+
+
Shares
विचार :

जेसुइटको दूरबिनदेखि बालेनको स्टाटससम्म

बालेनले ‘फक’ भने। हाम्रा पुस्ताले तिनीहरूलाई मूर्दावाद भन्दै आइरहेका थियौं। शब्द र आक्रोशको तह फरक भए पनि कुरा त एउटै हो नि! म टक्क उभिएर भन्दैछु- तपाईंले बुझ्नुभो होला अब परमेश्वरले पनि हामीलाई अलग पार्न सक्दैन।

कोमल भट्टराई कोमल भट्टराई
२०८२ कात्तिक २९ गते ८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही देशी–विदेशी शक्तिविरुद्ध 'तिमीहरूले केही नाप्दैनौ' आशयमा पोस्ट गरे र पछि हटाए।
  • नेपाल र तिब्बतबीचको ऐतिहासिक सम्बन्ध र व्यापारिक मार्गहरूको विकास तथा विदेशी शक्तिहरूको प्रभावको चर्चा गरिएको छ।
  • जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ पुस्ताहरू उदाएका छन् र विदेशी प्रभावविरुद्ध चेतना बढेको छ।

२९ कात्तिक, २०८२ राति। काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही देशी–विदेशी शक्तिविरुद्ध शीलता तोडेर ‘तिमीहरूले केही नाप्दैनौ’ को आशयमा एक पोस्ट प्रसार गरे। तर, केहीबेरमा त्यो पोस्ट हटाइदिए।

कुरा यति मात्र होइन, केही दिनयता जेनजीहरूले मित्रराष्ट्र भारत र शक्तिराष्ट्रहरूबाट नेपालमा भइरहेका गतिविधि विरुद्ध पर्दाफास गर्दै थिए। धरानका मेयर हर्क साम्पाङले शील नतोडी र डा. निकोलसले लट्ठ भई नेपालमा मित्रराष्ट्रहरूबाट भइरहेका खेलाहरूका मुख्य दृश्य बताउँदै थिए।

जेनजी विद्रोहको परिणाम बनेको सरकारलाई दलाई लामाहरूका बधाई र नेपालमा रहेका तिब्बती शरणार्थीका टीओबीको सशस्त्र हुनरहरूले बन्दूक पड्काउँदै गरेको परेड। ती हाम्रा लागि असह्य भए।

तेन्जिन ग्यासको (१४औं दलाई लामा) शारीरिक रूपले रोगी र मानसिक रूपमा थाकिसके। उनी पूर्ण दलाई लामा हुन चीनको साम्शी प्रदेशस्थित वुताइ शान बौद्ध मठ पुग्नैपर्ने घिडघिडो लिएर जिइरहेका छन्। जसले सन् १९८८ देखि तिब्बत चीनको अभिन्न हिस्सा भएको स्वीकार गर्दै आएका छन्।

यो कुरा ती भीडहरूले बुझ्न बाँकी छ। वुताइ शानमा बोधिसत्व महामञ्जुश्रीको वास छ। महामञ्जुश्री जसले काठमाडौं उपत्यकाको तलाउको निकास खोलेर बसोबासयोग्य बनाएका थिए। 

तिब्बतबाट फर्केकाको दुर्बिन सौगात

विक्रम संवत् १७१८ पुसको दोस्रो हप्ता। करीब ३६४ वर्ष पहिला। नेपाल सरहदभित्र पहिलो ‘पश्चिमा सौगात’ एउटा दूरबिन र साथमा केही भूमिमापन गर्ने सामान पस्यो। त्यो सौगात जेसुइट ग्रुवरले दिए, राजा प्रताप मल्लले लिए।

ग्रुवरले दूरबिनबाट भक्तपुरतर्फ हेर्न लगाए। राजाले भक्तपुरको किल्ला नजिकै देखे। राजा चिच्याए। ग्रुवरले ‘किल्ला टाढा छ महाराज, दूरबिनले नजिकै देखाएको’ भनेपछि राजा शान्त बने। राजाले ‘पादरी फर्केर आए इसाई धर्म प्रचार गर्न दिने, घर पनि बनाइदिने तथा प्रशस्त खर्च पनि दिने’ प्रतिज्ञा गरे। तर तिनीहरू भारतको आग्रातिर लागेका थिए, फर्केनन्।

