+
+
Shares

जुमरहरूसँग एक बुमरको मनका कुरा

‘जेनजीहरू, तपाईंहरू पार्टी बनाउन कसरत गर्दै हुनुहुन्छ । तर, पार्टीको चरित्र कस्तो हुन्छ ? यो ‘गरीवको चमेली बोल्दिने कोही छैन’ भनी गीत गाउने तर शहरिया गरीबको नाङ्ग्ले पसलमा लौरो बर्साई हिँड्नेखालको हुन्छ कि सामाजिक न्यायमा आधारित हुन्छ ?’

कोमल भट्टराई कोमल भट्टराई
२०८२ कात्तिक १० गते ११:४५

सम्मान, प्रशिद्धि, चाहना, प्रेम,

यस संसारमा केही पनि टिक्दैन।

आज म छु जहाँ, हिजो अरु कोही थियो।

आज म छु जहाँ, हिजो अरु कोही थियो।

यो पनि एउटा युग हो, त्यो पनि एउटा युग थियो।

-शाहिर लुधियानवी (उर्दू तथा हिन्दीभाषी साहित्यकार)

भाद्र २३, २०८२, समय गोधुली । भाद्र २४, समय गोधुली। अन्तराल २४ घन्टा । सबै उलटपुलट भयो। ‘जो जहाँ थिए, त्यहाँ उनीहरू थिएनन् । जो त्यहाँ थिएनन्, त्यहाँ तिनीहरू आसन नजिक थिए।

यस्तो किन भयो ? स्पष्ट छ सत्ता उन्माद । जनतासँगको सम्वादको कडी छिन्नभिन्न।  जनसमूह-समूहवीच एकअर्कामा अविश्वास र सम्वादहीनता।

चौबीस घन्टाको अन्तरालमा स्पष्ट भयो – बुमर र जुमरबीचमा व्यापक खाडल छ। ज्ञान आर्जन गर्ने क्षेत्र फरक छ । रुचीको क्षेत्र फरक छ । मनका कुरा अभिव्यक्त गर्ने भाषा तथा सञ्चारको तौरतरिका भिन्न छ।  सूचना र ज्ञानको खोज-अध्ययनका माध्यम, प्रविधि र तरिकामा समेत अन्तर छ ।

यी कुराहरूलाई बुझ्दै बुमर र जुमरहरूबीच सार्थक सम्वादको खाँचो देखिएको छ।  के सिकुन् भन्ने चाहेका छन् जुमरले बुमरसँग ? र, के सिकुन् भन्ने चाहेका छन् बुमरहरूले जुमरसँग ? कुनै अन्तरक्रिया छैन ।

विचार-साझा भइरहेको छैन। यसकारण बुमर, एक्स, वाइ, जेडहरूबीच सम्वाद थालनी गरिनु पर्छ । यो कुरा जेनजी विद्रोहपछि झन् टड्कारो भएर आएको छ।

यसैकारण, खासगरी वाइ जेडहरूसमक्ष आज म नेपाली राजनीति वरपरका कुराहरू साझा गर्दै केही जिज्ञासा गर्दछु।

जेनजीहरूसँगको साक्षात्कार

जेनजी गाइज !

विक्रम सम्वत् २०२५ तिर हजुरमा/बा, आमाबा र हाम्रा पुस्ताहरू थिए। साइलेन्ट जेन, बुमर्स, एक्सका पुस्ताहरू थिएनन्। नेपालमा आन्थ्रोपलोजिस्ट (मानवशास्त्री) भर्खर-भर्खर पसेका थिए। मेरो पहिलो जम्काभेट भएको थियो- भोजपुरमा पुगेकी इल्ले क्रिस्टविकसँग।

कुराकानीमा टीबीको स्ट्रेप्टोमाइसिन सुई घोचेर र ढ्याङ्ग्रो ठोकेर एक उपचार अध्ययन गर्दै गरेको बताएकी थिइन्। पछि मैले उनको ‘ढ्याङ्ग्रो र सुई’ सोध-पुस्तक पाएँ।

गाउँमा पसेका समाजशास्त्रीले एलोपेथिक औषधि र भ्याक्सिन हामीजस्ता अविकसित मुलुकहरूमा स्वीकार्य बनाउन सोध गरिरहेका भेटिन्थे । प्रायजसो सोधमा उनीहरूले नेपाली समाजका मूख्य प्रभावकर्ताहरू (Key influencer) पहिचान गरिरहेका रहेछन् भनेर बुझ्न थालें।

समय बित्दै गयो- मानवशास्त्री र समाजशास्त्रीहरूका साझा निष्कर्षबाट मुलुकमा जाति, भाषा, वर्गका आधारमा समुदाय/समूहहरूबीच शक्ति भिन्नता छ भन्नेबारे चर्चा चल्न थाले ।

त्यसपछि किन खास समूहहरू अभिजात/उच्च प्रतिष्ठित भए अनि अरु समूह कम सशक्त वा बहिस्करण भए भनेर प्रश्नहरू उठ्न थाले। सँगसँगै समुदायमा आर्य, खस, नेवार, किरात, तामाङ्ग आदिहरू देखिन थाले। तीबीच रहेका असहज सम्बन्धहरू सतहमा आउन थाले। मेरा बा पुस्ताहरूलाई लाग्यो- यो सबै राजा हटाएपछि सिर्जना भएको हो ।

हामी सबै जाति र समूहहरू सँगै भेट्थ्यौं । सँगसँगै कामहरू गर्थ्यौं । हामीबीच अमेल थिएन । भनाभन हुने गर्दैनथे । धार्मिक तथा जातीय सहिष्णुता छ भनी रटाइएको थियो।  र, यसैमा विश्वस्त र ढुक्क थियौं।

हामी एकआपसमा सुखका कुरा गर्दैनथ्यौं र दुख पनि साझा गर्दैनथ्यौं। समाजमा तीज मनाइन्थ्यो । बालन गाइन्थ्यो । दौडा/कौरा हुन्थे । उधौली/उभौली मनाइन्थे। माघी आउँथे।  छठ पर्व मनाइन्थे। इद बस्थे। तर, ती पर्व र उल्लासहरूलाई जातीय/भेगीय भएर टाढाबाट हेर्ने गर्र्थ्यौं । सँगसँगै मनाइहाले पनि कताकता धक देखिन्थ्यो।

केही वर्षयता मुलुक निस्सासिरहेको थियो । गाउँबस्ती रित्तिरहेका थिए। बुढाबुढीहरूले ‘घर होइन काल कुरेर बसेका हौं’ भन्दै थिए।

गाउँघरमा मात्र होइन, दलहरूमा नयाँ पुस्ताहरू रित्तिसकेका थिए। गाउँबाट युवाहरू विदेसिँदा सरकारलाई रेमिट्यान्स आउँथ्यो, बेरोजगारको विद्रोह अन्यत्र सरेको हुन्थ्यो।

दलमा युवाहरू प्रवेश नगर्दा युवाहरूमा राजनीतिप्रति चाख नभएको मानिएको थियो। तर, भित्रभित्रै ज्वालामुखी तयार भइसकेको रहेछ। हामी त ‘एक्स, वाइ, जेड जेन’मा पो विभाजित भइसकेका रहेछौं।

मानवशास्त्रीहरूले पहिला नेपाली समुदायमा जाति/समूहलाई वर्गीकरण गरी प्रकट गराइदिएका थिए, यसपटक पुस्ताहरूलाई । हैट ! नेपाली समाजको घरघरमा एवं परिवारमा ‘जेड जेन’ मुर्मुरिएर बसेका रहेछन् । देश-परदेशमा रहेका युवाले नेपालको सत्ता पलट गर्न भीपीएनसहित “डिसकर्ड” को धराप थापिसकेका रहेछन्। यसपछि मात्र तपाईं जुमरहरूसँग हामी अघिल्ला पुस्ताहरूको जम्काभेट भएको छ।

तपाईैहरूसँग विचार साझा कसरी गर्ने ?

म कम्प्युटर–साक्षर बुमर हुँ। तपाईंहरू जन्मँदा ताका मैले भर्खर-भर्खर वर्ड परफेक्ट सिकेर जीवीका चलाउन थालेको थिएँ। पहिलो पटक २०४० मा सिंहदरवारभित्रको राष्ट्रिय कम्प्युटर केन्द्रमा कम्प्युटर हेर्न गएको थिएँ। २०४७ तिर मैले कम्प्युटरको कीबोर्ड छुन पाएँ। कम्प्युटरमा ‘भाइरसले अट्याक’ गर्छ भनेर गाउन लगाउन र जुत्ता फुकाउन लगाइन्थ्यो।

नेपाल टेलिकमको डायलअप सेवाको शुरुवात्‌सँगै ईमेल अकाउन्ट सब्सक्राइब गरें। मेरो पहिलो ईमेल आइडी थियो- gaide@ccsl.com.np त्यसपछि yahoo, hotmail हुँदै gmail एड्रेसमा छु। अर्को कुरा, त्यो यस्तो युग थियो- ईमेल आइडी लिइन्थ्यो, त्यसपछि ईमेल भएको देखाउन भिजिटिङ कार्ड छापी साझा गरिन्थ्यो।

हामी बुमर पुस्ताका अधिकांश कम्प्युटरबाट प्याड र सेलमा आइपुग्न सकेका छैनौं। हाम्रा लागि कम्प्युटर भनेको टाइप गर्ने भाँडो हो। यसमा हामी अधिकांशले सानातिना हिसाब-किताब राख्छौं, तास खेल्छौं। हाल फेसबुक चलाउँछौं, फोटोमा लाइक गर्छौं र ‘ओल्ड इज गोल्ड’ भनी कमेन्ट गर्नमा सीमित छौं। अनि मेसेन्जरबाट विदेश गएका छोरी, नाति र आफन्तीहरूसँग बात मार्ने गर्छौं।

हामीलाई डिसकर्ड चलाउन आउँदैन र तपाईंहरूले थापेका डिसकर्ड जालमा हामी पहुँच पुर्‍याउन सक्दैनौं। त्यसकारण तपाईं जेनजीहरूसँग पुराना पुस्ताले मनका कुरा साझा गर्न सञ्चार -बाधाहरू छन्। बाधाहरू फुकाउनु पर्नेछ तर कसरी ? यसकारण प्रश्न गर्न र उत्तर पाउन यहाँ म मेरा मनका कुरा साझा गर्दैछु ।

प्यान्डोरा बक्स खुलेपछि

जेनजीहरू ! म अलिकति तपाईंहरू जन्मनुअघिका १० वर्षका नेपाली जनसमूहबीचका सम्बन्धलाई उक्काउछु। यसो गर्दा तीन दशकदेखि नेपाली राजनीति र समुदायहरूबीच के भइरहेको थियो, ती कुराहरू बुझ्न सरल हुनेछ र तपाईंहरूका गन्तव्य-मार्गको गोरेटो खोस्रन पनि सहयोग पुग्ला।

हामी ‘चार जात ३६ वर्णको फूलबारीको देश हो’ भनी शिक्षित भएका थियौं। हामी एकअर्कामा नमस्कार गर्थ्यौं र आ-आफ्ना खोलीभित्र पस्थ्यौं। बेलामौकामा समुदायमा गुनासा र द्वन्द्वका स-साना भुल्काहरू उठ्ने गर्थे ।

तर,  तीबारे अनुक्रिया गर्ने, साझा गर्ने, मन माझामाझ गर्ने थलोहरू थिएनन्, संघसंस्थाहरू थिएनन् र राजनीतिक दलहरू प्रतिबन्धित थिए। हामीबीचका मनमुटाव सरकारले ज्यादाजसो थर्काएर समन गर्थ्यो। म त्यो  युगको कुरा गर्दैछु, जुनबेला राजाको पन्चायती राज थियो, जसले समस्यालाई प्यान्डोरा बक्समा छोपेको थियो।

