+
+
Shares
विचार :

पोर्न र पोलिटिक्स

राजनीतिक डाइपर फेर्न कठिन छ नेपालमा। कठिन मात्र नभएर लगभग असम्भव नै छ। तीसौं वर्षदेखि उनै डाइपर छन्। अझ तीन पार्टीका मुख्य तीन डाइपरले आलोपालो सत्ताको खालो काढेका छन्।

राजेन्द्र कार्की राजेन्द्र कार्की
२०८२ मंसिर १ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिमी मुलुकमा नेताहरूलाई समयमै परिवर्तन गर्ने चलन छ, जसले पार्टी र सरकारलाई पुनः सत्तामा ल्याउने मौका दिन्छ।
  • नेपालमा राजनीतिक दलका नेताहरूलाई बदल्न कानूनी र परम्परागत बाधाहरू छन्, जसले कुशासन र भ्रष्टाचारलाई निरन्तरता दिएको छ।
  • देशको भौतिक विकास भए पनि दलीयकरण र भ्रष्टाचारका कारण जनतामा खुशी र सेवा प्रवाह प्रभावकारी हुन सकेको छैन।

पश्चिमी दुनियाँमा नेतालाई डाइपरको उपमा दिने चलन छ। डाइपर मलमूत्र व्यवस्थापनको लागि हो भने नेता समाज र देश व्यवस्थापनको लागि हो। यस अर्थमा नेता र डाइपर दुवै सेवक हुन्। तर जति नै सेवा दिए पनि फोहोर भएपछि गन्हाउँछन्। समयमै फेरिएन भने दुर्गन्ध फैलिन्छ। त्यसैले भन्ने गरिन्छ- नेता र डाइपरलाई बेलाबेला फेर्नुपर्छ। त्यही अनुरूपको पश्चिमी दुनियाँमा संस्कार विकास भएको छ।

नेताहरू मीठा सपना बेच्छन्। आदर्श बन्छन्। त्यसैको आधारमा लोकप्रिय भएर पार्टी र सत्ताको नेतृत्वमा पुग्छन्। सत्तामा पुगेपछि उनीहरूमा अहम् बढ्छ र शक्तिको दुरुपयोग गर्न थाल्छन्। भ्रष्टाचार गर्छन्। त्यसले जनआक्रोश बढाउँछ। विरोध र आन्दोलन हुन्छ। त्यतिले पनि भएन भने जनविद्रोह हुन्छ। अहिले अमेरिकामा चलेको ‘नो किङ्ग’ आन्दोलन त्यसैको उदाहरण हो। नेपाल, श्रीलंका र बंगलादेशमा त्यही भयो।

पश्चिमी दुनियाँमा राजनीतिका डाइपरले गन्हाएको चाल पाएपछि आफैं मल तथा मूत्रद्वार त्याग गर्छन्। क्यानडाका जस्टिन ट्रुडोले त्यही गरे। नत्र उनलाई त्यो द्वारबाट हटाउन कसैले सक्ने अवस्था थिएन। उनले पार्टीको नेतृत्व त्याग गरेपछि नयाँ नेतृत्वमा मार्क कार्नी आए। पार्टी नेता फेरिने बित्तिकै लिवरल पार्टीलाई पुनः सत्ताको डाइपर हुने मौका मिल्यो। ट्रुडोभन्दा अगाडि स्टेफन हार्परले त्यही गरे। बेलायतका ऋषि सुनकले त्यसै गरे।

राजनीतिको मल र मूत्रद्वार छाडेपछि संगीतको दुनियाँमा नाम, दाम र इज्जत कमाएकी रूप सुन्दरी केटी पेरीसँग ट्रुडो प्रेमको मीठा जेरी चाख्दैछन्। नयाँ गर्लफ्रेण्डसँग रोमान्सको जिन्दगी बाँचिरहेका छन्। नेपाली राजनीतिका डाइपरले ट्रुडो, हार्पर र ऋषिबाट कहिले सिक्ने होलान् ?

राजनीतिक डाइपर फेर्न कठिन छ नेपालमा। कठिन मात्र नभएर लगभग असम्भव नै छ। तीसौं वर्षदेखि उनै डाइपर छन्। अझ तीन पार्टीका मुख्य तीन डाइपरले आलोपालो सत्ताको खालो काढेका छन्। जति नै दुर्गन्धित भए पनि उनीहरूलाई न त पार्टीले हटाउन सक्छन्, न जनताले नै हटाउन सक्छन्। किनकि ऐन–कानून त्यही अनुरूपको बनाएका छन् र परिपाटी त्यही अनुरूप विकास गरेका छन्।

नेपालमा राजनैतिक दलका डाइपर मात्र होइन, समाजका हरेक क्षेत्रका डाइपरहरू फेर्न कठिन छ। नेपाली समाजको नाकमा दुर्गन्ध कसरी सुगन्ध बन्छ ? केले बनेको छ नाक ? लामो समयसम्म किन मल तथा मूत्रद्वार त्याग्न खोज्दैनन् ?

नेपाली नेताहरू देशको आर्थिक, सामरिक र सामाजिक हैसियत एवं परिवेश भन्दा ठूला सपना बेच्छन्। सत्ताको चेयरमा भएको बेला देशलाई युरोपको स्वीट्जरल्याण्ड देख्छन्। सत्ताबाट बाहिरिने बित्तिकै अफ्रिकाको स्वाजील्याण्ड देख्छन्। स्वीट्जरल्याण्ड र स्वाजील्याण्डको पक्ष–विपक्षमा तिनका साइवर सेना युद्ध लड्छन्। लोकतन्त्र र गणतन्त्रको लागि जीवन आहुति गरेका उनीहरू आफैंले देशमा केही भएन भन्ने भाष्य विकास गरेका छन्।

दुई वर्ष अगाडि २०८० सालमा खाइराइड हास्यव्यंग्य निबन्ध संग्रह प्रकाशनको लागि म नेपाल गएको थिएँ। जन्म गाउँ भोजपुरको दावा पुगें। दुई लेनको पिचबाटोमा गनन्न मोटर दौडेको देख्दा मलाई सपना जस्तो लाग्यो। सानो छँदा हामीले मोटर बाटो पुग्ला भनेर कल्पना गरेका थिएनौं। हुनत सडक नपुगेका जिल्ला अहिले छैनन् होला।

टाढा–टाढा घर छरिएर रहेका गाउँका घरमा बिजुली बल्दो रहेछ। पाइपबाट घर–घरमा पानी पुगेको रहेछ। फोन र इन्टरनेट पुगेको रहेछ। गाउँमा बैंक र स्वास्थ्य चौकी रहेछन्। होटल तथा लज खुलेका रहेछन्। प्रहरी कार्यालय रहेछ।

म पढेको प्राथमिक र माध्यमिक विद्यालयका भवन राम्रा बनेका रहेछन्। मेरो गाउँमा मात्र नभएर देशका अन्य धेरै गाउँमा त्यस्तै विकास भएको रहेछ। देशमा केही पनि हुँदै नभएको होइन। तर हुनुपर्ने जति नभएको हो।

गाउँमै बसेर मिहिनेत गर्ने मेरा काकाकी छोरी तथा छिमेकी बहिनी शारदा थापाले तरक्की गरेकी रहिछन्। घर आनन्द लाग्ने देखिन्थ्यो। उनको खेतबारी हराभरा थियो। सुन्तला मात्र सालको १० लाखको बेच्छु भन्दै थिइन्। अर्का दाइ नमश कार्कीले बाख्रापालन गरेका रहेछन्। खोरमा लोभलाग्दा खसी थिए। धान र सुन्तला लटरम्म फलेका थिए।

शहर र विदेश भाग्ने म जस्ताको घरको आँगन जंगलले ढाकेको रहेछ। गाउँमा पहिले जस्तो मान्छे थिएनन्। दावा बजारमा चहलपहल पहिले जस्तो थिएन। होस् पनि कसरी? गाउँमा काम गर्नुपर्छ। देशमा केही भएन भन्दै मिडिया र सोसल मिडियामा कराएको भरमा खान पाइँदैन।

भौतिक विकासले मात्र जनतामा खुशी ल्याएन। त्यसको मुख्य कारण राज्यका हरेक क्षेत्रमा दलीयकरण हो। कुनै क्षेत्र बाँकी नराखी दलहरूले भ्रातृ संगठन बनाएका छन्। पत्रकार, कर्मचारी, व्यापारी, शिक्षक, विद्यार्थी, प्राध्यापक, साहित्यकार, कलाकार, डाक्टर, इन्जिनियर कसैलाई दलीयकरण गर्न बाँकी राखेनन्। देशमा मात्र नभएर विदेशमा पनि दलका भ्रातृ संगठन बनेका छन्।

बिचौलिया मार्फत पद किनबेच छ। सरकारी निकाय भर्तीकेन्द्र बनेका छन्। विद्यालय, विश्वविद्यालय, न्यायालय, प्रहरी, प्रशासन केही बाँकी रहेन। सर्वसाधारणले पाउने सेवा प्रवाह प्रभावकारी भएन। त्यसैले चारैतिर चरम निराशा र वितृष्णा छ।

शिक्षा र स्वास्थ्य व्यापार भएको छ। स्कूल कलेजको व्यापार अपार छ। सरकारी स्कूल ऋण र अनुदान मागेर खाने भाँडो भएका छन्। सरकारी स्कूलमा स्कूलकै शिक्षकका छोराछोरी पढ्दैनन्। नर्सिङ र मेडिकल कलेज मेडिकल माफियाको लागि फुपूको धन भएका छन्। केही अपवाद बाहेक अस्पताल पनि मेडिकल माफियाकै पोल्टामा छन्। विद्यालय तहको सरकारी शिक्षा व्यापारकै लागि लगभग मृत बनाइएको छ।

पूँजीवादी अमेरिकामा पनि शिक्षा र स्वास्थ्यलाई शतप्रतिशत व्यापार बनाइएको छैन। गरीब र न्यून आय भएका मानिसले उपचारको लागि घरखेत बेच्नुपर्दैन। उनीहरूले निःशुल्क वा न्यून शुल्कमा उपचार पाउँछन्। झन् क्यानडामा आधारभूत स्वास्थ्य सेवा नि:शुल्क छ।

डोनाल्ड ट्रम्पले सुलभ स्वास्थ्य सेवा (ओबामा केयर) को बजेट कटौती गर्न खोज्दा सिनेटबाट बजेट पास हुन सकेन। त्यसैले संघीय सरकार चालीस दिनभन्दा बढी समय बन्द भयो। सिद्धान्तमा पूँजीवादी भए पनि व्यवहारमा अमेरिका न्यून समाजवादी देश हो, जसले शिक्षा र स्वास्थ्यलाई नेपालले जस्तो पूरै व्यापारिक बनाएको छैन।

कुशासनकै कारणले जेनजी आन्दोलन भयो। आन्दोलनको माग के थियो ? त्यो आन्दोलनमा के भयो? भन्नै परेन। तर त्यो एउटा हरर फिल्म जस्तो थियो। फिल्ममा ७२ भन्दा बढी बालबालिका र युवाको ज्यान गयो। देश खरानी हुनबाट बचेन। देश–विदेश जहाँका भए पनि देश खरानी बनाउने पात्रहरू कुपात्र हुन्।

यो फिल्मको निर्माता र निर्देशक को थिए? थाहा भएन। तर दृश्यमा देखिने पात्र जेनजी थिए। फिल्मको ट्रेलरमा कथा सुशासन थियो। ट्रेलरमा देखाइएको थियो– कुशासनका खलनायकहरू सदाका लागि विदा हुनेछन् र पर्दामा फेरि कहिल्यै देखिने छैनन्। आशा जागेको थियो। तर फिल्म त्यस्तो बनेन।

फिल्ममा अकल्पनीय घटना भयो। तर जिम्मेवार को ? त्यसको जिम्मेवारी कसले लिने ? सरकार प्रमुखले लिन पर्दैन ? सरकार र सरकारमा सहभागी दलले लिन पर्दैन ? प्रतिपक्ष र संसद्मा भएका दलले लिन पर्दैन ? तर कसैले लिंदैनन्। एउटा घरपरिवारमा त हरेकको जिम्मेवारी हुन्छ भने देशमा चाहिं कसैको जिम्मेवारी हुँदैन ? अदृश्य देशी–विदेशी शक्तिको चलखेल र षडयन्त्रलाई दोष देखाएर उम्कन मिल्छ ?

जेनजी स्वयंले ‘जेनजीको आन्दोलन हाइज्याक भयो’ भनेको सुन्दा जेनजीको खोल ओढेर नेपाल सिध्याउने खेलमा देशी–विदेशी शक्ति लागेका थिए भन्न सकिन्छ। तर नेपाल जस्तो सामरिक महत्वको देशमा विदेशी चलखेल भइरहन्छ। उपयुक्त पात्र र कथा नभएसम्म चलखेल फेल भएका उदाहरण संसारमा थुप्रै छन्।

देशी–विदेशी शक्तिले देशलाई खरानी बनाउने खेल खेल्दा सुइँको पनि नपाउने कस्तो राज्य संयन्त्र? कस्तो सुरक्षा परिषद् ? लाखौं लाख सदस्य भएका दलहरूले किन प्रतिरोध गरेनन्? किन एकजुट भएर परास्त गर्न सकेनन्? नसकेकोमा तह अनुरूप जिम्मेवारी लिनुपर्ने हो कि होइन ? पर्ने हो।

यौनको मूल उद्देश्य जीवनको सृजना हो भने राजनीतिको उद्देश्य जीवनको रक्षा। जब यौन जीवन सृजनाको लागि नभएर व्यापारको लागि हुन्छ, तब त्यो पोर्न हुन्छ। राजनीति सेवाको लागि नभएर व्यापारको लागि भयो भने त्यो पतन हुन्छ।

पत्रकार र नागरिक समाज प्रत्यक्ष रूपमा जिम्मेवार नहोलान्, तर भाइरल बन्न र विपक्षीलाई खुइल्याउन प्रायोजनमा गरिने नकारात्मक न्यूज र भ्यूजको जिम्मेवारी उनीहरूले लिनुपर्छ। नत्र मिडिया हाउसहरू किन जल्थे ? नागरिक अगुवा क–कसका एजेन्ट भनेर किन गाली खान्छन् ? हावा नचली पात अवश्य हल्लिंदैन।

हरेकका जिम्मेवारी हुन्छन्। ती जिम्मेवारी कानूनी मात्रै हुँदैनन्। नैतिक पनि हुन्छन्। नैतिक जिम्मेवारी कसैले तोक्दैन। सडक तथा बाटोमा कुकुरलाई दिसापिसाब गराउन वा फोहोर फाल्न हुँदैन भन्ने आफैंभित्रको चेतनाले भन्ने हो। हरेक गल्लीमा पुलिस तथा नगरपालिका बसेर रोक्न सम्भव हुँदैन।

नैतिक जिम्मेवारीको बोध हुँदा समाजको सुई कसैको बुई नचढी चलिरहन्छ। समाजको रहनसहन, मर्यादा, शिक्षा, कर्म, रीतिरिवाजबाट नै संस्कार विकास हुने हो। त्यो संस्कारले नै समाजको चरित्र देखाउँछ। त्यो चरित्र राजनीतिक नेतामा मात्र नभएर समाजका हरेक व्यक्तिमा हुन्छ।

विश्व प्रसिद्ध पूर्व पोर्न स्टार मिया खलिफा २१ वर्षको कलिलो उमेरमा दलालको जालमा परेर पोर्न उद्योगमा फस्न पुगिन् र भयानक परिणाम भोगिन्। बीबीसीको स्टेफन साकरसँगको अन्तर्वार्तामा पोर्न कर्मको जिम्मेवारी आफैं लिन्छिन्। कसैलाई दोषारोपण गर्दिनन्। तर नेता किन आफ्नो कर्मको जिम्मेवार लिंदैनन्? के पोर्नमा जति पनि पोलिटिक्समा नैतिकता र जिम्मेवारी हुँदैन ?

पोर्न उद्योगमै सबैभन्दा बढी ‘फ्यान फलोअर’ भएकी मिया खलिफा पोर्न छाडेर नयाँ पेशा र व्यवसाय गरिरहेकी छिन्। सँगसँगै पोर्नले पार्ने नकारात्मक प्रभावको बारेमा पनि उनी बहस र छलफल गर्छिन्। तर बद्नाम हुँदा पनि नेपाली नेता किन आजीवन राजनीति छोड्न सक्दैनन्? खालिफा अर्को पेशामा बाँच्न सक्छिन् भने नेपाली नेता किन बाँच्न सक्दैनन्?

Zen-G Protest ICON Photo

यौनको मूल उद्देश्य जीवनको सृजना हो भने राजनीतिको उद्देश्य जीवनको रक्षा। जब यौन जीवन सृजनाको लागि नभएर व्यापारको लागि हुन्छ, तब त्यो पोर्न हुन्छ। राजनीति सेवाको लागि नभएर व्यापारको लागि भयो भने त्यो पतन हुन्छ।

पाउलो फ्रेरेले ब्राजिल र चिलीका गरीब तथा उत्पीडितलाई पढाउँदाको अनुभवको आधारमा ‘पीडितहरूको शिक्षाशास्त्र’ (पेडागोजी अफ द अप्रेस्ड) नामक पुस्तक लेखेका छन्। पुस्तकमा उनको भनाइ छ– लामो समयसम्म कोही दासता, गरीबी वा अन्यायमा उत्पीडित भएर बस्छ भने उसले स्वतन्त्रताको भाषा सिक्दैन। बरु उत्पीडितको भाषा र संस्कार नक्कल गर्न सिक्छ। किनकि उसले त्यही देखेको हुन्छ। जब उत्पीडित सत्तामा पुग्छ, तब उसले स्वतन्त्रता होइन, नयाँ प्रकारको नियन्त्रण गर्छ र प्रतिशोध साध्न थाल्छ।

नेपालका दलले राणा र राजा हटाउन आन्दोलन गरे। सफल भयो। तर पाउलो फ्रेरेले व्याख्या गरे झैं दलका नेताले २००७ सालभन्दा पहिले राणाको मोजमस्ती देखेका थिए। २०१७ सालपछि राजाका परिवारकाको मोजमस्ती देखे। सत्तामा पुगेपछि त्यही गरे, जे राणा र राजाले गरेको देखेका थिए। किनकि उनीहरूको अवचेतन मनमा त्यही बसेको थियो।

रातमा देख्ने सपनालाई केही चाहिंदैन; देखे मात्र पुग्छ। तर दिनमा देख्ने सपनालाई स्रोत चाहिन्छ। स्रोत मात्र भएर पनि पुग्दैन; त्यो स्रोतको सही उपयोग र व्यवस्थापन हुनपर्छ। त्यसको लागि नेतृत्वमा ठूलो इमान र नैतिकता चाहिन्छ। जहाँ विकास भएका छन्, ती विकास दलमा लागेर गरेको भाषणको बलले भएका होइनन्। आफ्नो जिम्मेवारी इमानका साथ पूरा गरेर भएका हुन्।

दिग्भ्रमित समाजले मात्र राति सुत्दा देखेको चामत्कारिक सपना बिहान उठ्दा पूरा हुने ठान्छ। नेपाली समाजले अब पूरा नहुने सपना कहिल्यै नदेखोस्। २००७ सालदेखि २०६३ सालसम्म देखेका सपना त कहिल्यै पूरा भएनन्। तर २०८२ सालको सपना पूरा होस्। फेरि पटक–पटक कसैको ज्यान नजाओस् र अब देश कहिल्यै खरानी नहोस्।

लेखक
राजेन्द्र कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?