Comments Add Comment

जनता चाहिंदैन नेताज्यू !

देशले कोल्टे फेर्छ भन्दाभन्दै देश लम्पसार परेको छ । व्यापार, व्यवसाय, उत्पादन, उद्योग मात्र होइन, अस्पतालका शय्यामा जनता लम्पसार छन् ।

त्यति मात्र होइन एकमुठ्ठी श्वास फेर्न तड्पिरहेका छन् तर सत्ताले यो सब कहाँ देख्छ र ! यहाँको राजनीतिक अवस्था हेरेर कवि शिरोमणि लेखनाथ पौडेलको प्रख्यात रचना याद आउँछ,

म खाउँ, मै लाउँ सुख सयल वा मोज म गरूँ,
म बाँचूँ मै नाचूँ अरू सब मरून दुर्वलहरू…।

अहिलेको राजनीतिले यही बाटो अपनाएको छ, शायद ।

के यस्तै हुन्छ र राजनीति ? के यही हो हाम्रो नयाँ नेपाल ? जनता नै सकिए भने कोमाथि राज गर्न हो यो राजनीतिले ? कोरोनाले ग्रसित जनता राजनीतिले अझ पिल्सिएका छन् ।

नेपाल नरहे नेपाली रहँदैनन्, अनि जनता नरहे राजनीति हुँदैन, राजनीति नभए सत्ता रहँदैन, कम्तीमा यसको हेक्का छ कि छैन नेताज्यू ? राजनीति त देश र जनताको लागि हो भन्ने सम्झेकी थिएँ तर यो त आफ्नै दुनो सोझ्याउन पो गरिंदो रै’छ ! आज यही परिभाषा स्थापित गरिदिएको छ नेपाली राजनीतिले ।

कात्तिक २६ र मंसिर ३ मा चुनाव तोकिएको छ, यस्तो महामारीका बीच । सत्ता र कुर्सी बचाउन लगाएको बुद्धि, विवेक, पावर, प्रयास र समय जनता बचाउन लगाउनुभएको भए के जान्थ्यो तपाईंको ? तपाईं इतिहासमा सम्झनलायक बन्नुहुन्थ्यो ।

एक चोटि गम्नुस् न, जनता नभए तपाईंको सत्ता कहाँ पुग्छ ? जनताले भोट नदिए कुर्सी कसले दिन्छ । जनताले श्वास नफेरे सरकार कसरी बाँच्छ भनेर ।

भोट माग्न त आउनुहुन्छ होला नि ? यसपालि आउनुहुन्छ भने तपाईं अघिल्लोपटक आफूले गरेका बाचा सम्झिनुस्, म अक्सिजन नपाएर गुमाएका आफन्त सम्झिनेछु ।

तपाईंले सहुलियतको शिक्षा दिन्छौं भनेको सम्झिनुस्, म फि महँगो भएर पढ्न नपाएका केटाकेटी सम्झनेछु । तपाईं भोटका लागि भतेर खुवाएको सम्झिनुस्, म हिजो राति चामल नभएर भोकै निदाउने तल्लाघरे बा सम्झिनेछु । तपाईं बाटो बनाउँछौं भनेको सम्झिनुस्, म मेरो घर अगाडिको धुलाम्मे सड़क सम्झिनेछु । बाटो नभएर डोकोमा बिरामी बोकेका आफन्तलाई सम्झनेछु । तपाईं युवालाई रोजगार भन्ने आफ्नो नारा सम्झिनुस् म रोजगार नपाएर विदेश पुगेर ज्यान गुमाएकालाई सम्झनेछु ।

सम्झिनुस्, घोषणापत्रका ती तमाम प्रतिबद्धताहरू, म पनि सम्झिन्छु हामीले पाएका ती तमाम धोका र व्यथाहरू अनि याद राख्नुस् जनताले माफ गर्ने छैनन् ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दिएर तपाईं जुन जनताको बेवास्ता गर्दै हुनुहुन्छ भोट माग्ने त उनीहरूसँगै होला नि । अक्सिजन नपाएका, अस्पतालमा बेड नपाएका, आफन्त गुमाएका, सरकार गुहार्दा सरकार नपाएकासँग के दिन्छु, के ल्याउँछु र के गर्छु भनेर भोट माग्न आउनुहुनेछ ?

देशमा जनता छन् कि छैनन्, कस्तो हालमा छन् भन्ने कुराको बेवास्ता गरेर कुर्सीको खेलमा लागि पर्नुभएको जनताले भुल्दैनन् नेताज्यू !

नेताज्यू, जितेपछि जनता शब्द तपाईंको शब्दकोशबाट हट्छ हो ? यदि हट्दैनथ्याे भने त तपाईंको जितसँगै जनताको हित पनि त गर्नुहुन्थ्यो होला नि !

हाम्रा खुट्टामा चप्पल छैनन्, तपाईंका लागि रेडकार्पेट बिछ्याइन्छ । हामीसँग परालको गुन्द्रीसम्म छैन, तपाईंका लागि इम्पोर्टेड गलैंचा बिच्छ्याइन्छ, हामीसँग शौचालय बनाउने उपाय छैन, तपाईं पातलो दिसा आयो भने हङकङ र बेलायत पुग्नुहुन्छ ।

कुकुरको पनि दिन आउँछ भन्छन हामी त अझ गएगुज्रेका पो भएछौं, हाम्रा दिन त कहिल्यै आएनन् ।

एक चोटि गम्नुस् न, जनता नभए तपाईंको सत्ता कहाँ पुग्छ ? जनताले भोट नदिए कुर्सी कसले दिन्छ । जनताले श्वास नफेरे सरकार कसरी बाँच्छ भनेर ।

हामी पनि उस्तै छौं पटक पटक तपाईंहरूलाई पत्याइरहन्छौं, अनि तपाईंहरू पनि उस्तै हुनुहुन्छ पटकपटक निराश बनाइरहनुहुन्छ । यी राजनीतिक दल पनि त उस्तै छन् । जहिले त्यही व्यक्तिलाई मौका दिन्छन् अनि राम्रा मान्छे छान्ने त अवसर नै पाउँदैनौं हामी ।

यो पत्याउने र निराश हुने सिलसिला अब बन्द गर्नुपर्छ नेताज्यू । अब शुरुवात हामी गर्नेछौं । पत्यार त लाग्दैन तपाईंहरूको अब तपाईंहरूका चुनाव चिह्नमा छाप पनि लाग्दैनन् ।

जनता चाहिंदैनन् नेताज्यू अनि जनताका भोट किन चाहिन्छन् ? जनतालाई एक भोट मात्रै सम्झिने भुल अब नगर्नुस् । राजनीति जनताको लागि गर्ने हो, जनतामाथि होइन । जनतालाई मतपत्र चाहिएको छैन अक्सिजन, अस्पताल, खोप, औषधि चाहिएको छ ।

यति बुझ्ने ल्याकत छ भने बुझिदिनुस् । नभए जनता नचाहिनेलाई जनताले पुनः आफ्नो नेता भन्न चाहँदैनन्, हेक्का रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment