साहस र विश्वासिलो कार्यक्षमता भएका नेताहरूको आवश्यकता छ, जसले संकट व्यवस्थापन मात्र होइन, दीर्घकालीन संस्थागत सुधार पनि गर्न सक्छन्।

नेपाल आज एउटा निर्णायक मोडमा छ। पुराना वाचा, अन्त्यहीन भ्रष्टाचार र स्वार्थी नेतृत्वबाट जनता थाकिसकेका छन्। यस्ता निराशाको घडीमा एक परिपक्व नेताको आवश्यकता छ।

 नेपालका लागि सबैभन्दा उपयुक्त नेतृत्व मोडल

नेपालका लागि सबैभन्दा प्रभावकारी नेतृत्व शैली रूपान्तरणात्मक, सेवक र लचिलो नेतृत्वको संयोजन हो। रूपान्तरणात्मक नेतृत्वले दृष्टि र सुधारको प्रेरणा दिन्छ।

सेवक नेतृत्वले नैतिकता र जनकल्याणमा केन्द्रित शासन सुनिश्चित गर्छ। लचिलो नेतृत्वले अनिश्चितता बीच पनि स्थायित्व र नवप्रवर्तन कायम राख्न सहयोग गर्छ। यस्तो मिश्रित नेतृत्वले नेपाललाई प्रतिक्रियात्मक राजनीतिबाट हटाई उद्देश्यपूर्ण, जवाफदेही र जनकेन्द्रित शासनतर्फ लैजान सक्छ- जसले संकटलाई चुनौती होइन, परिवर्तनको अवसरका रूपमा उपयोग गर्न सक्षम बनाउँछ।

संकट व्यवस्थापनमा साँचो नेतृत्वले नारा होइन, प्रणाली निर्माण गर्छ। लोकप्रियता होइन, प्रदर्शनका माध्यमबाट विश्वास जित्छ। यस्तो नेतृत्वले जनतालाई द्वन्द्व होइन, साझा उद्देश्यतर्फ एकीकृत गर्छ। नेपाल र नेपालीले पनि यही कुरा आत्मसात् गर्नुपर्ने देखिन्छ।

हाम्रो देशलाई आज सही दृष्टिकोण, साहस र विश्वासिलो कार्यक्षमता भएका नेताहरूको आवश्यकता छ, जसले संकट व्यवस्थापन मात्र होइन, दीर्घकालीन संस्थागत सुधार पनि गर्न सक्छन्। नेपालमा यस्ता किसिमका नेता दुर्लभ छन्। यस्ता नेतृत्व विकास गर्न समाज, पार्टी र राष्ट्रको दीर्घकालीन लगानी आवश्यक हुन्छ।

नेपालमा संकट व्यवस्थापन गर्न सक्षम केही सम्भावित नेताहरू देखिएका छन् तर निरंकुश सामन्ती व्यवस्था र कागजमा फ्याँकिए पनि सुषुप्त रुपमा दलहरूभित्र अझै पनि अभ्यासमा रहेकोले तिनको सफलता सहज भने देखिन्न। पैसा, पहुँच र गिरोहले कब्जा गरेको लोकतान्त्रिक प्रक्रियाका बाबजुद दलहरूमा केही सम्भावित अनुहार देखिएका छन्।

रवि लामिछानेले प्रियतावादी धार लिए, बोली र व्यवहारमा खरो शैली र संचारकर्मी हुँदा गरेका कामले ह्वात्तै लोकप्रियता बढाएको भए पनि उनमा परिपक्व नेता बनेर अघि आउन समय लाग्ने देखिन्छ। स्वर्णिम वाग्ले योग्य र सक्षम देखिन्छन्, तर उनको सीमित अवसर र सामाजिक सञ्जालमा आधारित लोकप्रिय पार्टी संरचनाले उनलाई उदीयमान बनाउने सम्भावना घटाएको छ।

बालेन शाह प्रचुर सम्भावना बोकेका नेता हुन् तर लोकप्रिय मात्र बन्ने धार त्यागेर अझै केही वर्ष राजनीति, राष्ट्र चिन्तन जारी राखेर खरो उत्रिएर, दल र संरचना निर्माण गरी बल्ल देशको मुख्य भूमिकामा जाने कोसिस गर्दा उत्तम हुने देखिन्छ। हालको सरकारमा मन्त्री रहेका कुलमान घिसिङले स्रोत व्यवस्थापनमा उत्कृष्ट नेतृत्व र व्यवस्थापन क्षमता देखाएका छन्, तर उनी राजनीतिक रूपमा परीक्षण भइसकेका छैनन्।

हर्क साम्पाङ या अकस्मात् उदाउने नयाँ पपुलर अनुहारलाई राज्यको नीति, राजनीति, कूटनीति, भूराजनीतिक सन्तुलन जस्ता विषयमा अनुभव र जानकारी लिन कम्तीमा पनि एक दशक लाग्ने देखिन्छ।

अर्का सम्भावना बोकेका नेता राप्रपाका ज्ञानेन्द्र शाही पनि एक हुन्। तर उनले पछ्याएको विचार र समूहका कारण उनले राजनीतिक छलाङ मार्न कठिन छ। एमालेभित्र पनि सक्षम नेता छन्, तर केपी ओली नेतृत्वको अलोकप्रियताका कारण प्रभावहीन बनेका छन्।

माओवादी केन्द्रमा जनार्दन शर्मा र सुदन किराती जस्ता सक्षम नेताहरू थिए, तर तिनीहरू एक्लै पर्याप्त छैनन्। यदि उनीहरूले मिलेर नयाँ शक्ति निर्माण गरे भने देशको संकट व्यवस्थापनमा सशक्त नेतृत्वको सम्भावना हुन सक्छ।

नेपाली कांग्रेसका गगन थापा आकर्षक व्यक्तित्व, वैचारिक क्षमता, स्पष्ट वक्ता र जिम्मेवार नेताका रूपमा परीक्षण भइसकेका सम्भावना बोकेका व्यक्ति हुन्। नेपालको संवेदनशील भूराजनीतिक जटिलता र कूटनीतिक ज्ञान बोकेका एक जिम्मेवार सांसद, पार्टीको महामन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा उनले राम्रो छवि बनाएका छन्।

तर अहिले पार्टीमाथि भ्रष्टाचार मलजल र विकृत लोकतान्त्रिक अभ्यासको भारीले दलसँगै उनी जोखिममा छन्। यदि उनले आफ्नै पार्टीभित्र सुधार गरेर नेतृत्व लिन सके वा परिआए दलभन्दा माथि उठेर राष्ट्रिय नेतृत्वको रूपमा उभिन सके, उनी देशका लागि सम्भावनायुक्त नेताका रूपमा देखिएका छन्। अब पनि पार्टी र सरकारको नेतृत्व गरेर डेलिभरी गर्न सकेनन् भने समयले गगन थापालाई पनि पर्खिने छैन।

जेनजी पुस्ताका युवाहरूले ४८ घन्टामा शासन पल्टाउन सक्षम हुँदा दलका सक्षम युवा पिंढीले अब पुराना नेतासँग युद्धविराम गरे सती जान या सक्किन तयार हुनुपर्ने अवस्था छ। सही मौकामा देश र जनताका लागि जस्तोसुकै जोखिम उठाउन सक्ने नेतृत्वले नै इतिहास कायम गरेको उदाहरण हामीसँग छ।

बेथिति र अविकासले लथालिंग देश बनाउने कुरा रातारात कुनै भगवान वा कुनै सञ्जालको पपुलिस्ट हिरो आएर सम्भव नै छैन। जिम्मेवार र सम्भावना भएको नेता वा असल व्यक्तिहरूको समूहलाई सरकार गठनका लागि पुग्दो जनमत नदिई वा सबैको सामूहिक प्रयास विना हरेक ५-१० वर्षमा फेरि–फेरि आगजनी र तोडफोड अनि आन्दोलन गरिरहनुपर्ने बाध्यताको शृंखला रोकिने छैन।

(बेलायतमा प्राध्यापनरत डा. कार्की रेमिट्यान्स र वित्तीय समावेशिता सम्बन्धी अनुसन्धाता पनि हुन्।)

लेखक
डा. जगन कार्की

बेलायतमा प्राध्यापनरत डा. कार्की रेमिट्यान्स र वित्तीय समावेशिता सम्बन्धी अनुसन्धाता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?