हाम्रो सम्बन्ध शुरु हुन्छ- वुताइ शानबाट। जहाँबाट ल्हासा, सिगात्से र कुती हुँदै महामञ्जुश्रीको उपत्यकामा प्रवेश भई तालको निकास गरे। इतिहास धुमिल छ तर ज्ञात के छ भने तिब्बत एकीकरणकर्ता राजा स्रोङचङ गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको विवाह भयो। उनले तिब्बतमा बौद्ध धर्म पुर्‍याइदिइन्। यो अवधि अनुमान अनुसार सन् ६२०-६५० हुन सक्छ।

यसैबेला फ्रान्सेली व्यापारी ट्राभर्निए नेपाल र भारतबाट मध्यएशिया ओहोरदोहोर गर्ने बाटो खोजिरहेका थिए। सन् १६२६ तिर तिब्बतमा बसी एक जेसुइट पादरी आन्द्रादाले नेपाल बारेका सूचनाहरू जम्मा गरेका थिए। (ग्रुवरले पादरी आथानासे क्रिचरसँग दिएको अन्तर्वार्ताबाट सिल्वाले गरेको उद्धरण।)

युरोप साम्राज्य विस्तारको समय थियो त्यो काल। भारतमा फ्रेन्च, डेनिस, डच, पोर्चुगाली र ब्रिटिश सबै एकापस विरुद्ध व्यापार विस्तारको लडाइँ लड्दैथिए। तीमध्ये फ्रेन्चहरू सबभन्दा अघि तिब्बत आएका थिए। डच, डेनिस र पोर्चुगालीहरूले तिब्बततिर हेरेनन्। तर ब्रिटिशको नजरमा तिब्बत थियो तर त्यो यहाँ आइपुगेको थिएन। त्यहींदेखि नेपालबाट तिब्बत हेर्न पश्चिमे दूरबिन विकसित हुँदैगयो र दु:ख पस्यो।

तिब्बत र नेपालको सुरुती सम्बन्ध

अब म त्यसअघिका तिब्बतसँगका केही सन्दर्भ उल्लेख गर्छु, जुनबेला तिब्बती र हामी सुमधुर सम्बन्धमा थियौं।

हाम्रो सम्बन्ध शुरु हुन्छ- वुताइ शानबाट। जहाँबाट ल्हासा, सिगात्से र कुती हुँदै महामञ्जुश्रीको उपत्यकामा प्रवेश भई तालको निकास गरे। इतिहास धुमिल छ तर ज्ञात के छ भने तिब्बत एकीकरणकर्ता राजा स्रोङचङ गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको विवाह भयो। उनले तिब्बतमा बौद्ध धर्म पुर्‍याइदिइन्। यो अवधि अनुमान अनुसार सन् ६२०-६५० हुन सक्छ।

तेह्रौं शताब्दीमा अरनिको तिब्बत पुगेथे– सुनको स्तूप बनाउन। त्यसपछि उनी चीन पुगे- सम्राट कुब्लाइ खानको बोलावटमा। उनी कुब्लाइ खानबाट सम्राटका वास्तुकारमा नियुक्त भए। त्यहाँ उनले एक श्वेत प्यागोडा लगायत धेरै स्तूप बनाए। त्यहीबेला तिब्बत र चीनबीच एकीकरण भयो। उनी सन् १३०६ मा ६१ वर्षमा चीनमै बिते। नेपालले तिब्बतसँग सांस्कृतिक पक्ष र सम्बन्धहरू मात्र यसरी नै विस्तार गरिरह्यो।

‘ल्हासामा सुन छ कान मेरो बुच्चै’! तिब्बत नेपालीका लागि सुन र नून भित्र्याउने स्थान हो। यसले भारतलाई समेत तिब्बतसँगको व्यापार र व्यापारिक मार्ग दिइरह्यो। सदियौंकालका सांस्कृतिक तथा व्यापारिक सम्बन्धले एक लोकप्रिय काव्य ‘मुनामदन’ दियो। यसले मुनाको प्रेम, मदनको श्रमप्रतिको लगाव, नेपाली ‘भोटे’को आत्मीयतालाई अभिव्यक्त गर्‍यो।

हामी तिब्बत/चीनसँग यसरी जिइरहेका थियौं। जब युरोपेलीहरूले भारतबाट तिब्बत हुँदै मध्यएशियाको बाटो र व्यापारिक मार्ग पत्ता लगाउन आइपुगे त्यसपछि तिब्बत हाम्रा लागि पीडादायक बन्दै आएको छ। 

तिब्बतहिन्दूस्तान मिसन

जनस्वास्थ्यको इतिहासमा पादरी माइकल एन्जेलो देखा पर्छन्। जसले कीर्तिपुरको लडाइँमा शूरप्रताप शाहको आँखामा लागेको चोटको उपचार गरे।

ती क्यापुचिन तिब्बत-हिन्दूस्तान मिसनका थिए। यस मिसनका प्रस्तावक फ्रान्सेली पादरी थिए। मिसनको उद्देश्य तिव्बत, नेपाल, उत्तरी भारतमा क्रिश्चियन धर्म प्रचार गर्नु थियो। विभिन्न पादरीहरूले काठमाडौंका तीन राज्यसँग सुमधुर सम्बन्ध गाँसे, मिसन खोल्न राजाज्ञा लिए। तनहुँ र गोरखा राज्यसँग पनि राम्रो सम्बन्ध राखे।

मिसनको प्रमुख कार्यालय भारतको बेतियामा थियो। बेतिया स्वतन्त्र राज्य थियो। पादरीले बेतियाका रानीको उपचार गरेका थिए। त्यसैले राजाले बेतियामा मिसन स्थापना गराए। बेतियाबाट काठमाडौं र तिब्बतका लागि पादरीहरू खटाइने गरिन्थे।

मिसनको अन्तिम लक्ष्यस्थल तिब्बत थियो। काठमाडौं पादरीहरूको वासस्थल थियो। तिब्बत जाने–आउने गर्थे। तर चीन र तिव्बतीहरूले सन् १७४५ मा तिब्बतको मिसन बन्द गराए। त्यसपछि सन् १७६० मा काठमाडौंलाई वासस्थल बनाउन एक मिसन खोले जुन सन् १७६९ मा बन्द भयो।

तर तिब्बत- हिन्दूस्तान मिसनका अन्तिम पादरी फुल्जेन्तियस भानिनीको भनाइ भिन्न छ। उनले लेखेका छन्- “नेपालमा मिसन आधिकारिक रूपमा कहिल्यै बन्द गरिएन न त मिसनरीहरूलाई देशबाट बाहिर निष्कासित गरिएको थियो … सन् १७६९ मा सामूहिक पलायन हुनु खालि एक अस्थायी उपाय थियो, जुन परिस्थितिले बाध्य पारेको थियो।” यसलाई यो आलेखले पर्याप्त पुष्टि गर्दछ।

क्यापुचिनहरूका औपचारिक लिखतले ‘परिस्थितिको बाध्यता, जनशक्तिको अभावका कारणले मण्डलीका सदस्यहरू लगायत ५८ जनाले चुहाडीमा शरणार्थी हुनु परेको’ भनेका छन्।

क्यापुचिन र ब्रिटिको सम्बन्ध

बेलायतका राजा हेनरी आठौंले विधवा भाउजुसँग विवाह गरेका थिए। ती क्याथेरिन अफ आरागन थिइन्। उनीबाट धेरै बच्चा जन्मे पनि एउटी छोरी मात्र बाँचिन्। राजालाई छोरा चाहिएकाले उनले क्याथेरिनसँग पारपाचुके चाहे। तर रोमन क्याथोलिक चर्चले मानेन।

त्यसपछि सन् १५३४ मा राजा हेनरी आठौंले पोपको सर्वोच्चता खारेज, आङ्गलीकन चर्चको स्थापना गर्दै चर्च अफ इङ्गल्याण्डका सर्वोच्च प्रमुख घोषित गरे। क्यापुचिनका मठहरू विघटन गरे, जमिन खोसे र क्याथोलिक भक्तहरूलाई सजाय दिए। यिनका ६ वटी श्रीमतीहरू थिए, जेठी र काइलीसँग पारपाचुके लिए, माइली र ठाइलीको शिर काटियो, एउटी प्रसव वेदनाले बितिन् र एउटी विधवा भइन्। लाग्छ, हामीकहाँका रणबहादुर शाह हेनरीकै अवतार भए। सन् १६८८ को क्रान्तिले क्याथोलिक राजा हटाई प्रोटेस्ट्यान्टलाई राजा बनायो। बिल अफ राइट्स १६८९ ले राजाको अधिकार कटौती गर्‍यो तर क्याथोलिकलाई राजा बन्नबाट रोक्यो।

मैले यहाँ क्यापुचिन र ब्रिटिशको सम्बन्धलाई कोट्याउनुको अर्थ छ। त्यो के हो भने काठमाडौंका राजा जयप्रकाश मल्लको अङ्ग्रेजसँगको सम्बन्ध गाँस्न क्यापुचिन संलग्न देखिंदैनन् भन्न हो। किनकि अङ्ग्रेजहरू क्यापुचिनका जन्मजात विरोधी त थिए नै तिनीहरू खासगरी रोमनलाई सन्देहका साथ हेर्थे।

क्यापुचिनको ओहोरदोहोर अङ्ग्रेजको निगरानी

क्यापुचिनको भनाइ छ- तिनीहरूले काठमाडौंमा पुनः फर्कने वाचा गरेका थिए। त्यसैले सन् १७८६ पछि पादरीहरू आउँदै बस्दै गए। कोही विमार भएर फर्के, सन् १८१० मा एक पादरी जिसुप काठमाडौंमा बिते।

सन् १८१४ मा नेपाल-अङ्ग्रेजको युद्धको परिणाम सुगौली सन्धि १८१६ भयो। त्यस सन्धिको एक धारामा भनियो- “नेपालका राजाले कुनै पनि ब्रिटिश प्रजा वा कुनै पनि युरोपेली वा अमेरिकी राज्यका नागरिकलाई ब्रिटिश सरकारको अनुमति विना आफ्नो सेवामा नियुक्त नगर्ने वा नराख्ने प्रतिबद्धता जनाउँछन्।” यही धारा अनुसार नेपाल मिसन सुचारु हुन नसकेको क्यापुचिनले नै स्वीकारेका छन्। जसको माथि लिङ्क दिइसकेको छु।

जब अङ्ग्रेजहरूले सन् १९४७ मा भारत छाडे- त्यसपछि पटनाबाट सेन्ट जोसेफ स्कूल खोल्न अनुमति लिन आए र पाए। क्यापुचिनहरूले मिसन अस्पतालहरू खोले। कुष्ठरोगको औषधि ड्यापसोन ल्याए- कुष्ठरोगको आरामशालामा राखेर दुई डेढ वर्ष नियमित सेवन गराउँदै विरामीको दिल जिते।

अङ्ग्रेजको नजरमा तिब्बत

एकीकृत नेपालले तिब्बतसँगको विवाद राजा जयप्रकाश मल्लको विशारदमा ल्याएको थियो। यसको कारण सन् १७८८-१७९२ मा भएको नेपालको तिब्बत र चीनसँगको युद्ध नै भयो। यस युद्धमा नेपालले मागेको सहायतालाई अङ्ग्रेजले वास्ता गरेन। युद्धमा नेपाली सेना थकित भएर नेपाल चीन बीच बेत्रावती सन्धि-१७९२ भयो। यसले नेपालको व्यापारलाई गति दियो। ‘सन् १८१६-१८३१ सम्म नेपालको व्यापार तेब्बर बढेको थियो’ सिल्भाँ लेभीले हड्सनको हवाला दिंदै भनेका छन्।

सन् १९५७ को पलासी युद्धमा व्यापार प्रतिस्पर्धी फ्रान्सलाई थन्काएपछि अङ्ग्रेजहरूले तिब्बतसँगको व्यापारमा नजर दिन लागे।

हड्सनलाई उद्धृत गर्दै सिल्भाँ लेभी लेख्छन्- ‘तिब्बत-रूसको व्यापारसँग प्रतिस्पर्धा गर्न सन् १७९३ मा कर्कप्याट्रिक मिसनले एक रिपोर्ट दिएको थियो, जसमा तिब्बत र भूटानमा व्यापार फैलाउन नेपालको बाटोको प्रयोगबारे, तिब्बतबाट निर्यात र आयात हुने मालको विस्तृत सूची थिए। ह्यामिल्टनले नेपालको तिब्बतसितको व्यापारमा ह्रास आएको कुरा उल्लेख गर्दै व्यापार गर्ने वस्तुहरूको फेहरिस्त दिएका थिए।

यसै समयमा सन् १८२९ मा नेपाल आएका हड्सनले भारत, नेपाल तिब्बत बीच सम्बन्ध बढाउने प्रयास गरे। यसो भएमा रूसी व्यापारीहरू पनि त्यस क्षेत्रबाट स्वतः बाहिरिन्छन्। सिल्भाँ थप्छन्- त्यस क्षेत्रमा रूसको बढ्दो प्रभाव खतरनाक भइसकेको थियो।

अङ्ग्रेजले भारत-तिब्बत व्यापारिक मार्गलाई रेलमार्ग मार्फत जोड्ने पनि सोचेका थिए। त्यसका लागि तिनीहरूले कलकत्ता, पटना, काठमाडौं, कुती (केरुङ) हुँदै ल्हासाको रेखाचित्र तयार गरेका थिए। तर तिनीहरूको गुप्त उद्देश्य नेपालको उत्तर सीमा नजिक पुग्ने रेलमार्ग व्यापारिक भन्दा तिब्बतसँग सैनिक पहुँचका लागि हो भन्ने बुझेर सुरक्षाका कारण नेपालले चासो दिएन।

सुगौली सन्धि मार्फत ब्रिटिशहरूले नेपालको परराष्ट्र मामलालाई हातमा लिए। सन् १८१४-१८१६ युद्ध भइरहँदा नै तिनीहरूले गोरखा भर्ती गरेर फर्स्ट गोरखा राइफल निर्माण गरिसकेका थिए।

यिनीहरूले कहिले राणा र कहिले सन्काहा राजा र महारानी उचालेर नेपाललाई अस्थिरतामा राखिरहे। भारतीय रेलमार्ग निर्माण र सञ्जाल विस्तार गर्नका लागि तराईका जङ्गल सखाप पारे।

हाम्रा नेपालको कम्युनिस्ट पार्टीका संस्थापकहरूले ब्रिटिशले नेपाललाई अर्ध औपनिवेशिक बनाएको भने। त्यसको औपनिवेशिकताबाट मुक्त हुन जनवादी क्रान्ति गर्न आह्वान गरे साथै “ब्रिटिश उपनिवेशवाद- मूर्दावाद” को नारा लगाउन हामीलाई प्रशिक्षित गरे।

पश्चिमाहरूको रुस र चीनप्रतिको द्वेष

पश्चिमाहरूको रूस र चीनप्रतिको द्वेष अक्टोबर क्रान्ति १९१७ र सन् १९४९ को जनवादी क्रान्तिले स्थापना गरेको व्यवस्थाका कारण शुरु भएको होइन। यसको ऐेतिहासिकता छ। यसको कारण पश्चिमाहरूको दादागिरीमा खोजिनुपर्छ। पश्चिमाहरू- (म यहाँ सन् १९०२ मा प्रकाशित चाइना एण्ड पावर्समा एलेण्डे आयरल्याण्डले सम्बोधन गर्ने गरे झैं मुख्यतः अमेरिका, ग्रेट ब्रिटेन र अनि फ्रान्स समेतलाई पश्चिमा भन्दैछु) रूसको हकमा फ्रान्स र इङ्गल्याण्डले पटकपटक आक्रमण गरेका छन्। इङ्गल्याण्ड फ्रान्स सहितको पश्चिमी गठबन्धनले क्रिमियाको युद्ध १८५३-५६ मा रूसलाई हरायो। यही परम्परालाई धान्दै हालसम्म पनि पश्चिमा गठबन्धनले एशियामा रूसको प्रभाव रोक्न तिब्बतलाई हेर्दै नेपाललाई समेत दबाबमा राखिरहेका छन्।

चीन पूर्व महासागर, पश्चिम विशाल मरुभूमि, दक्षिण हिमालले घेरिएको र उत्तरमा ग्रेट वाल लगाई सदियौंदेखि “बन्द साम्राज्य” रहेको थियो। यस “बन्द साम्राज्य” लाई बेलायतले नानकिङ्ग सन्धि १८४२ र अमेरिकाले बाङ्गिया सन्धि १८४४ मार्फत ह्वाङ्ग पारिदिएका थिए। यसबेलासम्म चीनको तिब्बतसँगको नाभि समेत छिनाइदिइसकेका थिए। त्यसमाथि सन् १८९० मा ब्रिटेन, फ्रान्स, जर्मनी, रूस, जापान, अमेरिका, इटाली, अष्ट्रिया–हंगरीको ८ देशीय संयुक्त गठबन्धनले आक्रमण गरी चीनलाई पिज्जा जसरी काटेर बाँडीचुँडी खान थाले। यही देखेर एलेण्डे आयरल्याण्डले चाइना एण्ड पावर्समा भन्छन्- “यस संसारमा चीन सबैभन्दा ठूलो शक्तिराष्ट्र बन्ने निश्चितै छ भन्ने केही मानिसहरूको विचार छ। त्यस विचारसँगको मेरो असहमतिको कारण के हो भने गोरा जातिहरूलाई बेफाइदाजनक स्थितिमा पुर्‍याउने गरी उष्ण क्षेत्रहरूमा चीनको विस्तारलाई शक्तिशाली राष्ट्रहरूले एकीकृत प्रयास गरी अवरुद्ध गर्नेछन्।” यो निष्कर्ष हालसम्म वैध छ।

रूस नाटो गठबन्धन र हाल युक्रेनसँग दबाब झेलिरहेको छ। चीन सन् १८४२ र १८४४ मा गरिएका इङ्गल्याण्ड र अमेरिकासँगको म्याद गुज्रेका सन्धिहरूका प्रावधानसँगै र, ताइवान, प्रशान्त क्षेत्रभित्रका ७ साना टापुहरू र तिब्बतको मामलामा किचकिच भोगिरहेको छ। नेपाललाई पनि तिब्बतको मामलाबाट कहिल्यै पार नपाउने गरी फसाउँदै आइएको छ। 

अमेरिकासँगको नेपालको भेट

मैले सर्वप्रथम अमेरिकालाई नेपालको अउल क्षेत्रमा डी.डी.टी छरिरहेको भेटें। कूटनीतिक सम्बन्धको शुरुवाती सन् १९४७/४८ बाट शुरु भएको थाहा पाएँ। जनस्वास्थ्यको इतिहास खोज्ने क्रममा पाइएको फोर डिकेड अफ डेभलपमेन्ट अनुसार सन् १९५१ देखि अमेरिकाले औलो उन्मूलन, परिवार नियोजन, टीबी कन्ट्रोल प्रोग्रामहरू दियो। यसले स्वास्थ्य, शिक्षा र कृषिको विकास, संरचना स्थापना र सुदृढ गर्न सहयोग गर्‍यो।

करीब ७५ वर्षको भेटघाट बीच यसले तिब्बतको पीडालाई ताजगी बनाउने गरी खम्पा काण्ड र यसका शरणार्थीहरूका पटक–पटकका वितण्डा सहन बाध्य पारिरह्यो। अर्कातिर छिमेकी राष्ट्र चीनको गुनासो सुनिरहन र सन्देहयुक्त वातावरण सिर्जना गरिरह्यो। चीन जहिले पनि मैत्रीपूर्ण सत्ता र सरकारको आश गरेर बस्यो।

हाम्रो भारतसँगको सम्बन्ध सांस्कृतिक तथा सामाजिक सम्बन्ध नटुट्ने गरी कसिएको छ, कसिने पनि छ, कसिरहनु पनि पर्छ। शर्त के हो भने यो गुजुल्टिनुहुँदैन।

अमेरिकाले मित्रराष्ट्रहरू सोभियत संघका ब्लकका साथै खासगरी चीनसँगको सम्बन्धलाई राजनैतिक तथा विचारात्मक रूपमा पक्ष–विपक्षमा विभाजन गरिदियो। नेपाली समाजको चिन्तन प्रणालीलाई पिछौटा करार गर्दै पश्चिमीकरण गर्ने लहर चलायो। यसले हाम्रा तृणमूलका ज्ञान र यसको स्रोतलाई सुकाइदियो। हाम्रा शिक्षा, स्वास्थ्य, कृषिका ज्ञानहरू विस्मृत गराइदियो।

जापानको हिरोशिमा र नागाशाके ध्वस्त गरेपछि लेनिनले भनेको झैं अमेरिका साम्राज्यवाद सवार भएको छ। करीब ७५ वर्षको दौरान भियतनाम, कम्बोडिया, मध्यएशिया, प्यालेस्टाइनमा भएका नरसंहार नेपालीले देख्दै र सुन्दै आएका छन्। त्यसैले हाम्रा अग्रजहरूका स्वरमा हामीले अमेरिका साम्राज्यवाद– मूर्दावाद भनिरह्यौं। मूर्दावाद लगाउनुमा अनेकन् उदाहरण दिन सकिन्छ।

अघिल्लो दशकदेखि अमेरिकाले नेपाललाई एमसीसी दिएको छ। त्यसपछि चलेका अनेकन् कन्सिपाइरेसी थ्यौरीहरूका निष्कर्ष जस्तै लाग्ने गरी जेनजी आन्दोलनमा घुसपैठहरू भएका छन्। भदौ २४ सम्मका कन्सिपाइरेसी थ्यौरीहरूका निष्कर्षलाई अबोध युवाहरूले वास्तविक ठान्न थालेका छन्। हर्क साम्पाङ र सुदन गुरुङलाई सन्काहाहरू र डा. निकोलसलाई ‘सिल्ली’ भनेर अमेरिकाप्रतिको सन्देहलाई खारेज गर्न सकिंदैन। हामीले त हाम्रो भाषामा मूर्दावाद भन्यौं उनीहरूका दाइले ‘फक अमेरिका’ भन्ने अवस्था तयार भएको छ।

, भारत र चीन

हाम्रो भारतसँगको सम्बन्ध सांस्कृतिक तथा सामाजिक सम्बन्ध नटुट्ने गरी कसिएको छ, कसिने पनि छ, कसिरहनु पनि पर्छ। शर्त के हो भने यो गुजुल्टिनुहुँदैन।

भारतले हामीलाई सियोदेखि फाली, नूनदेखि तिहुनसम्म पठाउँछ। यसले हामीलाई पूर्वीया संस्कृति व्यवहार, लोकतन्त्रका नेहरू र गान्धीको आदर्शले प्रशिक्षित गरेको छ। यसले राजा त्रिभुवन, नेपाली कांग्रेसलाई बोक्यो र प्रजातन्त्र शासनको ढोका खोल्यो। नेपाली कम्युनिष्‍टका संस्थापकहरू त्यहाँका रवीन्द्रनाथ टैगोरले नीव बसालेको बङ्गालीको सुसंस्कृत आचरण र संस्कारले प्रशिक्षित भए। दु:ख छ कि तिनका चेलाहरू चाहिं संस्कार र आचरणका कारण नेपालमा बढी निन्दित र घृणित भएका छन्। धत्- कहाँ रवीन्द्रनाथको संस्कार कहाँका किच्चक कमरेड नेताहरू!

तर भारतसँग हामीहरूको राजनैतिक सम्बन्ध समधुर हुन नसकेको स्वीकार गर्नु जरूरी छ। सीमा समस्या छन् र प्राकृतिक स्रोत तथा जलको उपयोगमा भारतको आग्रह स्वीकार गर्नै नसकिने छन्। तर भय र त्रासबीच नेपाली राजनीतिले तर्कयुक्त अनुक्रिया गर्न सकेन। हरेक पटकका नदीका बाँध र जलस्रोत सम्झौताहरूमा हामीले भारतीय विस्तार मूर्दावाद भन्दै आएका छौं।

चीन परम्परादेखिकै छिमेकी हो। यसका बहुआयामिक क्षेत्र छन्। विषयान्तर हुने कारणले यहाँ चर्चा नगर्नु बेस हुन्छ। तापनि चीन छिमेकमा भएको महसुस हुँदैन। अनुहार मिल्दैन, धर्म संस्कार मिल्दैन, भाषा मिल्दैन। त्यसकारण उनीहरूका बह हामी बुझ्दैनौं, हाम्रा बह उनीहरूलाई कहन सक्दैनौं। चीनको विकासको फल हामी नेपालीले चाख्न पाएको जम्माजम्मी यति नै हो।