जब जनआन्दोलन ०४६/४७ बाट पन्चायती राज ध्वस्त भो, तब विचार साझा गर्ने थलोहरू बनाउन सकिने भइयो। समुदायका हरेक जाति, जनजाति र वर्गहरूका समस्या र गुनासाका पोकाहरू फुक्ने थाले।

जातीय पहिचान, क्षेत्रीय असमानता र इतिहासमा पछाडि पारिएका तथा वञ्चित समुदाय/समूह, महिला, मधेसीका मुद्धाहरू नेपाली राजनीतिको परिसरमा फिँजिन थाले।

यसपछि राज्यबाट ती मुद्दाहरूको लक्षणात्मक उपचार गर्ने प्रयासहरू हुन थाले । लोकतन्त्रपछि बनेको नेपाली काँग्रेसको सरकारले यी सब अविकास, अचेतना र अशिक्षाका कारण हुन् भन्यो । बाटाघाटा, सञ्चार, जनतामा शिक्षा र चेतना विस्तार गर्न जोड दियो। कम्युनिस्टहरूले अविकासका साथै इतिहासका सम्पूर्ण समस्याहरू वर्गीय शोषणको मुक्तिसँगै हुने भनी पुनः रटान दिए।

पश्चिमाहरू आएर भने ‘प्रशासनिक खर्च कटौती गर’, ‘सेवासुविधाका निकायहरू निजी क्षेत्रलाई देउ’ । तिनीहरूले नै आइएमएफ, वर्ल्ड बैङ्कलाई अराए – यो गरीब मुलुकलाई ऋण देओ। सहयोग आए, ऋण लिइयो, विकासका आयोजना शुरु भए, साथसाथै भ्रष्टाचार मौलाउन थाले।

ती वर्षहरू खेर गएनन्। सञ्चार, यातायात र बिजुलीका जालोहरू देशभर फैलिए। हरेक पालिकामा आधारभूत सेवा पुगे । मुख्य शहरहरूमा गुणस्तरीय उपचार सेवा स्थापना भए। कम्युनिस्टले बृद्ध र एकल महिलाका लागि भत्ता दिए ।

‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम ल्याए। नवउदारवादीले कनिका छरेको आरोप लगाउँदै आफैंले पनि यसैको अनुपालन गर्दैरहे। त्यो युग ‘पुरानो’ सामाजिक आन्दोलनको थियो- जसले गास,वास, कपासको माग गर्थ्यो । तर, कम्युनिष्टले अघि बढाएनन् –पुँजीवादीहरूले ‘परजीवी जमात जन्माउँछ’ भन्यो।

सन् १९९० को दशक ‘नयाँ सामाजिक आन्दोलन’ को तयारीको अवधि थियो। यसको तयारी द्वीपक्षीय तथा बहुपक्षीय दाताहरूको सहयोगमा गैरसरकारी संस्थाहरूले गर्दै थिए।

यस आन्दोलनका मागहरू थिए- जातीय, लैङ्गीक तथा क्षेत्रीय पहिचानको मुद्धालाई सम्वोधन गर्ने । जसमा एलजीबिटीआइक्यू+, भिन्न विशेषता भएका व्यक्तिहरू पनि समाहित हुन थाले। महिला जाग्दै थिए, जनजातिहरू उठ्दै थिए । दुरदराज र अविकसित क्षेत्रका ‘मान्ठ’हरूसमेत राज्यद्वारा आफू शोषणमा परेको र अपहेलित पारिएको भनेर ‘जुर्मुर्‍याउन’ थाले।

तर, यी मामलाहरूलाई एमाले-काँग्रेसले मतलवै गरेनन्। माओवादीहरूले गास, वास, कपासका मागहरूका साथै जातीय र क्षेत्रीय असमानताका मुद्धाहरूलाई जङ्गलतिर लगे। माओवादीहरूले चलाखीका साथ ती समूह र क्षेत्रका जनतालाई बन्दूक बोकाए।

जेनजी गाइज ! तपाईंहरू केहीले माओवादी जनयुद्ध र सरकारको आक्रमण/प्रत्याक्रमणलाई भोगेको या देखेको हुनु पर्छ। यसरी नै राजा वीरेन्द्रको बंशनाश, दाजुजस्तो नहुने ज्ञानेन्द्रको प्रत्यक्ष शासन र ०६२/६३ जनआन्दोलनका घटनाक्रम आदि देखेकै हुनुपर्छ।

मधेसमा पटक-पटक आन्दोलनहरू भए- जसलाई काठमाडौं र यहाँका सम्भ्रान्तले बिर्सन चाहन्छन् । तर, म तपाईंहरूलाई सम्झनुस् भन्न चाहन्छु।

विभिन्न आन्दोलनका उपलव्धी

अब म ती आन्दोलनका उपलव्धीको सानो झझल्को दिने प्रयास गर्छु। दशवर्षे जनयुद्ध, ०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनको उपलब्धि भनेको नेपालको संविधान २०७२ हो।

जुन नेपालीहरूले आफूले चुनेका प्रतिनिधिहरूको दुई पटकका संविधान सभाबाट पाएका थिए। यो संविधान लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीताको प्रत्याभूति-पत्र हो।

यीमध्ये पहिलाका तीनवटामा तपाईंहरूको प्रतिबद्धतामा कुनै शङ्का छैन। तर, संघीयता र समावेशीताबारे तपाईं जेनजीहरूका मिस्रित धारणा देखिन्छन्। शुरुमा माओवादीको माग रहे पनि संघीयता मधे; आन्दोलनको उपलव्धि हो ।

जेनजी मित्रहरू ! तपाईंहरूका केही समूहमा संघीयता, खासगरी प्रदेश संरचना खारेज गर्नुपर्छ भने आग्रह देख्दछु। तर, यसै मार्फत् दुरदराजका गाउँवासीहरूले नजिकका सरकारहरूलाई साक्षात्कार गर्न पाएका छन्।

अहिले सेवाहरू पुर्‍याउने अड्डाहरू इलाका-इलाका पुगेका छन्। आधारभूत तहका स्वास्थ्य सेवा पालिका तहमा पुगेका छन् । जिल्ला तहका उपचार संस्थाहरू प्रेषण केन्द्र बनेका छन्। तेस्रो तहका उपचार दिने अस्पतालहरू प्रदेशभित्रै छन्। यस्तो प्रदेश संरचनाको स्थापनाका कारण नै भएका हुन्।

प्रदेश संरचना खारेज गर्ने माग गर्नु भएको छ, त्यसबारे प्रस्ट हुन तपाईंहरूले कर्णालीमा गएर समूह केन्द्रीत बहस चलाउनुस् ।

भूगोल हेर्नुहोस् र जनताको मन पढ्नुहोस्। यसरी नै देशका हिमाली, मध्यपहाडी भेगका रैथाने र मूलवासीसँग सवाल जवाफ गर्नुहोस्। पूर्वाग्रहलाई शान्त गर्न प्रदेश संरचना र स्थानीय सरकारको उपस्थिति र सक्रियताबाट मानसिक तथा भौतिक परिवर्तन भएको जानकारी लिनुहोस्।

मनमा राखी राख्नुहोस् कि काठमाडौं र बाहुनवादले पछाडि पारिएका समुदाय र क्षेत्रलाई अविश्वास गर्छ, पहिचान दिँदैन र अवसर खोस्छ।

किन हरेक घटनामा राष्ट्रप्रति मधेसीको बफादारितामा प्रश्न उठाइरहिन्छ ? समाजमा शीर उठाउन लागेको मधेसीलाई अनागरिक बनाउन सजिलै सकिने अवस्था छ ।

हालै पासाङलाई तिब्बती भनियो ? काठमाडौंको सम्भ्रान्त र बाहुनवादले मधेसी चिन्दैन । कर्नालीलाई जुरुक्क उठ्न दिँदैन । दलितलाई अछूत मान्छ। तब तपाईंहरूले मागिरहेको राज्यको प्रत्यक्ष कार्यकारी पदमा ती समुदायहरू कसरी चुनिन सक्छन् ? यसबारे गम्नुहोस्।

हो, हालको निर्वाचन प्रणालीमा समस्याहरू छन्। खर्चालु छ। अस्वस्थ प्रतिस्पर्धा देखिएका छन्। संघीय, प्रदेश र स्थानीय संरचनाका अधिकारहरूमा सन्तुलन छैन भनिँदैछ। प्रदेश सञ्चालनमा बढी खर्च भएको भनिँदैछ।

निर्वाचन प्रणाली, प्रदेश संरचनाको औचित्य, बारबार गठबन्धन बन्ने र भत्कने कुरालाई सम्वोधन गर्न संविधान संशोधनका लागि छलफल हुनुपर्ने सहमति थियो। मधेस, शिक्षक र व्यूरोक्रेसीका मागहरू छन्- जसलाई सम्वोधन गर्न संविधान संशोधन हुनु जरुरी छ।  यसकै लागि एमाले-काँग्रेसले दुईतिहाई नजिकको गठबन्धन सरकार बनाएका थिए तर तिनीहरूले ढाँटे ।

तपाईंहरू समावेशिताको विरोध गर्नुहुन्छ, आरक्षणप्रति वैरभाव राख्नु हुन्छ।  यसमा सफाइ नदिई तपाईंहरूसमक्ष म प्रश्न राख्छु – नेपालमा बाहुन किन पढैया छन्, क्षेत्री किन सुरा छन्, राई, लिम्बू, गुरुङ आदि किन सहासी छन्,  थारु, मगर, राजवंशी किन सोझा, सरल, इमानदार छन्; नेवार किन व्यापारमा प्रवृत्त छन्; कैयाँ किन असल व्यापारी भनिइन्छन्; मुसलमान किन पिछडिएका छन्; बनियाँ किन चलाख छन्; शेर्पा किन साहसी छन् ? उनीहरूको यस्तो प्रकृति र स्वभाव कसरी भयो? कुनै जातीय तथा समूहको यस्तो प्रकृति र स्वभाव हुनु पुस्तौंपुस्तादेखि भएको सामाजिक तथा आर्थिक क्रियाकलापहरूको परिणाम हो।

त्यसैले हामीबीच त्यस्ता सामाजिक तथा आर्थिक क्रियाकलापहरूलाई समाजमा हेपिएका र पछि पारिएका समूह/वर्गहरूमा हस्तान्तरण हुन सक्ने वातावरण बनाइनु पर्छ। यसका लागि तिनीहरूको पहुँचमा शिक्षा र स्वास्थ्य सेवा हुनुपर्छ।

तिनीहरूको राज्य र सामाजिक जीवनमा बढ्ने मार्ग खोलिदिनु पर्छ। त्यो बाटो भनेको आदिबासी, जनजाति, वञ्चित समूह तथा दलित समूह, इतिहासमा पछि पारिएका समूह र जातिलाई आरक्षण अर्थात् सकारात्मक विभेद गर्न राज्य तयार हुनुपर्छ। यो सामाजिक न्याय विश्वमा भइरहेको अभ्यास हो।

यस्तो सकारात्मक – विभेद सरकारी कोटामा मात्र होइन, सामाजिक जीवनका सबै क्षेत्रमा उपलब्ध हुनुपर्छ। सबैले बुझ्नुपर्छ – ऐतिहासिक सुविधासम्पन्न जाति या समूहले, अलिकति र केही समयका लागि नोक्सानी बेहोर्न तयार हुन नसकेमा राष्ट्रिय एकताको प्राप्ति हुन असाध्य कठिन हुन्छ।

तपाईंहरूको पार्टी कस्तो हुन्छ ?