केही दशकदेखि यता हामीले जुत्ता फेरी–फेरी लाउन पाएका छौं। वर्षैपिच्छे नयाँ ज्याकेट ओढ्न पाएका छौं। तर चीनको विशाल अभियान बीआरआईमा हामी किन बाहिर रहेका छौं? अङ्ग्रेजहरूले सोचेको भारत-नेपाल-तिब्बतको रेलमार्ग किन रोकियो? यसमा अमेरिका र यसका चिन्तन प्रणालीबाट प्रशिक्षितहरू कति जिम्मेवार छन्? यहाँनेर कसलाई ‘फक’ भन्ने?

जेनजी विद्रोहपछिको स्वीकारोक्ति

जेनजी आन्दोलनमा पुराना सत्ताका शासक र संरचनाहरूले दण्ड पाए। आन्दोलनले अपूरणीय क्षति गरेको छ तर नेपाली राजनीतिमा राष्ट्र र जनताका लागि सोच्ने र अगुवाइ गर्ने दुई नव पुस्ताहरूको बटालियन खडा गरेको छ। नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका तर जेनजी/वाई जेनले कहिल्यै देख्दै नदेखेका र नचिताएका शक्तिहरूलाई सस्वरूप साक्षात्कार र वार्ता गरेका छन्।

Zen-G Protest ICON Photo

त्यसबेला रक्षा बम, सुदन गुरुङ, हर्क साङपाङ कहालिए। तिनीहरूले हामी जसरी मूर्दावाद त भनेनन्– बालेनले एक पोस्ट गरे जुन नेपालीका मनमा रहेको भँडासको मूर्तरूप थियो। जसलाई ‘फक’ भनिएकाहरूले समेत मनन गरुन्- त्यो के भने नेपाली समाजको विकास र शासनको सुशासन तिमीहरूको कारण अवरोध भएको छ। जसले बालेनको ‘फक’ को विरोध गरिरहेका छन् ती सबै फकका अनुयायी हुन्। के तिनीहरूले ट्रम्पले चुनावी भाषणमा १७४७ पटक फक भनेका पढेका छैनन् र?

अन्त्यमा यो आलेखलाई अल्वेर कामूको प्लेग उपन्यासको एक बातचित राखेर समाप्त गर्दछु। यसमा एक पादरी र एक चिकित्सकले वार्तालाप गर्दैछन्।

“म खुशी छु कि परमेश्वरले मलाई तपाईंहरू सबैसँगै दु:ख भोग्न रोज्नुभयो”, पादरीले भने।

“त्यस्तो कुरा नगर्नुहोस्” डा. रियूले भने, “तपाईं अहिले नै मर्नुहुन्न।”

पादरी पानेलू हल्का मुस्कुराए। “त्यो कुनै कुरा होइन। शायद हाम्रो पुनः भेट हुनेछ।”

“भेट हुनुले के फरक पार्छ? मलाई घृणा लाग्ने कुरा मृत्यु र रोग हुन्— तपाईंलाई त्यो राम्रैसँग थाहा छ। र, तपाईंलाई मन परे पनि नपरे पनि अब हामी सहयोद्धा हौं— तिनीहरू विरुद्ध उभिएका, सँगै लडिरहेका।”

डा. रियूले अझै पनि पादरी पानेलूको हात समातेका थिए।

पादरीको आँखामा हेर्दै भने— “तपाईंले बुझ्नुभयो होला नि— अब परमेश्वरले पनि हामीलाई अलग पार्न सक्दैन।”

बालेनले ‘फक’ भने। हाम्रा पुस्ताहरूले तिनीहरूलाई मूर्दावाद मूर्दावाद भन्दै आइरहेका थियौं। शब्द र आक्रोशको तह फरक भए पनि कुरा त एउटै हो नि! म पनि टक्क उभिएर भन्दैछु- “त्यसैले तपाईंले बुझ्नुभो होला— अब परमेश्वरले पनि हामीलाई अलग पार्न सक्दैन।

लेखक
कोमल भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?