जेनजीहरू, तपाईंहरू पार्टी बनाउन कसरत गर्दै हुनुहुन्छ । तर, पार्टीको चरित्र कस्तो हुन्छ ? यो ‘गरीवको चमेली बोल्दिने कोही छैन’ भनी गीत गाउने तर शहरिया गरीबको नाङ्ग्ले पसलमा लौरो बर्साई हिँड्नेखालको हुन्छ कि सामाजिक न्यायमा आधारित हुन्छ ?

सबभन्दा पहिला तपाईंहरूले हालका मूलधारका पार्टी भन्दा प्रगतिशील, वास्तविक सामाजिक न्यायमा आधारित पार्टी बनाउन लागेको हो होइन स्पष्ट भएर आउनुपर्छ। हिजो विचार केही होइन भन्ने तपाईंहरूले  दूरदृष्टि, मनशाय, उद्देश्यको खेस्रा गर्नैपर्छ । त्यो भनेको विचार र कार्यको पुलिन्दा हो । तपाईंहरू कता लाग्नु हुनेछ ? नेपालको संविधानले भनेको समाजवादीउन्मूख या अरु?

विचारमा स्पष्ट भएपछि अब पार्टी सञ्चालन गर्ने कुरा आउँछ । एकल नेता कि सामुहिक नेतृत्व ? स्रोत कसरी जुटाउनु हुन्छ ? मूलधारका पार्टीको आर्थिक स्रोत विचौलिया भएको तपाईंहरूले नै भन्दै हुनुहुन्छ।

हालैका एक महिनामा नै तपाईंहरूको कुनै एक समूह विचौलियाको नराम्ररी प्रयोग भएको हामीले देख्यौं। अख्तियार प्रमुख र प्रधानन्यायाधीशको राजीनामा किन मागियो ? विद्रोहको औचित्य सावित गर्नुपर्छ भनेर जथाभावी माग गर्नु पनि हुँदैन । अब तपाईंहरूल‍े यस्ता विचौलाको चङ्गुलमा पर्दैनौं भनेर विश्वास गराउनुपर्छ। आर्थिक अभाव हुनु पार्टी सञ्चालन गर्न नसकिने अवस्था हो ।

करीव ३० वर्षअघि एक वैकल्पिक दल ‘प्रजातान्त्रिक लोकदल’को दुखद सिकाइ छ। त्यो असफल हुनुमा आर्थिक अभाव नै थियो। कसरी भयो यसबारे बुझ्न यो लिङ्क खोलेर पढ्न सक्नु हुन्छ।

जेनजीहरूलाई चेतावनी

तपाईंहरू मात्र रहेको पार्टी बन्न असम्भव छ। दाइको आशीर्वाद र काकाको नेतृत्वमा मात्र पार्टी बन्न सक्दैन। तिनीहरू सामरिक पूर्वाग्रह र आर्थिक मामलामा फसेका कारण तपाईंहरूको देशभक्ति र सुशासनका सपनाहरू कुहिन्छन्। केही जेनजीको नाममा टोल, गाउँ अड्डा मालपोतमा असूली धन्दाले बदनाम गिरोहहरूका रुपमा स्थापित गराइनेछ।

गाँजा अब राष्ट्रिय खाना हुने डर छ। तपाईंका केही जेनजीहरूले हाम्रो असंलग्न परराष्ट्र नीति र छिमेकी राष्ट्रको सुरक्षामा खलल पुर्‍याउने काम गरिसकेका छन्। तपाईंहरूले बनाएको सरकारलाई दिनैपिच्छे थपका थप माग राखेर त्राहीमाम पार्नु भएको छ। तपाईंहरू लास्टै खतरामा हुनुहुन्छ है ।

जेनजीहरू, तपाईंहरूलाई थाहा नै छ- नेपालका नयाँ तथा पुराना शासकहरूले माओवादी र मधेसवादी आन्दोलनलाई गाली र तिरस्कार गर्छन्। तर, नेपाली राजनीति र समाजमा जनजाति, महिला, अल्पसंख्यक यौनिक समूह, इतिहासमा पछि पारिएका वर्ग तथा समुदायले पाएको पहिचान र अधिकार यही माओवादी र मधेसवादी आन्दोलनहरूले दिएका थिए। तर, माओवादी र मधेसी दलका नेतृत्व भ्रष्ट भएसँगै तिनीहरूले चलाएका आन्दोलनसमेत बदनाम हुन पुगे ।

तपाईंहरूलाई सम्झाउँ – जेनजी आन्दोलनमा २२ जना जनाले शहादत प्राप्त गरे। तीन प्रहरीहरूले विरगति पाए । फरार कैदी १० र अन्य ४४ को ज्यान गयो। राज्यका लगायत कैयन महत्वपूर्ण प्रशासनिक भवन तथा ऐतिहासिक सम्पत्ति नष्ट भए।

मान्नुस् कि हामी करीव इतिहासविहीन भयौं। मुलुकभर सेवा दिइरहेका अड्डा-अदालत र स्थानीय निकायहरूसमेत भस्म भए। यत्रो क्षति गरेको आन्दोलनलाई तपाईंहरूले कसरी जेनजी विद्रोह भनेर स्थापित गर्नु हुन्छ ? जब कि अपदस्त प्रधानमन्त्रीले हाहु… भनिरहनु भएको छ, उहाँको पार्टीले प्रतिक्रान्ति भनेको छ।

तपाईंहरूको सिफारिसमा बनेको सरकारले आन्दोलनलाई ‘जेनजी विद्रोह’ को सम्मान दिएको छैन। यो आन्दोलनले सम्मान र वैधता पाउन सकेन भने तपाईंहरूले इतिहासको कठघरामा उभिनु पर्ने हुन सक्छ।

सिंहदरबार जलाएको र बालकलाई अराजकताका लागि दुरुपयोग गरेको भनेर बालअधिकार महासन्धी अन्तर्गत अन्तर्राष्ट्रिय अदालतमा उभ्याइने भनेर तपाईहरूलाई थर्काइने सम्भावना छ । स्मरण गर्नुहोस्- माओवादीहरू बालसेना बनाएर अझै थर्किरहेका छन्। यो चेतावनीको भाषा हो, जुन शिष्ट  र नम्र हुँदैन।

जुमरहरू ! तपाईंहरूकै उमेरका हरेक पुस्ताहरूले आफ्नो समयमा आन्दोलनहरू गर्दै आएको पाइन्छ। चाहे ००७ साल भन्नुस्, चाहे ०१७ सालको महेन्द्रको कू विरोधी आन्दोलन, झापा संघर्ष आदिमा युवा समूहले नै अगुवाइ गरेका थिए। निर्विकल्प भनिएको पञ्चायतलाई कठघरामा उभ्याउने जनमत संग्रह विद्यार्थी आन्दोलनकै सह-उपज थियो।

०४६/०४७ को जनआन्दोलनमा युवाहरू नै थिए अग्रपङ्क्तिमा। ०६२/०६३ को जनआन्दोलनमा पुरानो पुस्तालाई कान समाउन लगाउँदै नागरिक समाजसँगै एक्स-वाइ पुस्ताले नै तानाशाह ज्ञानेन्द्रलाई तह लगाएका थिए। माओवादी जनयुद्धमा नेतृत्वमा अधिकांश युवाहरू नै थिए। त्यसैले ‘यत्रो विद्रोह हामी जेनजी युवाहरूले गर्‍यौं’ भनी बढी अभिमान नगर्नुहोस्।  कुरा के हो भने  हरेक युवा पुस्ताले गर्दै आएका हुन्।

त्यसैले, म स्मरण गराउँछु- ‘जो थिए त्यहाँ, उनीहरू थिएनन् – जो थिएनन् त्यहाँ, तिनीहरू आइपुगेका छन्’।

लेखक
कोमल भट्टराई

कोमल भट्टराई सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?